असल र इमानदार नेतृत्व तयार गर्न स्काउट तालिम आवश्यक
चैत १३, २०७९, सोमबार | विहान ११:५१ बजे | 0
सुनिल प्रजापति, प्रमुख भक्तपुर नगरपालिका
भक्तपुर नगरपालिकामा पनि नगर स्काउटको गठन भइसकेको छ । नगर स्काउटको संरक्षकमा नगर प्रमुख र अध्यक्षमा उपप्रमुख रहने व्यवस्था छ । नगर स्काउटको गठनपछि भक्तपुर नगरपालिका भित्रका सबै विद्यालयहरूमा स्काउट गठन गर्ने तयारी गर्दै छौं । भक्तपुर नगरमा हाल ९२ वटा विद्यालयहरु सञ्चालनमा छन् । यसअघि हामीले स्काउट प्रशिक्षकहरूलाई तालिम दिइसकेका छौं ।
असल, देशभक्त र इमानदार नागरिक तयार गर्ने हाम्रो उद्देश्य हो । आजका युवा–विद्यार्थीलाई राम्रो शिक्षा दिनुका साथै अनुशासित, इमानदार र नैतिकवान बनाउन सकेमात्रै भोलि देशले कुशल नेतृत्व पाउनेछ । देशको लागि असल र इमानदार नेतृत्व तयार गर्न स्काउट तालिमले मद्दत पु¥याउने हाम्रो विश्वास छ ।
संकटमा विचलित नभई संयमतापूर्वक काम गर्ने, सँधै अरुको भलाइको निम्ति चिन्तन गर्ने र स्वयम्सेवी भावनाले काम गर्ने नै स्काउटको महत्वपूर्ण पक्ष हो । यस कुरालाई ध्यानमा राखी भक्तपुर नगरपालिकाले स्काउटका साथीहरूसँग समय—समयमा छलफल र अन्तरक्रिया गर्दै काम गर्दै आएको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको बेला भक्तपुर नगरपालिकामा यहाँका स्काउटका मित्रहरूले गरेको काम उल्लेखनीय छ । नगरपालिकाको आह्वानमा भएको सरसफाइ, प्रचारप्रसार एवम् संक्रमितहरूको घरघरमा गएर औषधी वितरण, खाना पु¥याउने काममा उहा“हरुले सहयोग गर्नुभयो । आफ्नो ज्यानलाई भन्दा अरुको ज्यान जोगाउन मद्दत गर्नुभयो । त्यो काम अत्यन्त प्रशंसनीय छ । चाडपर्व जात्राको बेला भक्तपुर स्काउटले निरन्तर सहयोग गर्दै आएको यहा“हरुलाई जानकारी गराउन चाहन्छौं ।
भक्तपुर देशकै सानो नगरपालिका हो । तर यहा“ विश्व सम्पदा सूचिमा सूचिकृत दरबार क्षेत्र अवस्थित छ । नेपालकै अग्लो प्रसिद्ध ५ तल्ले मन्दिर, ५५ झ्याले दरबार, सुनढोका, मयुर झ्याल वास्तुकलाका दृष्टिले उत्कृष्ट नमुनाहरू यहाँ छन् । आज यहाँहरुले त्यसको अवलोकन गर्नुहुनेछ । दरबार क्षेत्र, टौमढी र दत्तात्रय क्षेत्र पर्यटकीय दृष्टिले अत्यन्त महत्वपूर्ण स्थानहरू हुन् । यहाँ वर्षको लाखौं पर्यटकहरूले भ्रमण गर्छन् । उहाँहरूले तिर्नुभएको पर्यटन शुल्कबाट सम्पदाहरूको संरक्षण, शिक्षा, स्वास्थ्य, सरसफाइलगायत विकास निर्माणको काममा खर्च गर्दै आएका छौं ।
नगरपालिकाले आफ्नै स्वामित्वमा ८ वटा कलेज, १०० शैय्याको ख्वप अस्पताल सञ्चालन गर्दै आएको छ । वडा वडामा स्वास्थ्य केन्द्र, घरघरमा नर्स सेवा, सबैको लागि उच्च शिक्षाको अवसर प्रदान गर्न शैक्षिक ऋण प्रदान गर्दै शिक्षा र स्वास्थ्यमा देशको उत्कृष्ट सेवा दिने नगरपालिकाको रुपमा विकास गर्दैछौं । इमानदारीपूर्वक जनताको सेवा गर्ने नै हामी जनप्रतिनिधिहरुको साझा प्रतिबद्धता हो ।
मौलिक सीप र प्रविधिलाई जोगाउँदै पुरातात्विक, सांस्कृतिक र ऐतिहासिक महत्वका क्षेत्रहरूको अध्ययन, अनुसन्धान र उत्खनन् गर्दै प्राचीन भक्तपुर नगरको सम्पदाहरूलाई जीवन्त राख्ने प्रयास गर्दै आएका छौं । यहा“का मूर्त र अमूर्त कला–संस्कृतिको संरक्षण हाम्रो प्राथमिकताको विषय हो । हामी आत्मनिर्भरतालाई विश्वास गर्छौं र त्यसैअनुरुप काम गर्दैछौं ।
हामी नेपाल मजदुर किसान पार्टीबाट निर्वाचित प्रतिनिधिहरू हौ । नेपाल मजदुर किसान पार्टी वैज्ञानिक समाजवादमा विश्वास गर्ने पार्टी हो । यस पार्टीको नेतृत्व नेपालका वरिष्ठ राजनीतिज्ञ का. नारायणमान बिजुक्छेँ (रोहित) ले गर्दै आउनुभएको छ । भक्तपुर नगरमा १० वटा वडाहरु छन् । ती सबै वडामा नेपाल मजदुर किसान पार्टीका साथीहरू निर्वाचित भएका छौं । पार्टी अध्यक्ष का. रोहितले भक्तपुरको भविष्यको बारे कल्पना गर्दै ‘१०० वर्षपछिको भक्तपुर’ पुस्तक लेख्नुभएको छ । आजभन्दा २० वर्षअघि लेख्नुभएको उक्त पुस्तकमा उहाँले यो नगर ‘बिहान हेर्दा प्राचीन सहर जस्तो, दिउँसो विश्वविद्यालय जस्तो र राती प्राचीन लुगा लगाएको सुन्दरी जस्तो देखिने र विश्वकै आकर्षक नगर बन्ने’ कल्पना गर्नुभएको छ । हामी यही पुस्तकलाई आधार बनाउँदै भक्तपुर नगरको पुनःनिर्माण गर्दैछौं । प्राचीन नगरको स्वरुपलाई बचाइ राख्ने कोसिस गर्दछौं ।
आज भक्तपुरका महत्वपूर्ण क्षेत्रहरूको अध्ययन, अवलोकन गरेर रमाइलो गर्नुहोस् । तपाईंहरूको दिन सुखी रहोस् । कुनै असहज भएमा हाम्रा साथीहरूले तपाईंहरूलाई सहयोग गर्नुहुनेछ । पछि फेरि भेट्ने आशाका साथ पुनः स्वागत गर्छु । धन्यवाद ।
(नेपाल स्काउटको आयोजनामा भएको छैटौं एसिया प्रशान्त क्षेत्रीय मेसेन्जर अफ पिस राष्ट्रिय संयोजकहरूको सम्मेलनमा भाग लिन विभिन्न देशबाट आउनुभएका स्काउट प्रतिनिधिहरूलाई स्वागत कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिद्वारा व्यक्त मन्तव्य)