सहकारीमा विकृतिहरुको पुनराबृति


भदौ २७, २०७७, शनिबार | दिउँसो ०३:४१ बजे | 25


तुल्सी केशरी प्रजापति

विश्व महामारीको रुपमा फैलिएको कोभिड १९ ले विश्वलाई नै प्रभाव पारेको छ । यसले हाम्रो जस्तो विकासोन्मुख देशलाई त झनै प्रभाव पार्ने नै भयो । यसले हरेक क्षेत्रसंगै वित्तीय क्षेत्रमा झनै प्रभाव पारेको छ । वित्तीय क्षेत्रमा परेको प्रभावले आर्थिक मन्दि हुने हो कि भनि सबै जना सचेत रहनु पर्ने देखिन्छ । वित्तीय क्षेत्रमा सरकारको तीन खम्बे अर्थ नीति अन्तर्गत सहकारी पनि एक हो । वित्तीय कारोबारमा बढी भन्दा बढी जनसहभागिता भएको क्षेत्र पनि सहकारी नै हो । सहकारी संस्थाले सदस्यहरुलाई आर्थिक र सामाजिक स्तर उकास्न प्रयत्नरत छ । कोभिड १९ लाई मध्ये नजर गरी भक्तपुर नगरपालिकाले सहकारी मार्फत सचेतना कार्यक्रम गर्न निर्देशन नै भएको छ । कोभिड १९ ले मै हुँ भन्नेहरुलाई पनि बाँकी नराखेको विकासशील देशका राजकुमारी समेत निधन भएको र अमेरिकामा स्थिति नियन्त्रण बाहिर रहेको कोभिड १९ले बढी मृत्यु हुने पहिलो देशमा परेबाट पुष्टि हुन्छ । त्यसैले बिद्यालय र कलेजको शिक्षा पर्याप्त नहुन सक्छ । अझ समाज र देशको परिस्थितिले धेरै कुरा सिकाउँछ । समुदायमा आधारित सहाकारीले चाहे कोभिड होस् वा वित्तीय क्षेत्र कसैले आफू र आफ्नो ज्ञान नै सहि र सर्वेसर्वा सम्झनु गलत हुनेछ । त्यसैले समाजबाट सिक्नु पर्ने र समाजको निम्ति काम गर्नु पर्ने आवाज उठेको छ ।

समाजको निम्ति काम गर्ने देश चीनमा कोभिड १९ समयमै नियन्त्रण भएको छ भने समाजलाई केन्द्रबिन्दुमा राखेर नसोच्ने र नाफा घाटाको रुपमा सोच्ने देश अमेरिकामा अहिलेसम्म भयावह स्थिति छ । जुन सहकारीमा पनि लागु हुन्छ । त्यसैले सहकारीले सदस्य र समुदायको निम्ति काम गर्नुपर्नेमा घच्घच्चाई रहेका छन् । कोभिड १९ले सहकारी संस्थामा परिवर्तन समयको आवश्यकता हो । धेरैजसो सहकारीहरु आज विभिन्न स्रोतहरुबाट परिवर्तनको लागि ठूलो शक्तिहरुको सामना गरिरहेका छन् । सफलतापूर्वक परिवर्तनको एक व्यवस्थित र योजनाबद्ध तरिकाको प्राथमिक जिम्मेवारी भएको छ, यस सन्दर्भमा हामीले संगठनात्मक परिवर्तनको व्यवस्था गर्नका लागि कर्मचारीहरुको पक्षबाट प्रतिरोध आउन सक्छ । परिवर्तनलाई सफल बनाउनको लागि संगठन परिचालन गर्नु पर्दछ । यथास्थितिमा परिवर्तन गर्न कर्मचारीहरुको प्रतिरोध बाबजुद निर्देशन दिई संयमित बनाउँदै व्यवहार बदल्नु पर्छ । सहकारीमा सामाजिक मूल्याङ्कन गर्दै विनाशबाट बचाउन कर्मचारीहरुमा पुरानो दृष्टिकोण वा व्यवहारलाई अयोग्यको रुपमा मापन गर्ने भएकोले परिवर्तनको लागि प्रेरित गर्न मद्दत गर्दछ । संगठनको नयाँ संरचनाको आन्दोलन संगठनात्मक परिवर्तनलाई सफल बनाउनको लागि हो । व्यक्ति परिवर्तनसंगै नयाँ व्यवहार जस्तै काम गर्ने तरिकाहरु, नयाँ सोचाइ, नयाँ भूमिकाहरुको धारणा सिक्छन् । संचालकलाई जिम्मेवार बनाई उत्साहित, सामूहिक कार्य र समन्वयलाई प्रोत्साहित गरी सकारात्मक ऊर्जा, अर्थपूर्ण भाषा र साहसी नेतृत्वले परिवर्तन सम्भब बनाउँछ ।

संचालकहरुमा नयाँ विश्वास, भावना र व्यवहारमा आन्तरिक सुदृढीकरण आवश्यक छ । बचत तथा ऋण सहकारीमा अनुसन्धान गरी परिवर्तनका जिज्ञासा, रेकर्डहरु समिक्षा गरी सदस्यहरुको प्रतिक्रिया र चिन्ता सुनेर रोगको निदान गर्ने, बचत तथा ऋणको समस्या विश्लेषण गरी प्राथमिक चिन्तन, समस्या क्षेत्र र सम्भावित कार्यमा संश्लेषण गर्ने, सदस्यहरुको प्रतिक्रिया अनुसार कार्य योजनाहरु विकास गर्ने, समस्या सुधार गर्न सोहि अनुसार विशिष्ट कार्यहरु गर्ने, कार्य योजनाको प्रभावकारी मूल्याङ्कन गरी संगठनमा परिवर्तन ल्याउन सके मात्र सहकारीको प्रभावकारिता देखाउन सकिनेछ ।
कोभिड १९ को प्रभावले गर्दा धेरै सहकारीहरुको वासलात कारोवार लगायत लेखा परिक्षकको प्रतिवेदन प्रगति उन्मुख नहुन सक्छ । तर दुःखमा धैर्यतापूर्वक काम गरी त्यसलाई शक्तिमा बदली सहकारीलाई चलायमान बनाउनु पहिलो दायित्व हुने छ । अवको सहकारीको रणनीति सहकारी संस्थाको सामुदायीकरण, वास्तविक अर्थात सेवा उपयोग कर्ता सदस्य विस्तार, सहभागिताका मञ्च सृजना, सेवामा सदस्य केन्द्रीयता, प्रतिनिधि संघहरुसंगको सहकार्य, महिला सहभागिताको बढावा र सघन सदस्य शिक्षामा जोड दिने हुनु पर्छ । २०६२÷०६३ को आन्दोलनले गणतन्त्र स्थापना भई समाजवाद उन्मुख संविधान समेत प्राप्त भई सकेको छ तर सामन्तवादी व्यवस्थाको लामो दौरानबाट मुक्त जनतामा विकासको आकांक्षा थियो र नेताहरुलाई आफ्नो प्रतिज्ञाअनुसार गरेर देखाउनु थियो । गणतन्त्र र समाजवादको विकासको अगुवाई गरिरहेका बखत जनसाधारणमाझ सहकारी आन्दोलन दुवैको आधार बन्न सक्थ्यो । त्यसरी सदस्यहरुको आर्थिक र सामाजिक स्तर उकास्ने परिकल्पनाकासाथ सहकारी प्रस्तावनालाई प्रश्रय दिएर गरिबको स्रोत गरिबीको समस्या समाधानार्थ लगाउनु थियो । देशमा पूर्ण आकारमा फैलिएको सहकारी आन्दोलन पुगनपुग ६३ लाख साना कृषक, कालिगड, श्रमिक, उपभोक्ता र गरिबी कोषका अरुहरुको संलग्नतामा सबै प्रदेश, जिल्ला र नगरपालिका वा गाउँपालिकामा संचालित ३४ हजार बढी सहकारी संघसंस्थाहरु सहित आन्दालेन क्रमशः शोषणविहीन आर्थिक सम्बन्धहरु प्रवर्धन गर्ने शक्तिको रुपमा विकसित भईरहेको छ ।

‘सहकारीपनका लागि नियमन’ को ध्येय पछ्याउँदै नगरपालिकाको सहकारी नियमन निकायले सहकारी सिद्धान्तअनुरुप सहकारी संघसंस्थाका स्वनियमनकारी प्रकृयाहरुलाई परिपूर्ण तुल्याउँदछ । स्थानीय सरकारका सहकारी निकायहरुलाई आवश्यक नियामक, प्रवर्धनात्मक र प्रशिक्षण वा शैक्षिक सेवाहरु प्रदान गर्ने अर्थमा अगं्रणी भूमिका खेल्नु पर्ने हुन्छ ।
कोभिड १९ को माहामारीबाट पर्ने प्रभावको सामना गर्न धेरै देशले विस्तारकारी मौद्रिक एवं वित्त नीति अवलम्बन गरेको अवस्थामा नेपालको मौद्रिक नीतिले समेत बैंक वित्तीय संस्था, विभिन्न पेशा, व्यवसायलाई सहुलियत, छुट, सुविधा प्रदान गर्दै नियमन गर्ने काम गरेको छ । कोभिड १९ र आर्थिक बर्ष २०७७÷०७८ को मौद्रिक नीतिका सन्दर्भमा सहकारी क्षेत्रले जोखिम व्यवस्थापनलाई सुरक्षित र प्रभावकारी बनाउन जोखिम व्यवस्थापन कार्यदल बनाउने, प्रतिवेदन र पत्राचार विधुतीय माध्यमबाट, खर्चमा मितव्ययिता अपनाउने र सो कार्य सदस्यहरुलाई समेत अभिप्रेरित गर्ने साथै संस्थाले आन्तरिक सुशासन कायम गर्ने, आर्थिक क्षेत्रलाई पुर्नउत्थान गर्न उत्पादन अभिबृद्धि, रोजगारी सिर्जना र उद्यमशीलता विकासका क्षेत्रमा सदस्यहरुलाई सहुलियतपूर्ण कर्जा÷पुनरकर्जा प्रवाहमा जोड दिने र कृषि उत्पादन बढाउन र सुरक्षित उपभोगको लागि पारिवारिक खेती प्रर्वद्धन, करेसावारी तथा कौसी खेतीमा जोड दिने, जमिन बाँझो नराख्ने तथा खाने बानीमा परिवर्तन गर्ने सदस्य तथा समुदायलाई सुसूचित र अभिप्रेरित गर्ने, उत्पादित सामग्री स्थानीय स्तरमा वा नजिकको बजारमा वितरण गर्ने, किसानको उत्पादन विग्रन नदिन वितरण प्रणालीमा ध्यान दिने, समयभित्र ऋणको व्याज र किस्ता तिर्न नसके पल्र्स अनुसार कर्जा नोक्सानी कोषको व्यवस्थापन गर्ने, भाका नाघेको ऋणको हकमा छ महिनादेखि एक बर्षसम्म भाखा थप गर्ने र व्याज, अतिरिक्त शुल्क तथा जरिवाना लिन नहुने नियमन निकायहरुले निर्देशनहरु जारी गरेको छ । अतः सहकारी संस्थाहरु यसरी अगाडि बढे संस्थागत र सदस्यहरुको हित भई समुदायलाई नै लाभ हुने छ ।  

कोभिड १९ संगै सहकारीको ६ दशकमा देखिएको सहकारी विकृतिहरुको पुनराबृति हुन थालेको भन्दै चौतर्फी चिन्ता व्यक्त हुन थालेको छ । सहकारी ऐन–२०७४ जारी भएपछिको स्थानीय सरकारले सहकारी हेर्ने जिम्मा पाएपछि नियमन निकायले सहकारी भित्र भएको विकृति र विसंगति केलाउन नसक्दा चिन्ता गर्ने ठाउँ दिएको छ । साथै सहकारीमा संचालक र व्यवस्थापक बीच समन्वय र सौहार्दता नहुँदा झनै सहकारीमा विकृति मौलाउन थालेकोले यता तिर नियमन निकायको ध्यान जानु आवश्यक छ । मानब उत्पतिको इतिहास हेर्ने हो भने कार्ल माक्र्सले भन्नुभए झै आदिम साम्यवादी युगदेखि हालसम्म बर्ग संघर्षको इतिहासबाट गुज्रेको छ । सन् १४९८ मा बेलायतको एबर्दिनमा स्थापना भएको दि शोर पोर्टर्स सोसाइटी नामक संस्थालाई विश्वको पहिलो सहकारी संस्थाको रुपमा लिइन्छ । काल्पनिक समाजवादी दार्शनिक एवम् स्काउटका संस्थापक रोवर्ट ओवेनले सन् १८३१ मा आफ्नो कपास व्यापारमा संलग्न कर्मचारीहरु र तीनका बालबच्चाहरुलाई शिक्षा सहितको राम्रो वातावरणको लागि सहकारी भण्डारण खोली सहकारी पिताको रुपमा परिचित भयो । सन् १८४४ मा बेलायतमा रोचडेल सोसाइटी या इक्वाइटेबल पाईओनियरर्स नामक सहकारी खोली रोचडेल प्रिन्सिपलले सहकारी आन्दोलनबाट जर्मनमा रेफेइजनले बचत तथा ऋण सहकारी संस्थाले ग्रामिण समुदायलाई शोषणबाट मुक्त गराएकोले बचत तथा ऋण सहकारी संस्थाका पिता भनिन्छ । प्रजातान्त्रिक रुपमा नियन्त्रित अनि संयुक्त स्वामित्व सहितको उद्यममार्फत आ–आफ्नो साझा आर्थिक, सामाजिक तथा सांस्कृतिक आवश्यकता एवम् आकांक्षालाई पूरा गर्न भनी स्वैच्छिकरुपले संगठित भएका व्यक्तिहरुको स्वायत्त संगठन नै सहकारी हो । सहकारी मूल्य मान्यतामा सहकारी संस्थाहरु आत्मनिर्भर, स्व–उत्तरदायित्व, प्रजातन्त्र, समानता, सामाजिक न्याय तथा ऐक्यवद्धताका मूल्यहरुमा आधारित छन् । आफ्ना संस्थापकहरुको परम्परामा सहकारी संस्थाका सदस्यहरुले इमान्दारिता, खुल्लापन, सामाजिक दायित्व र अरुको चासो राख्ने नैतिक मूल्यहरुमा विश्वास राख्छन् भन्ने सिद्धान्तहरु ः– १) स्वेच्छिक तथा खुल्ला सदस्यता, २) सदस्यहरुको आर्थिक सहभागिता, ३) शिक्षा, तालिम र सूचना, ४) समुदाय प्रति चासो, ५) सदस्यहरुलाई प्रजातान्त्रिक नियन्त्रण, ६) स्वायतता र स्वतन्त्रता र ९) सहकारीहरु बीच पारस्परिक सहयोग रहेको छ ।
यस आधारमा एक सदस्य एक मत र जतिसुकै शेयर धनी भएपनि साधारणसभा नै सर्वोच्च अंग हुने हुँदा यसले कार्यपालिका र न्यायपालिकाको कार्य सम्पादन गर्ने गर्छ । यसले गर्दा संचालक साधारण सदस्य प्रति र कर्मचारीहरु संचालक समिति प्रति उत्तरदायी हुने गर्छ । तर स्वायत्तता हुनु पर्ने संस्थामा व्यवस्थापक वा कर्मचारीहरु र बाह्य हस्तक्षेपबाट मुक्त हुन नसक्दा सहकारीमा बिकृति भित्रिदैँ गएको अनुभव गर्न सकिन्छ । जसले गर्दा संचालक र व्यवस्थापक वा कर्मचारीहरु बीच तसल र अहंकार उत्पन्न भई सहकारी मूल्यमान्यता भत्किरहेको प्रति नियमन निकायले ध्यान जानु पर्ने देखिन्छ । यहाँनिर अहंकारीको मूल्यको प्रेरक प्रसंग सान्दर्भिकताको कुरा राख्न चाहन्छु । गौतम बुद्धको पालामा एक अहंकारी तपस्वीले तप गर्दै बुद्धभन्दा आफू सर्वश्रेष्ठ रहेको र घमण्ड गरी बुद्ध विरुद्ध अनेक अपमानपूर्ण वचन प्रयोग गरे । बुद्धले अन्तिममा तपस्वीको महानता स्वीकार्दै त्यसको दृष्टान्त हेर्न चाहे र तपस्वीको तपको बलमा पानीमाथि हिडेर खोला तरे तर बुद्धले नाउ चढेर नदि पार गरे र तपस्वीले नाविकलाई बुद्धलाई नदि पार गराएबापत दुई पैसा दिए । बुद्धले तपस्वी तर्फ फर्केर भने ’तिम्रो बर्षौंको तपको बलको मूल्य दुई पैसा रहेछ ।’ बुद्धको यो बचन सुनेर तपस्वीलाई आफ्नो अहंकारको ज्ञान भयो र बुद्धसंग क्षमा मागे । निश्चय पनि सहकारीमा अरुले तपाईं भनोस् नभनोस् आफैं मपाईंत्व वा अहंकारी भएर हिडे सहकारीमा विकृति जन्मिन सक्छ ।

सहकारी प्रति सकारात्मक परिवर्तन ल्याउने र सहकारी सदस्यहरुको आर्थिक र सामाजिक स्तर उकास्ने ध्येय र गन्तव्य रहेकोमा सदस्यहरुको बीचको सुविधाहरुमा विभेद प्रायःसहकारीमा भएको देखिन्छ । संस्थापक र नयाँ सदस्यहरु बीचको भेद नै सहकारीमा देखिएको पहिलो विकृति रुपमा लिन सकिन्छ भने संचालक समितिले जिम्मा दिएका व्यवस्थापक वा कर्मचारीहरुले आफ्नो अधिकार दुरुपयोग गरी सहकारीलाई नाफा घाटामा तुलना गरी बढी नाफा कमाउने र कर्मचारी सुविधा लिने जुन प्रपञ्च रहेको हुन्छ त्यो प्रायः संचालकलाई थाहा नहुन सक्छ । सहकारीले नाफामा लोभ गर्नु हुँदैन् । लोभले विलाप हुन्छ । लोभको एउटा रोचक प्रसंग जोड्न चाहन्छु । लोभ के भनेर एक जना बच्चाले बुबालाई सोध्यो । बुबाले तिम्रो अकंलको पसलमा मीठो मीठो चकलेट छ लिएर आउनु तर तिमी चकलेट लिने क्रममा फर्केर लिन पाउँदैन भनेर पठायो । बच्चाले पसलमा गएर चकलेट लिन खोज्दा त्यसको अगाडि अर्को मीठो चकलेट देख्यो र अगाडिको लिन बढ्यो यहि क्रम दोहोरियो । अन्तिममा पुग्दा चकलेट नभएको ठाउँमा पुग्छ र फर्केर लिन नपाउने भएकोले रित्तै बच्चा फर्केछ । बुबाले भनेछ लोभ के हो बुझियो त । त्यसैले सहकारीले पनि नाफाको लोभमा काम गर्नु हुँदैन् । सदस्यहरुको हितमा काम गर्नु जरुरी छ । सहकारीमा नेतृत्वदायी भूमिका निर्वाह गर्नु पर्नेहरुको व्यक्तिगत महत्वकांक्षालाई अंकुश लगाउन नसक्दा विकृतिमा मलजल पुगेको छ । सहकारी मूल्यमान्यता र सिद्धान्त अनुसार नभई व्यवस्थापक वा कर्मचारी केन्द्रीत बनेको छ । संस्थापक, संचालक र व्यवस्थापक वा कर्मचारीहरुले सहकारी मूल्य मान्यता र सिद्धान्त आफ्नो अनुकूल व्याख्या गरी आदर्श र पद्धति स्थापित गराउन अग्रपंक्तिमा रहनु पर्ने अगुवाहरु नै त्यसलाई विर्सिएर सदस्यहरुको हित विपरित व्यक्तिगत र संस्थागत स्वार्थमा पदीय दायित्व दुरुपयोग गरी निर्णयहरु गराउँदा सहकारीमा विकृति मौलाएको तर्फ नियमन निकायको ध्यान जान सकेको छैन । त्यस्तै सबै सर्वगुण सम्पन्न हुँदैनन् । एउटा उखान पनि छः–  ‘कच्चा बैद्यको मात्रा यमपुरीको यात्रा’ एकजना युवक बैद्य सिक्ने भनेर बैद्य कहाँ गए । युवकको उत्सुकता देखेर ऊँट बिरामी भएको स्थानमा लगे र दुई वटा ढुंगा लिन लगाई सास फेर्न नसकेर ढलिरहेको ऊँटको घाँटीको तल एउटा ढुंगो विछ्याएर माथिबाट अर्को ढुंगोले हानेर सास फेर्न सक्ने बनायो । ऊँटको घाँटीमा नरिवल अड्केको बैद्यले नरिवल फुटाएर सास फेर्न सजिलो गरेको थियो । त्यो देखेर युवक आफूले बैद्यको ज्ञान हासिल गरेको ठाने । बैद्यले ज्ञान पूरा भएको छैन भनेर रोक्दा रोक्दै पनि युवक विदा लिई गाउँमा फर्के । गाउँमा आफूले बैद्यको ज्ञान पूरा गरेको हल्ला फिजायो । त्यसपछि एकजना वृद्ध विरामी हुँदा उपचार गर्न आयो । उसले ढुंगोको कलाबाट उपचार गर्दा बृद्धको मृत्यु भयो र गाउँलेले युवकलाई पनि पिटेर मारे । त्यसैले अल्पज्ञानले सबैलाई हानी हुन्छ । सधैं आफूमात्र ठीक अरुसबै बेठीक सोचले सहकारीमा काम गर्दा हानी नोक्सानी भई विकृति मौलाउँछ भने त्यो भन्दा पनि आफैं बोक्सी आफै धामी भई आफूले अरुलाई लान्छना लगाई हिड्ने र आफूलाई मन नपर्ने वा आफूले भन्ने जस्तै नगर्नेलाई आरोप लगाई आफू चोखो भई दूधको साक्षी विरालो भई बस्ने चालबाजीले सहकारीमा विकृति मौलाएको अनुमान गर्न सकिन्छ ।
सत्य र इमान्दारपूर्वक सेवा गर्ने भए पद र पैसा आवश्यक नहुने थुप्रै सहिदहरु र कार्लमाक्र्स, गणेशमान सिंह, माहात्मागान्धीहरुको उदाहरणहरु समेत छन् । त्यसैले सहकारी मूल्य मान्यता र सिद्धान्तलाई अनुशरण गर्ने काम संस्थापक, संचालन र व्यवस्थापक वा कर्मचारीहरुको आवश्यकता सर्वत्र महशुस गर्न थालेका छन् । २०२४ र ०२५ सालमा नवदुर्गा बहुमुखी सहकारीको विकृतिहरु पुनरावृति हुन थालेको छ । कर्मचारीहरु भनेको स्थायी सरकार मानिन्छ र सहकारीमा पनि त्यो लागु हुन्छ । जसरी देश संचालन गर्न बहुमत प्राप्त पार्टीले पाँच वर्ष सरकार चलाउँछ त्यसरी नै सहकारीमा पनि साधारण सदस्यहरुबाट निर्वाचितहरुले ४ बर्ष सहकारी चलाउँछ । तर कर्मचारीहरु वर्षाै बर्ष काम गरी सकेको हुनाले सबै जानकारीका साथै सबै सदस्यहरु चिनजान हुने नै भयो । जसले गर्दा पदलोलुपहरु आफू पदमा आउन वा भएकाहरु रहिरहन विभिन्न व्यक्तिहरुको चलखेलमा फसि सहकारी मूल्यमान्यता र सिद्धान्त अनुसार चल्न नसक्नु विकृतिहरुको जड हो । कुनै पनि सहकारीमा संचालक समिति,व्यवस्थापक र कर्मचारी बिच समन्वयको अभाव नै सहकारीमा पसेको विकृतिको रुपमा लिन सकिन्छ । सहकारीमा पनि परिवारवाद, आफ्नो इष्टमित्र, साथीभाइ, गुटबन्दि हावी भई मित्र मण्डलीले सहकारी संचालन गर्दा एकको गल्ती र अपराध अर्कोले छोप्ने साथै पद लोलुपमा गल्ती र अपराध सहने प्रवृति हावी भएको छ । त्यसैले नवदुर्गा बहुमुखि सहकारीमा भएको भष्ट्राचार विरुद्धको आन्दोलन अहिलेपनि आवश्यक रहेको छ र सहकारीलाई जोगाउन गणतन्त्र स्थापनासंगै सहकारी ऐन २०७४ र सहकारी नियमावली २०७५ आइसकेको छ । यो अनुसार सहकारीले बनाई राखेको कार्यविधिहरु मेल खान्छ कि खाँदैन अथवा सहकारीले प्रशासनिक कार्यविधि अथवा कर्मचारीहरु हाजिर नगरी समयावधि नतोकि तलब खाने कार्यविधिहरु र संचालक समितिको निर्णयहरु जुन सहकारी मूल्यमान्यता र सिद्धान्त विपरित छ त्यस लगायत स्थानीय सरकारले सहकारीको हिसाव किताब चुस्त र दुरुस्त चेकजाँच गरी सहकारीमा विकृति मौलाउन नदिने तर्फ ध्यान दिनु जरुरी रहेको छ ।
धन्यवाद ।


Comments