स्नातक (ब्याचलर) र स्नातकोत्तर (मास्टर्स) लाई खुशीको खवर
साउन १०, २०८०, बुधबार | दिउँसो ०१:५५ बजे | 50
काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले नयाँ शैक्षिक सत्रदेखि अंग्रेजीसँगै नेपाली माध्यममा पनि प्रश्नपत्र छाप्ने भएको छ। त्रिविले अंग्रेजीमा मात्रै प्रश्न सोधिँदा विद्यार्थीहरूलाई मार परेको भन्दै आवाज उठ्न थालेपछि नेपालीमा पनि छाप्ने भएको हो।
त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार आगामी नयाँ शैक्षिक सत्र अर्थात् वैशाखबाट नेपालीमा पनि प्रश्नपत्र छाप्ने तयारी छ। ‘अहिले यो विषयमा छलफल पनि गर्दै छौँ। नयाँ शैक्षिक सत्रबाट यो व्यवस्था गर्ने गरी तयारी गरेका छौँ’‚ उनले भने।
उनका अनुसार सबै तहको सबै विषयको प्रश्न नेपालीमा मात्रै भने छापिने छैन। ‘कुन-कुन विषयमा नेपालीमा छाप्न आवश्यक छ, कुनमा पर्दैन। त्यसमा पनि अध्ययन गरेर निर्णय लिन्छौँ’‚ उनले भने।
अहिले स्नातक (ब्याचलर) र स्नातकोत्तर (मास्टर्स) मा अंग्रेजी माध्यममा मात्रै प्रश्न सोधिँदै आएको छ। जसकारण जानेका विषयवस्तु पनि प्रश्न नबुझेकाले लेख्न नसकेकाले सबै विषयको नेपालीमा पनि प्रश्नपत्र छापिनुपर्ने माग सांसदहरूले पनि गर्दै आएका छन्।