भक्तपुरलाई विशेष धन्यवाद !
बैशाख १, २०८०, शुक्रबार | दिउँसो ०३:३१ बजे | 20
भक्तपुरमा बैशाख १ गते विस्काजात्राको लिङ्गो ढाल्ने जात्रा हेर्न आउने काठमाण्डौंका एक समुहले बाटोमा गरेको कुराकानी सुनेपछि यो पाठक पत्र लेख्न मलाई कर नै लाग्यो । हुन पनि काठमाण्डौंतिरको बसाई भएकोले यी कुराहरु सुन्ने अवसर मिल्यो र जनसमुदायलाई जानकारी दिनुपर्ने मेरो दायित्व ठानी यो समुदायको लागि पस्कदैँ छु ।
भक्तपुरमा आज नगरभरि नै बाह्य र आन्तरिक पर्यटकको घुईचोले भरेको देख्दा साच्चिकै भक्तपुर जीवन्त शहर अनुकरण गर्न योग्य देखियो । लिङ्गो ठड्याउने र ढाल्ने ठाउँ ल्योसिंख्यो हो वा दरवार क्षेत्र, तौमढी क्षेत्र, दत्तात्रय क्षेत्र होस वा उक्त बाटो हिडडुल गर्ने सूर्यविनायक राममन्दिरको बाटो, खौमा सुकुलढोकादेखि दत्तात्रयको बाटोमा पहिला काठमाण्डौंको असन बजारको झझल्को दियो । त्यसको अर्थ विकृतिको कुरासंग दाज्न खोजेको होइन बरु त्यहाँको हुलमुल र बाटो र मोटरसाइकल नै लान परे हुने सकसको सम्झाना गराएकोसंग दाजेको हो ।
भक्तपुर निश्चय नै एउटा साँस्कृतिक शहर भएको र नाचगानको राजधानी भएको आज दिनभरि विभिन्न बाजागाजाको धुनले त्यो आभास दियो । पुरानो कला संस्कृति जोगाउन र भक्तपुरलाई जीवन्त शहरको परिकल्पनाकार, सय बर्षपछिको भक्तपुरका लेखक का.रोहितलाई नसम्झी मेरो हुतहुति पुरा हुन नसक्ने आभास भयो । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान विजुक्छे (रोहित)ले भक्तपुर बनाउन आफ्नो जीवन उत्सर्ग गरेबापत आजको यो स्थिति पुगेको हुनुपर्छ । उहाँप्रति नमन नगरी मेरो मन शान्त हुनै सक्दैन । साथै टोलटोलमा खत जात्राको तयारी जात्राको लागि टोलटोलमा सरसफाई, चुन छर्ने कार्यले अझ मेरो मन लोभियो । विहानदेखि ल्योसिंख्योमा फुटपाथे बजार नियन्त्रणको लागि वडाध्यक्ष स्वयम्को खटाई र भोलि बैशाख २ गते माहालक्ष्मीको जात्राको लागि महालक्ष्मी स्थानको सरसफाई र चुन छर्ने कार्यले मेरो मनलाई लोभ्याउन सफल भएको मलाई महशुस भयो । यो त मैले देखेको बर्णन मात्रै हो । तर भक्तपुर नगरभरि नै विभिन्न टोलमा हुने जात्रा र सरसफाईले विश्व कै उत्कृष्ट नमुना र साँस्कृति नगर भन्नमा मलाई करै लाग्यो । त्यसको निम्ति भक्तपुर नगरपालिकाले निभाएको भुमिका र सरोकारवालाहरुसंग सहकार्य र विभिन्न बैठकले समेत यो सबै जात्राहरु सभ्य र भव्य गरी सम्पन्न गर्न भुमिका खेलेकोमा नगरप्रमुखप्रति पनि आभार व्यक्त नगरी बस्न नसक्ने भएँ । साथै सा¥हा भक्तपुर नगरबासीहरुको साथ सहयोगले नगरपालिकाले जात्रालाई शान्तिपूर्वक सम्पन्न गर्न सफल भएकोमा नगरबासीहरुलाई पनि साधुवाद ।
विजयराम तण्डुकार
असन, काठमाण्डौं