निर्वाचनको मुखमा रु. २५० लिएर भर्ना
चैत १, २०७९, बुधबार | विहान ०८:२३ बजे | 20
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घले निर्वाचनको मुखमा रु. २५० लिएर भर्ना गरेको सन्दर्भमा भक्तपुर बहुमुखी क्याम्पसको प्रशासन र निर्वाचन समितिसमक्ष विभिन्न माग राख्र्दै ध्यानाकर्षण गरेको छ । उक्त ध्यानाकर्षणमा भनिएको छ ।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) न्यायपूर्ण विद्यार्थी आन्दोलनको उपलब्धि हो । यो विद्यार्थीहरूको साझा संस्था हो । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ सदा निष्पक्ष र धाँधलीरहित स्ववियु निर्वाचनको पक्षमा छ ।
स्ववियु निर्वाचन २०७९ को लागि भक्तपुर बहुमुखी क्याम्पसमा नेक्राविसङ्घले उम्मेदवारी दिएको छ । फागुन २५ गते नेक्राविसङ्घले निर्वाचन समितिले जारी गरेको मतदाता नामावलीमा दाबी विरोध राखेको थियो । निर्वाचन अधिकृतले छानबिन समिति गठन गरेर अनुसन्धान गरेपछि अन्तिम नामावली निकाल्ने प्रतिबद्धता जनाउनुभयो । भोलिपल्ट निर्वाचन समितिले अधिकृतको वचन तोड्दै जबरजस्ती नामावली प्रकाशित ग¥यो । नेक्राविसङ्घले यसमा पटकपटक विरोध जनायो । तर, कुनै सुनुवाइ भएन । यसबाट क्याम्पस प्रशासन र निर्वाचन समिति शङ्काको घेरामा परेको छ ।
स्ववियु निर्वाचनको मुखमा आएर जम्मा रु. २५० तिरेका केही मुट्ठीभर विद्यार्थीलाई तोक लगाएर भर्ना गर्नुले क्याम्पस प्रशासन निष्पक्ष नभएको स्पष्ट हुन्छ । यस्तो स्थितिमा निष्पक्ष निर्वाचन हुने सम्भावना क्षीण बन्दै गएको छ ।
यो सङ्घले क्याम्पस प्रशासन तथा निर्वाचन समितिसमक्ष निम्न मागहरू राखेको छ ः
१. निर्वाचन घोषणा भएपछि क्याम्पस प्रशासनले रु. २५० मा कतिजना विद्यार्थी भर्ना गरेको हो ? अविलम्ब सार्वजनिक गर्नुपर्छ ।
२. रु. २५० मा भर्ना गर्ने विद्यार्थीहरूले कुनकुन आधारमा यस्तो सहुलियत पाएका हुन् ? अरू विद्यार्थीलाई त्यो सहुलियत किन नदिएको ? तत्काल सार्वजनिक गर्नुपर्छ ।
३. अख्तियारको दुरूपयोग गर्दै निर्वाचनलक्षित भर्ना गरेको ठहरिए त्यसरी भर्ना भएका विद्यार्थीको उम्मेदवारी यथाशीघ्र रद्द गर्नुपर्छ ।
बिहानीले दिनको सङ्केत गर्छ । आज रु. २५० तिरेर ५० औँ हजार तिरेका विद्यार्थीहरूको नेता बन्न खोज्नेहरूले भोलि देशको ढुकुटीमा नै ब्रह्मलुट मच्चाउनेछन् । के क्याम्पस प्रशासनले भ्रष्ट नेताहरू जन्माउन खोजेको हो ? निर्वाचन खेँलाची होइन । यसलाई व्यवस्थितरूपमा सञ्चालन गर्नु क्याम्पस प्रशासन तथा निर्वाचन समितिको कर्तव्य हो । कर्तव्यच्युत भएर जबरजस्ती निर्वाचन सञ्चालन गर्न खोजे वा तोकिएको मितिमा निर्वाचन सम्पन्न नगरे यसको सम्पूर्ण दोष क्याम्पस प्रशासन एवम् निर्वाचन समितिले लिनुपर्नेछ ।