सुदुरपश्चिम प्रदेशको धरोहर गेटा आँखा अस्पताल ःः पेशागत दक्षता, सामूहिक भावना र अनुशासनको उत्कृष्ट नमूना


फाल्गुन ३०, २०७९, मङ्गलबार | विहान १०:०१ बजे | 0


सुदुरपश्चिम प्रदेशको धरोहर गेटा आँखा अस्पताल ःः पेशागत दक्षता, सामूहिक भावना र अनुशासनको उत्कृष्ट नमूना

रमेश परियार 
सन् १९८१ मा स्थापना भएको गेटा आँखा अस्पतालले हाल नेपाल नेत्रज्योति संघको छातामा रही सुदरपश्चिम प्रदेशमा ३ वटा सेकेण्डरी आँखा अस्पताल र १८ वटा आँखा उपचार केन्द्रहरु सञ्चालन गरिरहेको छ । सबै स्थानीय तहमा कम्तीमा एक आँखा उपचार केन्द्र स्थापना गर्ने उद्धेश्य अनुरुप हालसम्म अस्पतालले प्रदेशका ९ वटै जिल्लामा आफ्नो आँखा उपचार सेवालाई विस्तार गरिसकेको छ र निकट भविष्यमा यस प्रदेशका केही स्थानहरुमा थप आँखा उपचार केन्द्र स्थापना हुने क्रममा रहेको छ । ९ वटै जिल्लामा आँखा उपचार केन्द्रहरु स्थापना भएको र करिब ८० प्रतिशत समस्याहरु त्यही केन्द्रहरुमार्फत समाधान हुने तथा केही जटिल समस्या भएमा टेलिमेडिसिनको माध्यमबाट गेटा आँखा अस्पतालका नेत्र विशेषज्ञबाट परामर्श र उपचार गरिने भएकोले थोरै मात्रै आँखाका बिरामीहरुलाई अस्पतालमा रिफर गर्ने गरेको बताउछन् अस्पतालका आउटरिच म्यानेजर रमेशचन्द्र भट्ट । 
गेटा आँखा अस्पतालमा आँखा परीक्षण गराउन आउने बिरामीको  करिब ४० प्रतिशत बिरामी भारतीय नै हुन्छन् भने अप्रेशन गराउन आउने बिरामीहरुमध्ये करिब ६० प्रतिशत भारतीय हुने गरेको छ । अस्पतालले नेपालीहरुका लागि सुदुरपश्चिम प्रदेशका ३ स्थान महेन्द्रनगर, डडेल्धुरा र टीकापुरमा विशेषज्ञ चिकित्सकसहितको सेकेण्डरी स्तरका अस्पतालहरु स्थापना गरी सेवा प्रवाह गर्नको साथै धनगढीमा हप्तामा एक पटक र कंञ्चनपुरको बेलौरीमा महिनामा एक पटक शल्यक्रिया सेवा प्रदान गरिरहेको र स्थानीयस्तरमा गई शिविरहरु समेत सञ्चालन गर्ने हुनाले अस्पातलमा हुने शल्यक्रियामा नेपाली भन्दा भारतीय नागरिकहरु नै बढी हुने आंकलन गरिएको छ । गत आर्थिक वर्षमा अस्पतालमा कुल १९ हजार ५८१ जनाको आँखाको शल्यक्रिया भएको थियो, जसमध्येमा ११ हजार ५९२ जना भारतीय नागरिकहरु थिए जसमध्ये ८ हजार २३६ जनाको  मोतिविन्दुको शल्यक्रिया भएको अस्पतालले जनाएको छ । 
गतवर्ष गेटा आँखा अस्पताल र अन्तरगतका शाखाहरु तथा शिविरबाट २ लाख ,५१ ह्जार ८३१ जनालाई सेवा प्रदान गरेकोमा २४ हजार १४१ जनालाई अप्रेशन सेवा प्रदान गरेको छ । अस्पताल र शाखाहरुबाट उपलब्ध गराइने नियमित उपचार सेवाको अतिरिक्त प्रत्येक वर्ष विभिन्न सरकारी तथा गैरसरकारी सामाजिक संस्थाहरुबाट सहयोग जुटाई यस प्रदेशका ९ वटै जिल्लाहरुमा ग्रामीण क्षेत्रसम्म आँखा उपचार सेवाको पहुँच बढाउन वर्षमा ६० भन्दा बढी स्थानमा आँखा शिविर सञ्चालन गरी निःशुल्क सेवा प्रदान गर्दै आईरहेको छ ।
हाल नेत्रज्योति संघले गेटा आँखा अस्पतालसहित २७ वटा आँखा अस्पताल, १५० वटा आँखा उपचार केन्द्र र ४४ वटा जिल्ला शाखाहरुमार्फत नागरिकहरुलाई सर्भसुलभ र गुणस्तरीय आँखा स्वास्थ्य सेवा प्रवाह गरिरहेको छ । संघले आर्थिक अभावका कारण कोही पनि नागरिकले दृष्टिबिहीन जीवनयापन गर्न बाध्य नहुन भन्ने हेतुले जनताको घरदैलोमै सहज, सुलभ र सस्तो रुपमा गुणस्तरीय सेवा प्रदान गरिरहेको र सोका लागि विभिन्न निकायहरुसंगको साझेदारिमा उज्यालो अभियान कार्यक्रमसमेत सञ्चालन गदै आएको छ, जसबाट धेरै गरिबीको रेखामुनी रहेका नेपाली नागरिकहरुले निःशुल्क आँखा जाँच तथा शल्यक्रिया सेवासमेत पाइरहेका छन् ।
सन् १९८० मा गरिएको सर्वेक्षण अनुसार नेपालमा अन्धोपनाको शिकार भएका जनताको संख्या ०.८४ प्रतिशत हुँदा सुदूरपश्चिममा १.०२ प्रतिशत जनसंख्यामा अन्धोपन थियो । त्यसै तथ्यलाई मध्यनजर गरी सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाको गोदावरी नगरपालिकामा गेटा आँखा अस्पतालको स्थापना भएको थियो । यस अस्पतालले आँखाको स्वास्थ्यमा उल्लेखनीय सेवा दिएको हुँदा सकारात्मक नतिजा प्राप्त हुँदै गयो, जसअनुसार २००८ मा गरिएको सर्वेक्षणमा सुदूरपश्चिममा अन्धोपना ०.४१ प्रतिशतमा झर्यो । हालसालै गरिएको सर्वेक्षणमा सुदुरपश्चिममा अन्धोपना प्रतिशत देशैभरिमा सबैभन्दा थोरै ०.२१ प्रतिशतमा झरेको छ । अन्धोपनामा आएको यो सुधारमा मुख्यतया गेटा आँखा अस्पतालको योगदान रहेको कुरा निर्विवाद छ । किनकि स्थापनाकालदेखि २०७९ असारसम्म गेटा आँखा अस्पताल र अन्तर्गतका आँखा अस्पताल तथा उपचार केन्द्रहरुले ४६ लाख २७ हजार ५७४ जनालाई आँखा उपचार सेवा प्रदान गरेको छ, जसमध्ये ६ लाख ३१ हजार ३४५ जनाको मोतीविन्दुलगायत आँखाको अन्य शल्यक्रिया गरेको छ । गेटा आँखा अस्पताल र तीलगंगा नेत्र अध्ययन संस्थानका विशेषज्ञहरुले सन् २०२१ मा गरेको संयुक्त अध्ययनले एउटा रोचक तथ्य फेला पारेको थियो, त्यो के भने धनगढीमा रहेका सरकारी विद्यालयका विद्यार्थीहरुको तुलनामा निजी विद्यालयका दोब्बर विद्यार्थीहरुले चस्मा प्रयोग गर्नुपर्ने अवस्था रहेको थियो । सरकारी विद्यालयका विद्यार्थीहरुमध्ये २.५ प्रतिशत विद्यार्थीहरुले चस्मा प्रयोग गर्नुपर्ने अवस्था थियो भने निजी विद्यालयका विद्यार्थीहरुमध्ये ४.७ प्रतिशत विद्यार्थीहरुले चस्मा प्रयोग गर्नुपर्ने अवस्था थियो । यसबाट सरकारी र निजी विद्यालयको पठनपाठन शैलीमा रहेको ठूलो फरक पनि उजागर गर्दछ ।
उपर्युक्त सफलता कुरा गरेको भरमा मात्र पाइंदैन । त्यसका लागि सम्पूर्ण अस्पताल परिवारको निरन्तर लगनशीलता, सेवाभाव, अनुशासन, समय पालना, पेशागत दक्षता र कर्मचारीहरुको समर्पण अति नै आवश्यक रहन्छ । गेटा आँखा अस्पतालको जस्तो समर्पित भएर सेवामा खटिने उदाहरणीय कर्मचारी समूह अन्यत्र कतै नभएको कुरा गेटा आँखा अस्पतालका प्रमुख प्रशासकीय अधिकृत एवम् सूचना अधिकारी गोबिन्दप्रसाद जोशीले बताए । विरामीहरुको अधिक चाप रहेको समयमा २४ घन्टामा अठार घण्टासम्म चिकित्सकलगायत सम्पूर्ण कर्मचारीहरुले निरन्तर खटिएर काम गरेको अनुभव उनीे गौरवका साथ साझा गर्छन् । 
अस्पतालसंग डेढ दर्जन दक्ष र अनुभवी विशेषज्ञ चिकित्सकहरुको टिम रहेको छ, जुन हरहमेशा आफ्नो विज्ञतामार्फत नेत्र स्वास्थ्य सेवा प्रदान गर्न तत्पर छ । उनीहरुलाई यो समूहमा काम गर्न पाउँदा गौरवको अनुभूति हुन्छ तथा आफ्नो क्षेत्रमा सेवा गर्न पाउँदा असिम सन्तुष्टि प्राप्त हुन्छ ।“गेटा आँखा अस्पतालका चिफ मेडिकल डाइरेक्टर डाक्टर सुरेशराज पन्तले सहर्ष जानकारी गराउँछन् । हामी अस्पतालको चौतर्फी विकासमा निरन्तर चिन्तनशील छौं, जसका लागि चुस्त व्यबस्थापन जरुरी हुन्छ, उनी भन्छन् । नेपालका विभिन्न सरकारी तथा गैह्रसरकारी संस्थाहरुमा व्यबस्थापनको कमजोरीले गर्दा विकाशको चरमविन्दुमा पुगेका अनेकौं संस्थाहरुसमेत धराशायी भएका प्रशस्त उदाहरणहरु हामीले देखेका छौं । हाम्रो संस्थामा पनि त्यस्ता कमीकमजोरी नरहुन भनी हामीले उपलब्ध भएसम्मका सबै उपायहरु अवलम्बन गरेका उनी सुनाउँंछन् र अस्पताल व्यबस्थापन सुदृढ हुनुपर्छ भन्नेमा सचेत रहेको सुनाउँंछन् ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष समाजसेवी दिब्यप्रशाद पन्त हरेक संस्थामा केही दिग्भ्रमित व्यक्तिहरु हुन्छन् भने जस्तै आफनो गेटा आँखा अस्पतालमा पनि नहोलान भन्न नसकिने तसर्थ यस अस्पताल प्रशासन र व्यवस्थापनविरुद्ध बेलाबेलामा कपोलकल्पित र झुटा समाचारहरु प्रकाशित हुनु कुनै नौलो कुरा नभएको बताउँंछन् । हरेक घटनाको गहिराइमा गएर छानबिन गर्ने र सत्यता सबैका सामुन्ने ल्याउने प्रयास गर्ने उनी सुनाउँंछन् । झुटा हल्लाहरुको समयक्रममा आफै पर्दाफास हुँदै गएको र कुनै अस्पष्टता भए भविश्यमा स्पष्ट हुनेछ तथा मेरो नेतृत्वमा अस्पताल व्यवस्थापन समितिले अस्पतालको व्यवस्थापन, विकास र सम्पूर्ण कर्मचारीको वृत्तिविकासमा कुनै कसर छोड्ने छैन भन्छन् उनी । अस्पतालको दरबन्दी पुनरावलोकन भैरहेको छ भने दरबन्दी निर्धारण पश्चात समय पुगेका योग्य व्यक्तिहरुको योग्यता र मूूल्यांकन अनुसार पदोन्नती हुने छ भन्छन् उनी । रिक्त दरबन्दीहरु यथाशीघ्र पूर्ति गरिने र राम्रो गर्नेलाई प्रोत्साहन र नराम्रो गर्नेलाई दुरुत्साहन गर्नु पनि व्यबस्थापन अन्तर्गतनै पर्दछ भन्नेकुरा समेत अध्यक्ष पन्तले थप्दै भने । हालसालै नियमानुसार करारमा व्यबस्थापन सल्लाहकार पनि नियुक्त गरेको,ं जसबाट निकट भविष्यमै सकारात्मक नतिजा आउने अपेक्षा गरिएको छ ।
व्यवस्थापन सल्लाहकारको रुपमा कार्यरत नेपाली सेनाबाट अवकाश प्राप्त कर्नेल दीर्घबहादुर चन्दले जानकारी गराए अनुसार विगत चार महिनादेखि यस संस्थामा सेवारत छन् । देशविदेशमा सेवा गर्ने मौका पाएको अनेकौं व्यक्तिहरुसंग व्यवहार गर्ने अवसर पनि पाएको छ । गेटा आँखा अस्पतालका कर्मचारीहरुमा संस्थाले प्रगति गर्नुपर्छ र यो संस्था हाम्रो हो भन्ने भावना प्रचुर मात्रामा पाएको छ । कर्मचारी सहकर्मीहरुलगायत व्यवस्थापन समितिमा रहेका पदाधिकरिहरुको सकारात्मक सल्लाह, सुझाव र मर्गनिर्देशन अनुसार चलेको हुनाले नै सकारात्मक प्रतिक्रियाहरु पाएको छ । हाल सबै सहकर्मी साथीहरु समयमै कार्यस्थलमा पुग्ने, तोकिएको पोशाक लगाउने, अस्पताल प्रशासनले जारी गरेको परिचयपत्र बोक्ने गरेका छन्, जुन एकदमै सकारात्मक कुरा हो । हरेक संघसंस्थामा तीन किसिमका व्यक्तिहरु हुन्छन्, पहिलो किसिम हो धेरै राम्रा सक्षम र सकारात्मक धारणा राख्ने, दोश्रो किसिम हो तोकिएको काम गर्ने तर आफ्नो कुनै धारणा नभएको र तेश्रो किसिम हो सक्षम हुँदाहुदै पनि कुनै व्यक्तिगत पूर्वाग्रहको कारण संस्थाप्रति नकारात्मक धारणा राख्ने र विस्तारै आफ्नो क्षमता गुमाउँदै जाने । तसर्थ सकारात्मकताको वर्चस्व स्थापित गर्नु नै हरेक संस्थाको चुनौती रहेको हुन्छ । संस्थाको व्यवस्थापन तहमा रहेका व्यक्तिहरुले सबैको भावनाको कदर गर्दै उचित समयमा उचित निर्णय गर्नु नै संस्थाको उत्तरोत्तर प्रगतिको प्रस्थान विन्दु हो । हरेक जीवन्त संस्थामा केही नकारात्मक तत्वहरुले संस्थाको कुभलो गर्ने कुचेष्टा पनि गर्छन् तर हामी संस्थाप्रति दत्तचित्तले समर्पित भएर लागेको छं र यसले निश्चित रुपमा सकारात्मक संदेश दिनेछ भन्नेमा पनि ढुक्क छ ।
सुरक्षाको लागि तैनाथ सुरक्षाकर्मीले प्रवेशद्वारमा नै विरामीहरुलाई आफ्नो पालोमा उपचार सहजहोस् भनी टोकन लैजान अनुरोध गर्छन् । नाम दर्ता गर्ने स्थानमा विरामीले आफ्नो टोकन नम्बर बोलाएको कुर्नुपर्छ र नाम दर्ता पश्चात क्रमशः आँखा परीक्षणको क्रम शुरु हुन्छ । अन्तर्गतका आँखा अस्पताल र उपचार केन्द्रबाट आएका विरामीहरुलाई सिधै विशेषज्ञ क्लिनिकमा पठाइन्छ भने अन्य विरामीहरुले समस्या अनुसारको उपचारको लागि सम्बन्धित क्लिनिकहरुमा उपचार सेवा लिने गरेका छन् । बहिरंग विभागमा रेफ्र्याक्सन, ओ. पी. डी. क्लिनिक, जलविन्दु क्लिनिक, रेटिना क्लिनिक, कर्निया क्लिनिक, अकुलोप्लास्टी क्लिनिक, वाल क्लिनिक, विशेष (पेयिंग) क्लिनिक, वायोमेट्रि तथा माइनर अपरेसन जस्ता सेवाहरु प्रदान गरिन्छ । विरामीको समस्या अनुसारको उपचारको लागि लाग्ने सामान्य शुल्क तिरेपछि अपरेसन गर्नुपर्ने भए वार्ड तथा शल्यक्रिया कक्षतिर पठाउने गरिएको छ । गेटा आँखा अस्पतालको शल्यक्रिया कक्षमा दैनिक १२० को हाराहारीमा मोतिविन्दुलगायत आँखा सम्बन्धि अन्य शल्यक्रिया हुने गरेको छ । यहाँ आँखा सम्बन्धि आवश्यक परीक्षणको लागि सुविधासम्पन्न प्रयोगशाला पनि रहेको छ । गेटा आँखा अस्पताल तथा अन्तर्गतका अस्पताल र उपचार केन्द्रहरुमा आवश्यक उपचार सामग्री र चस्मा आपूर्ति गर्ने स्टोर, चस्मा बनाउने वर्कसप, चस्मा वितरण कक्ष, औषधि वितरण कक्ष जस्ता सबै सेवाहरुसमेत उपलब्ध छन् । ४०० शैय्याको वार्ड सेवा, १५ वटा सुविधा सम्पन्न क्याबिन, धर्मशाला र निःशुल्क धर्मशालाहरु पनि विरामीहरुले आ–आफ्नो सुविधा अनुसार प्रयोग गर्ने गरेका छन् । यस अस्पतालमा रहेका धर्मशालाहरुमा भारतीय विरामी र कुरुवाहरु निःशूल्क रुपमा बस्ने, आफै खाना पकाएर खाने व्यवस्था गरिएको छ जसको उपचार गराउन आउने भारतीय नागरिकहरुले मुक्त कण्ठले प्रसंसा गर्ने गरेका छन् ।
अस्पतालबाट निस्कने फोहर व्यवस्थापन समूहले दत्तचित्त भएर सरसफाई र फोहोर व्यवस्थापन सेवा प्रदान गर्ने गरेका छन् भने मर्मत सम्भार समूहले सानातिना मर्मत सम्भारदेखि महंगा उपकरण मर्मत गर्ने गरेका छन् । अस्पताल परिसरमा विरामीलगायत सबै आगन्तुक र कर्मचारीको लागि क्यान्टिनको व्यवस्था रहेको छ । अस्पतालका विशेषज्ञ चिकित्सकलगायत जरूरी सेवा संचालन गर्नका लागि आवश्यक न्युनतम जनशक्तिको आवासको लागि कर्मचारी आवास उपलब्ध छ भने अन्य कर्मचारिको लागि यातायात खर्चसहित आकर्षक मासिक तलब, थप काम गरे वापत ओभर टाईम सुविधा, भ्रमण भत्ता, दशैं खर्च, नियमानुसार विदा सुविधा, बिमा सुविधा, वाहन खरिद सुविधालगायत अन्य प्रोत्साहन भत्ताहरु पनि उपलब्ध छन् भन्नेकुरा गेटा आँखा अस्पतालका लेखा अधिकृत मानबहादुर चौधरी बताउँछन् ।
नेपाल नेत्रज्योति संघका केन्द्रीय अध्यक्ष प्राध्यापक डाक्टर चेतराज पन्तका अनुसार चार दशक भन्दा बढी समयबाट निरन्तर आँखा स्वास्थ्य सेवामा संलग्न भएर सफलताको उचाइमा पुग्नु, स्वदेशलगायत भन्दा विशाल र विकशित दक्षिण छिमेकी मुलुक भारतबाट झन्डै ५० प्रतिशत विरामी गेटा आँखा अस्पतालमा उपचारको लागि आउने र निरन्तर विकासतर्फ लम्किनु कुनै एक व्यक्तिको प्रयास भन्दा पनि यस अस्पतालमा खटिएका सबै कर्मचारीहरुको अनुशासन, समर्पण, सेवाभाव र पेशागत दक्षताले नै सम्भव भएको हो । नेपाल नेत्रज्योति संघको सबल नेतृत्व, सुदृढ व्यवस्थापन र पवित्र उद्धेश्यको बलियो जगले यस अस्पताललाई आगामी दिनमा अझै वृहद, विकसित र सफल बनाउने कुरा निश्चित छ ।

फाेटाेमा हेर्नुहाेस्...

सुदुरपश्चिम प्रदेशको धरोहर गेटा आँखा अस्पताल ःः पेशागत दक्षता, सामूहिक भावना र अनुशासनको उत्कृष्ट नमूना

Comments