ख्वप कलेजको प्राचार्यमा प्रकाशकुमार श्रेष्ठ नियुक्त ः अरुमा कोको ?
चैत १०, २०७९, शुक्रबार | विहान ०७:१४ बजे | 35
भक्तपुर । भक्तपुर नगरपालिकाद्धारा सञ्चालित ख्वप कलेजको प्राचार्यमा प्रकाशकुमार श्रेष्ठ नियुक्त भएका छन् । यस्तै ख्वप माविको प्राचार्यमा लक्ष्मीप्रसाद कर्माचार्य नियुक्त भएका छन् । साथै ख्वप कलेज अफ लको प्राचार्यमा अनिता जधारी नियुक्त भएकी छिन् ।
कलेज सञ्चालक समितिको बैठकले उनीहरु सवैलाई शुक्रबारदेखि नै लागू हुने गरी प्राचार्यमा नियुक्त गरिएको हो । उनीहरु सवैको परिचय तथा स्वागतमा शुक्रबार गरिएको कार्यक्रममा कलेज व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले यसबारे जानकारी गराएका हुन् ।
नवनियुक्त प्राचार्य श्रेष्ठ यसअघि ख्वप माविका प्राचार्य थिए । साथै ख्वप माविका नवनियुक्त प्राचार्य कर्माचार्य यसअघि माविकै उपप्राचार्य तथा विज्ञान संकायका प्रमुख थिए । ख्वप कलेज अफ लकी नवनियुक्त जधारी भने अधिवक्ता एवं कलेजकी शिक्षिका थिइन् । यस अनुसार ख्वप कलेज, शारदा क्याम्पसको प्राचार्य श्रेष्ठ, ख्वप मावि, शारदा क्याम्पस माविको प्राचार्य कर्माचार्य र लको प्राचार्य जधारी भएकी हुन् । यसअघिको ख्वप कलेजका प्राचार्य रुपक जोशी भने कलेजको माष्टर्स तहको प्रमुखको जिम्मेबारीमा छन् । ख्वप कलेज र माविमा १४ वर्ष तीन महिनापछि प्राचार्य परिवर्तन भएको हो । दुई दुईको यो कार्यकाल थप्दैथप्दै यसअघि कलेजको प्राचार्यमा जोशी र माविको प्राचार्यमा श्रेष्ठ रहेका थिए । ल भने यो वर्षदेखि मात्रै सञ्चालनमा आएको हो ।