के हो टिस्यु कल्चर प्रविधि ? टिस्यु क्लचरबाट यसरी हुन्छ, गुणस्तरीय विऊको उत्पादन
चैत २०, २०७९, सोमबार | दिउँसो ०१:४९ बजे | 0
कविता किसी
टिस्यु कल्चर अथवा तन्टु प्रजनन् प्रविधि जीव विज्ञानको आविष्कारमध्य एक महत्वपूर्ण आविष्कार हो । टिस्यु कल्चर प्रविधि विदेशमा व्यापक रुपमा प्रयोग गरिन्छ । यो प्रविधिद्वारा छोटो समयमै रोग प्रतिरोधात्मक क्षमता भएका र उत्पायकत्व बढाउने खालका बीउ र बिरुवा उत्पादन गर्न सकिन्छ ।
के हो टिस्यु कल्चर प्रविधि ?
वनस्पतिको कुनै प्रजनन्शील भाग जस्तै कोपिला, पात, डाँठ तथा जराको सानो अंशबाट कृत्रिम खाध्य तथा नियन्त्रित वातावरणमा कम समयमा धेरै विरुवाहरु उत्पादन गर्ने तरिकालाई तन्टु प्रजनन् प्रविधि भनिन्छ । यो प्रविधि मुख्यतः बीउ उत्पादन नहुने बिरुवा जस्तै आलु, केरा, अलैँची, स्ट्रबेरीजस्ता र आर्थिक महत्व भएका, प्राकृतिक वासस्थानमा संकटमा परेका तथा अन्य माध्यमबाट निकै कम प्रसारण हुने बनसपतिहरुको संख्या वृध्दि गर्न उपयोगी छ ।
कसरी गरिन्छ?
कुनै पनि बोटबिरुवाको कोष, तन्तु वा कुनै भागलाई सर्वप्रथम जिवानुरहित गरिन्छ । आवश्यक पौष्टिक खाध्य तत्वहरु समावेश गरी शीशा वा प्लास्टिकको भाँडा पहिले निर्मलिकरण गरिन्छ । ती भाँडामा जिवानुरहित बिरुवाको भाग समावेश गरिन्छ र जीवाणुरहित वातावरणमा प्रकाश, सापेक्षिक आर्द्रता र तापक्रमलाई नियन्त्रित गरी कुनै पनि बोटबिरुवा हुर्काउन र बढाउन सकिन्छ । निर्धारित समयपछि ती बिरुवालाई खेतमा लगेर रोपिन्छ ।
तन्तु प्रजनन्को महत्व
परम्परागत कृषि प्रणाली, बिउ र बिरुवा उत्पादन गर्ने प्रक्रिया अहिलेसम्म कायम छ, जसले गर्दा देशमा उत्पादन कम भइरहेको छ । यो प्रविधि अपनाए छोटो समयमै उच्च बिउको उत्पादन गर्न सकिन्छ । भाइरसजन्य खतरनाख रोगले बाली–नालीमा निकै क्षति पुयाउने र तिनको उन्मूलन भौतिक र रसायनिक तरिकाबाट सन्तोषजनक रुपमा गर्न नसकिने तर तन्तु प्रजनन् प्रविधिको प्रयोग गरी भाइरस उन्मूलन गर्नुको साथै भाइरसमुक्त बोटबिरुवाहरु उत्पादन गर्न सकिने हुनाले कृषि क्षेत्रमा यस प्रविधिले ठूलो योगदान पुयाएको छ । टिस्यु कल्चरबाट उत्पादन गरिने बिरुवाले एकै समयमा फुल्ने, फल्ने र फल परिपक्व हुने भएकाले उत्पादनलाई एकैपटक बजारमा पठाउन सकिन्छ । यो प्रविधिको उपयोग गरेर लोपोन्मुख बिरुवाका प्रजातिलाई बचाउन सकिन्छ । साथै हाम्रो जस्तो वानस्पतिक विविधता भएको देशमा यो प्रविधिद्वारा बिरुवाहरुलाई नियन्त्रित वातावरणमा धेरै वर्षसम्म संरक्षण गरी राख्न सकिन्छ । स्वस्थ र उच्च गुणस्तरको बिरुवा उत्पादन गर्न नसकिएका चिन्तित किसानलाई यो प्रविधि एक अचुक उपाय हो र किसानलाई यसको महत्व बुझाउनुपर्छ ।
(लेखिका किसी युवा कृषि विज्ञ हुन् ।)