पाठक पत्र ः भक्तपुर नगरपालिका वडा नं १० मा के भएको हो यो ?
फाल्गुन १६, २०७९, मङ्गलबार | विहान ०४:०० बजे | 55
भक्तपुर नगरपालिका पारदर्शी नगरपालिका हो भने ट्रान्सपारेन्सी नेपाल अथवा पारदर्शी नेपालमा हस्ताक्षर गर्ने पहिलो नगरपालिका भनिन्छ । त्यसैले यस नगरपालिकामा धुस चल्दैन बरु काम ढिलो हुन्छ । तर पैसा लिएर काम गर्दैन । त्यसैले जनगुनासो के छ भने पैसा पनि लिदैँन् काम पनि गर्दैन भनेर उखान जस्तै चल्न थाल्यो । काम ढिलो गर्नु पनि भ्रष्ट आचरणभित्र पर्दछ भनेर भन्नेहरु धेरै छन् । यस्तो जनगुनासो नक्सा शाखाको मात्र सुनेको थिएँ । तर एक दिन म कमलबिनायकमा चिया खान पुग्दा १० वडा कार्यालयकाका कर्मचारीहरुको गुनासो सुनियो । गुनासो सानो जस्तो देखिन्छ तर एकचोटि चोर्ने बानी भएपछि पटकपटक चोर्न मनले घचघच्याइरहने हुन्छ जसरी पिडालु खाने सुगुर जस्तै । त्यसैले नराम्रो काम भनेको सानो ठूलो भएपनि नराम्रो नै हुन्छ अथवा मुला चोर पनि चोर घोडा चोर पनि चोर । चिया पसलमा सुनेको कुरा हो विनायक हस्पितालिटि प्रा.लि. दर्ताको लागि वडा कार्यालयमा कम्युटर अपरेटरलाई नियमानुसार पैसा दिएर दर्ता प्रमाणपत्र लिएर आएँ तर उक्त दिन सचिव विदा भनेर रसिद दिएन । अर्को दिन पनि विदामा नै रहेकोले रसिद लिन पाएन । पछि नगरपालिकाको गाडीलाई धुलो राख्न जाँदा सफाई शुल्क तिर्नुपर्ने बताउनुभयो । त्यसको निम्ति सफाई शुल्क तिर्न जाँदा पसल दर्ता भएको कम्युटरले देखाएन र पसल दर्ता नभएको बताउनुभयो । त्यसको अर्थ रसिद नकाटेको देखियो । तर अहिले आएर कम्युटर अपरेटरले सचिवलाई दिइसक्यो भने तर सचिवले लिएको छैन भनि रसिद नकाट्ने । तर पटक पटक जाँदासमेत रसिद दिएन । भोलि आउनु भनेर पटकपटक भनेर सेवाग्राहीलाई फर्काएर दुख दिएको भनेर गुनासो गरिरहेको सुनियो ।
यो त रसिद खोजेपछि मात्र कुरा बाहिर आएको देखियो । किनकी यो कम्पनीमा दर्ता भएकोले कम्पनीलाई रसिद अति आवश्यक हुन्छ । तर व्यक्ति पसल वा व्यवसाय दर्ता गर्नेहरुले पनि त्यसरी नै पैसा दिएर गएकाहरुको रसिद नकाटेको जसको निम्ति रसिद आवश्यक छैन त्यस्ताहरुको त्यति कै पचाउने गरेको पनि सुनियो भनेर गुनासो गरिरहेको सुनियो । त्यसैले भक्तपुर नगरपालिकाका एकदुई जना कर्मचारीहरुले गर्दा नगरपालिकाको बदनाम हुन सक्ने भएकोले त्यस्ता कर्मचारीहरुलाई स्पष्टिकरण सोध्ने वा त्यस्ता भ्रष्ट आचरणतर्फ उन्मुख हुने कार्य नगर्न समयमा चेतावनी दिएन भने पिडालु खाने सुगुर जस्तै भएर जाने हो कि भने भने चिन्ता लागेकोले यो पाठक पत्र लेख्दै छु । समयमा नै सुधार्नु बुद्धिमानी हुनेछ ।
मनोज दुलाल
चानपा लान्चाफल्चा १०