भक्तपुर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुखको कुर्सी एक महिनादेखि रुखमा


असार २८, २०८०, बिहीबार | विहान ०६:२९ बजे | 40


भक्तपुर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुखको कुर्सी एक महिनादेखि रुखमा

भक्तपुर । भक्तपुर बहुमुखी क्याम्पसमा तालाबन्दी भएको जति भयो, क्याम्पस प्रमुखको नेम प्लेटसहितको कुर्सी क्याम्पस परिसरकै रूखमा झुन्ड्याएर तमासा देखाइएको पनि त्यति नै भयो ।
कांग्रेसनिकट निमित्त प्रमुखलाई हटाएर एमाले पक्षधर क्याम्पस प्रमुख नियुक्त गरेपछि नेविसंघले तालाबन्दी गर्दै भक्तपुर क्याम्पस प्रमुखको कुर्सी रूखमा झुन्ड्याइदिएको छ । तस्बिर ः कान्तिपुर
क्याम्पस प्रमुख, प्रशासन र लेखा शाखा ३५ दिनदेखिको तालाबन्दीले ठप्प छ तर क्याम्पसमा भागबन्डाको बीउ रोप्ने त्रिभुवन विश्वविद्यालयका पदाधिकारीदेखि जारी तमासाको रमिते मात्रै बनेका छन् ।
त्रिवि कार्यकारी परिषद्ले वरिष्ठता मिचेर राजनीतिक भागबन्डाका आधारमा जेठ २१ मा क्याम्पस प्रमुख नियुक्त गरेको थियो । त्यसको विरोधमा नेविसंघ इकाईले भोलिपल्टै तालाबन्दी गर्दै रूखमा लगेर क्याम्पस प्रमुखको कुर्सी झुन्ड्याएपछि बिथोलिएको क्याम्पसको शैक्षिक गतिविधि लयमा फर्कने कुनै सुरसार छैन । त्रिविमा उपकुलपति, रेक्टर, रजिस्ट्रार, डिनदेखि क्याम्पस÷विभाग प्रमुखदेखि सहायक प्रमुखसम्म राजनीतिक भागबन्डामा चुनिनु सामान्य हो तर भक्तपुर क्याम्पसमा गरिएको नियुक्तिले क्याम्पसको वातावरण बिग्रँदै गएको छ ।
तत्कालीन क्याम्पस प्रमुख कृष्णप्रसाद पोखरेलले चैत ३० मा अवकाश पाएका थिए । लगत्तै उपकुलपति धर्मकान्त बाँस्कोटाको अध्यक्षतामा बसेको कार्यकारी परिषद्ले वरिष्ठताका आधारमा सहप्राध्यापक सुदर्शना शाक्यलाई निमित्त प्रमुखको जिम्मेवारी दियो । शाक्यले वैशाख ४ मा पदभार ग्रहण गरेर कामकाज थाल्दै थिइन् । जेठ २१ मा जुनियरमध्येकी सहप्राध्यापक कविता लुइँटेल भट्टराई क्याम्पस प्रमुखको नियुक्ति लिएर पदभार ग्रहण गर्न पुगिन् । त्यसै दिनदेखि शैक्षिक थलोमा राजनीतिक आरोप÷प्रत्यारोपको शृंखला जारी छ । ‘११ वर्षदेखि सहायक क्याम्पस प्रमुख रहनुभएकी सुदर्शना म्यामलाई अपमानपूर्वक हटाएर भागबन्डाका आधारमा क्याम्पस प्रमुख नियुक्ति गरियो,’ प्राध्यापक संघका पूर्वअध्यक्ष शेरसिंह रैखोलाले भने, ‘त्यसको विरोध शिक्षक, विद्यार्थीले गरिरहेका छौं । क्याम्पसमा शैक्षिक वातावरण छैन ।’ नवनियुक्त क्याम्पस प्रमुख भट्टराईले कार्यकक्षमा बसेर काम गर्न पाएकी छैनन् भने निमित्तबाट हटाइएकी शाक्य क्याम्पस फर्केकी छैनन् । चार हजार विद्यार्थी र डेढ सयभन्दा बढी अध्यापक, कर्मचारी क्याम्पसमा छन् । तालाबन्दीका कारण दुई महिनादेखि उनीहरूले मासिक तलब पनि पाएका छैनन् ।
२०६२÷२०६३ पछि आंगिक क्याम्पसमध्ये भक्तपुर क्याम्पसमा नेपाल मजदुर किसान पार्टीका तर्फबाट क्याम्पस प्रमुख नियुक्ति गर्ने सहमति त्रिविमा भएको थियो । तर, पछिल्लो समय एमालेका तर्फबाट क्याम्पस प्रमुख नियुक्त हुँदै आएका छन् । निमित्तको जिम्मेवारी पाउने शाक्य कांग्रेसनिकट सहप्राध्यापक थिइन् । डेढ महिनामै निमित्तलाई विस्थापित गरेर प्रमुख चुनिने भट्टराई एमालेनिकट हुन् । वरिष्ठताका आधारमा नियुक्त शाक्यलाई क्याम्पस प्रमुख बनाउनुपर्ने कांग्रेसनिकट अध्यापक, कर्मचारी र विद्यार्थीको माग छ भने कार्यकारी परिषद्को निर्णयका आधारमा भट्टराईले नै प्रमुखमा निरन्तरता पाउनुपर्नेमा एमालेनिकटको जोड छ ।
‘मलाई निमित्त हुनु थिएन, माग्न गएको पनि थिइनँ तर उपकुलपति कार्यालयबाट डाकियो, पछि क्याम्पस प्रमुख पनि वरिष्ठताका आधारमा तपाईं नै हुने हो भनेर निमित्तको चिठी दिइयो,’ शाक्यले भनिन्, ‘डेढ महिना नपुग्दै थाहै नदिई अपमानपूर्वक हटाइएछ, नयाँ क्याम्पस प्रमुख पदभार ग्रहण गर्न जुलुस लिएर कार्यकक्षमा आउनुभयो, हल्लाखल्ला गरेर अपमान गरियो । त्यो दिनदेखि क्याम्पस फर्केको छैन । फर्कने मन पनि छैन । कुन हैसियतले फर्कने ?’ योग्यता, क्षमता र वरिष्ठतामा शाक्य अब्बल हुँदाहुँदै आफ्नो कार्यकर्ता नियुक्ति गर्न त्रिविले मापदण्ड मिचेको प्राध्यापक संघ र स्वतन्त्र विद्यार्थी युनियनको दाबी छ । प्राध्यापक संघ र स्ववियुमा कांग्रेसनिकट प्राध्यापक र विद्यार्थीको वर्चस्व छ ।
क्याम्पस प्रमुख भट्टराईले बिनाकारण नियुक्तिको विवाद झिकेर तालाबन्दी गरिएको बताइन् । ‘उहाँहरूले वार्ताबाट निष्कर्षमा पुग्न पनि चाहनुभएको छैन, त्रिविले मेरो योग्यता हेरेर नै जिम्मेवारी दिएको हो, क्याम्पस प्रमुखको योग्यता पुग्छ कि पुग्दैन, त्यो पनि हेर्नुपर्छ, कि प्राध्यापक र ज्येष्ठलाई मात्रै दिनुप¥यो, त्यो मापदण्ड त्रिविले बनाउनुप¥यो,’ उनले भनिन् । शाक्यले अवकाश पाउन डेढ वर्ष मात्रै बाँकी रहेकाले पनि प्रमुख बनाउन नमिल्ने उनको भनाइ छ । ‘उहाँलाई कसैले प्रमुख बनाउने मौखिक आश्वासन दिएको थियो रे, त्यसको पछि लागेर भएन, आधिकारिक चिठी त मलाई दिएको छ । चार वर्षका लागि नियुक्ति पाएको छु,’ उनले भनिन्, ‘मेरो नियुक्तिको दिन मलाई बधाई दिएर निस्कनुभएको थियो, पछि क–कसले के–के भने, ताला लगाइएको छ । शिक्षक÷कर्मचारीले तलब पनि पाएका छैनन् ।’
उपकुलपति बाँस्कोटाले वरिष्ठताका आधारमा क्याम्पस र विभागको प्रमुख नियुक्ति गर्ने मापदण्ड लागू गरिएको घोषणा गर्दै आएका छन् । भक्तपुर क्याम्पसमा पनि आग्रह÷पूर्वाग्रहबिनै निमित्त र क्याम्पस प्रमुखको जिम्मेवारी दिइएको उनले बताए । ‘निमित्त पाएपछि उहाँले प्रमुखझैं काम गर्न थाल्नुभएछ, भनेको पनि टेर्नुभएन, प्रमुख बनाउँदा कार्यकालअघि नै अवकाश जाने भएपछि पूरा कार्यकाल काम गर्न पाउने गरी अर्कोलाई प्रमुखको नियुक्ति दिइएको हो,’ उनले भने, ‘त्यसकै प्रतिक्रियामा क्याम्पसमा गैरप्राज्ञिक गतिविधि भइरहेको सुनेको छु ।’
प्राध्यापक संघ भक्तपुर क्याम्पस इकाईका अध्यक्ष रामबहादुर थापाले त्रिवि पदाधिकारीले आफ्ना मान्छे नियुक्ति गर्न मापदण्ड मिचेको दाबी गरे । ‘आफ्नो पार्टीको नपरेपछि डेढ महिनामै निमित्तलाई हटाइयो, बिदामा बसेकालाई डाकेर नियुक्ति दिइएको छ । सिनियर हुँदाहुँदै जुनियर क्याम्पस प्रमुख बनाइयो, उहाँसँग अनुभव पनि छैन,’ उनले भने । १९ जना सहप्राध्यापकमध्ये क्याम्पस प्रमुख भट्टराई अन्तिम वरीयताको रहेको उनले जनाए । त्रिवि पदाधिकारीले मापदण्डकै आधारमा शाक्यलाई नियुक्ति दिए पनि एमाले नेताहरूको दबाबमा कनिष्ठ भट्टराईलाई प्रमुख बनाएर कार्यकर्ताको जिम्मेवारी पूरा गरेको अध्यापकहरूको भनाइ छ । एमालेनिकट प्राध्यापकहरूले भने कांग्रेसले आफ्नो पक्षधर क्याम्पस प्रमुख नपाउँदा अनावश्यक बखेडा झिकेको आरोप लगाएका छन् । ‘प्राध्यापक संघ र स्ववियु हाम्रो छ, काम गर्न नदिएर पद छोडाउँछौं भन्दै हिँडेका छन्,’ एक प्राध्यापकले भने ।
क्याम्पस प्रमुख नियुक्तिको मापदण्ड मिचेको विरोधमा तालाबन्दी गरिएको नेविसंघका इकाई सचिव दीप गिरीले बताए । ‘कुर्सीमा बस्नलायक मान्छे चाहियो भनेर कुर्सी रूखमा राखिदिएका हौं, पार्टीको काम गर्नेलाई क्याम्पस प्रमुख मान्दैनौं,’ उनले भने । नेविसंघ, स्ववियु, प्राध्यापक संघ र प्रजातान्त्रिक प्राध्यापक त्रिविको क्याम्पस प्रमुख नियुक्तिविरुद्ध एकजुट छन् । प्रजातान्त्रिक प्राध्यापक संघका अध्यक्ष जगत तिमिल्सिनाले क्याम्पसको समस्या समाधान गर्न उपकुलपति बाँस्कोटालगायत पदाधिकारी तयार नभएको जनाए । ‘क्याम्पसमा ताला लागेको एक महिनाभन्दा बढी भयो, उपकुलपति कुरा सुन्नै चाहनु हुन्न,’ उनले भने, ‘साह्रै गैरजिम्मेवार व्यवहार देखाउनुभएको छ । कांग्रेसनिकटलाई नियुक्ति गर्दा वरिष्ठता खोज्ने, एमालेको चाहिँ उपप्राध्यापक भए पनि जिम्मेवारी दिने थुप्रै उदाहरण छन् ।’

Comments