किन मलाई एक लाख घुस खुवाउन आएको हो ?
फाल्गुन १०, २०७९, बुधबार | विहान ०४:४९ बजे | 0
एकदिन म वडा कार्यालयको समय सकिएपछि घर आएँ । घरमा छोरा आफ्नो गृहकार्य गर्न लाग्दै थियो । आजकल छोरा आफ्नो गृहकार्य आफै गर्ने गर्दछ । छोरालाई गृहकार्य गर्न नआएपछि मलाई वा श्रीमतीसँग सोध्ने गर्दछ । श्रीमती पनि आफ्नो ड्यूटी सकाएर घर आइपुगिन् ।
श्रीमतीले स्कूलमा भएको एउटा कुरा गरौँ कि भनी प्रस्ताव राख्नुभयो । मैले श्रीमतीलाई भनेँ, “भन्नु न के भयो स्कूलमा ? बच्चाहरू दुर्घटनामा परे कि ?” श्रीमतीले जवाफमा भन्नुभयो, “दुर्घटनाको कुरा होइन । तपाईँको वडा कार्यालयको एउटा कुरा छ । मैले त्यो कुरा ल्याउनेलाई गाली गरिसकेँ । तपार्इँले थाहा पाउनुभयो भने झन् गाली गर्नुहुन्छ ।” श्रीमतीको कुराले मनमा कौतुहलता भयो । श्रीमतीको जागिर स्कूलमा थियो । तर, पनि श्रीमती त्यत्ति स्कूलको कुरा गर्दैनथी । तर, स्कूलको कुरा राख्दा म अचम्म भएँ ।
श्रीमतीले प्रत्युत्तरमा भन्नुभयो, “स्कूलको एक जना मिसले एक लाख घुस दिने कुरा गरेकी छिन् । तपाईँले घुस लिनु हुन्न रे ! त्यही भएर मलाई एक लाख घुस दिने भनिएको छ । तपाईँले एकजना दुवाल भन्ने हाम्रै टोलको व्यक्तिको सिफारिस रोक्नुभएको छ रे ! त्यही सिफारिस दिनको लागि एक लाख पैसा मलाई दिएबापत तपाईँलाई त्यो नामसारीको सिफारिस दिनुपर्ने सर्त राखेको रे । खासमा त्यो व्यक्तिको सिफारिस तपाईँले किन रोक्नुभएको हो ? अनि किन मलाई एक लाख घुस खुवाउन आएको हो ? सायद मिसको घर त्यो व्यक्तिको घरनिर भएर मलाई पठाएको होला । नचाहिने काम ग¥यो होला त्यहीँ भएर सिफारिस रोकेको होला । मलाई पैसा आवश्यक छैन । बरु कानुन र व्यवहारिकरूपले मिल्ने भए म पैसा नलिकन नै सिफारिस दिनुहोला भनी श्रीमान्लाई भनिदिउँला । त्यसरी घुस खुवाई काम गराउनु आवश्यक छैन । जायज हो भने वडा कार्यालयमा सजिलै काम हुन्छ ।”
मैले श्रीमतीलाई भनँे, “त्यो मान्छेले एकजना हाम्रै टोलको मानिसलाई एउटा लेनदेन कागजमा हस्ताक्षर गराएको छ । समय समयमा अलिअलि रक्सी खुवाउने अनि अलिअलि पैसा दिने गर्दागर्दै दसौँ लाख ऋण लिएको भनी कागज गराएको रहेछ । अनि त्यहीँ कागजको आधारमा मुद्दा हालेर उसको घर नै नामसारी गरिलिएको रहेछ । गलत तरिकाबाट झुक्याई रक्सीमात्र खुवाएर अर्काको घर पास गरी लिएकोले त्यही घरको नामसारीको लागि सिफारिस रोक्का राखेको हुँ । वडावासी सबै मिलेर आई रोक्का राख्नुपर्छ भनी निवेदन दिइएको छ । त्यही भएर वडा समितिले रोक्का राख्ने निर्णय गरेको हो । सिफारिस दिन मिल्दैन । नामसारीको लागि निवेदक आफै वडामा आउनुप¥यो नि ! गलत काम गरी घर जग्गा लिएकोले निवेदक वडामा आउन गा¥हो मानेको हुनुपर्दछ । नामसारी गर्न सरजमिनको लागि पठाउँदा टोलवासी सबैले निवेदकलाई समातेर पुलिसलाई बुझाउन खोजेका थिए । निवेदक भागेपछि लेखनदास सरजमिनको लागि घरसम्म अनुरोध गर्न आउनुभएको थियो । फेरि अर्को दिन सरजमिन गराउन खोज्दा वडावासीले वडामा रोक्का राख्नको लागि निवेदन ल्याएका थिए । त्यसकारण वडावासी र निर्वाचित समितिमा छलफल नगरी सिफारिस कुनै पनि हालतमा दिन मिल्दैन ।”
मेरो कुरा सुनेर श्रीमती पनि रिसाइन् । श्रीमतीले भनिन्, “त्यस्तो कैफियत भएको सिफारिस होला भन्ने त मैले अनुमान गरेको थिएँ । पैसा आउने भएपछि लेखनदासले जे पनि गर्न खोज्ने रहेछ । कस्तो समाज होला ¤ पैसा नै सबथोक हो र ? जनताले त्यत्रो मत दिएर जिताएको न्यायोचित काम गर्न हो । यस्ता मानिसलाई सामाजिक बहिष्कार गर्नुपर्दछ । अनि बेइज्जत गर्नुपर्दछ । यस्ता मानिसले समाजलाई बिगार्छ ।”
मैले फेरि श्रीमतीलाई भनेँ, “त्यो मान्छेको श्रीमतीले फिल्डमा सरजमिन गर्न टोलवासीले रोकेपछि वडामा आएर वडामै सरजमिन गरी सिफारिस दिनु भनेको थियो । तर, मैले वडा कार्यालयमा बसेर सरजमिन कुनै हालतमा नहुने बताएको थिएँ । सरजमिन भनेको फिल्डमा गर्ने हो । स्थानीय जनताको विचार बुझ्ने हो । तर, त्यस आइमाईले धेरैपल्ट वडामै सरजमिन गरी सिफारिस मागिन् । मैले गाली गरी पठाएपछि उनी वडामा नआएका हुन् । उनले त सिफारिस दिनको लागि वडाध्यक्षकी श्रीमतीलाई एक लाख घुस खुवाउने कुरा ल्याएछिन् । नेमकिपाका जनप्रतिनिधिले इमानदारितासाथ काम गर्दछ भन्ने त्यस आइमाईलाई बोध नै भएन ।”
श्रीमतीले भनिन्, “समाजमा सबै मानिस कहाँ राम्रा हुन्छन् र ! नराम्रा पनि हुन्छन् । त्यो आइमाईको के कुरा गर्ने । त्यस्ता आइमाईदेखि सबै सचेत हुनुपर्छ ।”