नेक र केयुद्धारा संयुक्तरूपमा प्रमाणपत्र वितरण
जेठ २८, २०८०, आइतबार | दिउँसो १२:३७ बजे | 40
काठमाडौंं । उच्च शिक्षाकोलागि देशमै ख्याति प्राप्त दुईवटा मुनाफारहित शैक्षिक संस्थाहरू नेपाल इन्जिनियरिङ कलेज (नेक) र काठमाडौ विश्वविद्यालय (केयु) ले आज एक समारोहका बिच चवालीस जना प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरेका छन्। नेक र केयुले आआफ्नो संस्थामा अमेरिकाको बिल एण्ड मलिन्दा गेट्स फाउन्डेसनको आर्थिक सहयोग र नेडरलाण्डको आईएचइ संस्थाको संयोजकत्वमा विश्वव्यापीरूपमा सञ्चालित सरसफाई सम्बन्धी पेशागत तालिमहरू चलाइरहेका छन्। यस वर्षको तालिम कार्यक्रम नेकले सन् २०२२ नोभेम्बर देखि २०२३ मार्च सम्म र केयुले २०२२ डिसेम्बर देखि २०२३ अप्रिल सम्म आयोजना गरेका थिए। नेकले सरसफाई प्रविधिमा पेशागत अध्ययन कार्यक्रममा यस पल्ट नौ जना महिला र १० जना पुरूष गरी जम्मा उन्नाइस जनाले तालिमका सबै मापदण्डहरू पुरा गर्न सफल भएका थिए। सोहि विषयमा केयुले आयोजना गरेको कार्यक्रममा चारजना विदेशी विद्यार्थीहरू सहित जम्मा पच्चीस जना प्रशिक्षार्थीहरू सफल भएका थिए। अघिल्लो वर्ष पनि यी दुबै संस्थाहरूले समान प्रकृतिका कार्यक्रमहरू सञ्चालन गरेका थिए। विश्वव्यापी मान्यता प्राप्त यो तालिमको प्रमाणपत्र पाएकाहरू प्राविधिकहरूले सरसफाई क्षेत्रमा कुनै पनि देशमा कामकोलागि आवेदन दिन सक्ने छन्। नेपालमा सरसफाई विधामा गर्नु पर्ने सुधारहरू व्यापक भएकोले प्रशिक्षित प्राविधिकहरूले देशमै योगदान गर्नसक्ने क्षेत्रहरू धेरै छन्। नेपाल सरकारको सम्बन्धित निकायले पहल गरेमा प्रशिक्षित प्राविधिकहरूलाई देशमै सेवा गर्न मौका दिने वातावरण बनाउन नेक र केयु इच्छुक रहेको कुरा कार्यक्रममा नेकका प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठ र केयुका आयोजना प्रमुख प्रा.डा. बिम प्रसाद श्रेष्ठले बताए। कार्यक्रमको संयोजन नेकको तर्फबाट उपप्राध्यापक विनय शाक्यले तथा केयुको तर्फबाट उपप्राध्यापक सुमन धुँ श्रेष्ठले गरेका थिए।
फाेटाेमा हेर्नुहाेस्...