पाठक पत्र ः भक्तपुर नगरपालिकामा यो गल्ती कहिलेसम्म ?
माघ २१, २०७९, शनिबार | विहान १०:३४ बजे | 0
भक्तपुर नगरपालिका मात्र एउटा यस्तो संस्था हो, जसको आफ्नै कलेज, अस्पताल र ६ वटा खेलकुदको प्रशिक्षक राखी प्रशिक्षण दिइरहेको छ । जसले गर्दा स्थानीय सरकार संचालन भक्तपुरबाट सिक्न राजनीनिक दलहरुमा चर्चासंगै अहिलेका प्रधानमन्त्री प्रचण्डलेसमेत उसको पार्टीका स्थानीय तहमा जितेकाहरुलाई प्रशिक्षण दिंदा भक्तपुरको नामै लिएर यसरी काम गर्नुपर्ने बोलेको सामाजिक सञ्जालमा भाइरल भएको थियो । तर भाइरल भएपछि धेरैको आँखा पनि लाग्ने गर्छ र रेशारेशा केलाएर भित्री गुडीसम्म पुगेर अध्ययन अनुसंधान गर्ने गरिन्छ । कहाँनिर वेथिति छन्, त्यसैमा हानेर उचाइमा पुगेकोलाई भूईंमा पछार्ने कार्य गर्न उन्मात हुने समूहहरु पनि रहने गर्दछ । त्यसैले नेवारीमा एउटा उखान छ “पल्ला तय्ता फू फू योङ ती” अर्थात पाइला पाइलामा विचार पु¥याएर अगाडि बढ्नुपर्छ ।
म भक्तपुर नगरबासी भएकोले कसैले भक्तपुरप्रति औंला ठड्याउने ठाउँ नहोस भन्ने चाहनाले यो पाठक पत्र लेख्दै छु । विषय थियो खेलकुदतिरको । भक्तपुर जिल्लामा राष्ट्रिय खेलकुद परिषदबाट खटाएका प्रशिक्षकहरुले धेरैले प्रशिक्षण विना तीन महिनाको एकै चोटी हाजिर गरेर तलब खाने गरेकोमा धेरै विरोध भक्तपुरमा हुन्छ । त्यसैले जिल्ला खेलकुद विकास समितिमा आउनेहरुलाई पहिलो दबाब नै प्रशिक्षकका हाजिर प्रमाणितमा पर्छ र शासक दलका प्रतिनिधिहरु आउने भएकोले खासै परिवर्तन हुँदैन । “उहीं नाम्लो उहीं कुम्लो” अर्थात “जुन जोगी आए पनि कानै चिरेको” । त्यसैले त्यसमा नियन्त्रण हुँदैन र गर्न पनि सक्दैन । “काले काले मिलेर खाउँ भाले भइनै रहन्छ ।” सुधार हुने नामै लिदैंन । तर भक्तmपुर नगरपालिकाको प्रशिक्षणको हविगत पनि त्यसरी नै दोहोरिन थालेको छ । भक्तपुर नगरपालिकाले छ वटा खेलकुद प्रशिक्षण दिएकोमा बक्सिङ पनि एउटा हो तर बक्सिङका प्रशिक्षक कृष्णसुन्दर प्रजापति विगत चार महिना एक दिन प्रशिक्षण कर्वड हलमा आयो तर प्रशिक्षण चाहीं गराएको छैन् । यो सबैलाई जगजाहेर भएको छ र प्रशिक्षार्थीहरु पनि कराएको छ । तर नगरपालिकामा चाहीं प्रशिक्षक कृष्णसुन्दर प्रजापतिले हाजिर गरी तलब खाइरहेको देखियो । के साँचै राष्ट्रिय खेलकुद परिषदको रोग नगरपालिकामा सर्न लागेको हो । बिना प्रशिक्षण, विना हाजिर, तलब खाने के न्यायचित देखिन्छ ? अयोग्य र अशक्त भए योग्य र शसक्त प्रशिक्षकको नियुक्ति गर्नुपर्छ कि पर्दैन ? ्अथवा नगर खेलकुद समितिलाई क्रियाशील बनाएर त्यस्तौ खेलकुद प्रशिक्षण हलमा के भइरहेको छ । अनुगमन गराउनुपर्छ कि पर्दैन ? अर्थात बक्सिङ प्रशिक्षण समिति बनाएर प्रशिक्षार्थीहरुलाई अनुशासनलगायतको प्रशिक्षणको लागि आवश्यक छ कि छैन ? यसतर्फ ध्यान जाला कि ? भोलि भक्तपुर नगरपालिका एउटा चोखो भनिरहेको अवस्थामा भोलि कसैले औंला नठड्याओस् ।
अन्जान श्रेष्ठ
भनपा १०