भक्तपुरको महेश्वरी बैंक्वेटमा तीनदिने पुस्तक प्रदर्शनी सुरु
माघ ५, २०७९, बिहीबार | दिउँसो ०२:२६ बजे | 50
भक्तपुर । भक्तपुरको महेश्वरी बैंक्वेटमा विहीबारदेखि तीनदिने स्टुडेन्टस् बुक फेयरको सुरु भएको छ । बुक क्लब भक्तपुरको आयोजनामा भएको प्रदर्शनीका लागि इको प्यानल नेपाललगायतका संघसंस्थाहरुले सहयोग गरेका छन् ।
पुस्तक मेलामा २० भन्दा बढी पुस्तक प्रकाशक तथा वितरण संस्थाको सहभागिता रहेको जनाइएको छ । मुख्यतः विद्यालय र कलेजस्तरका बालबालिका र किशोरकिशोरीबीच पुस्तक पढ्ने संस्कृति प्रबद्र्धन गर्ने लक्ष्य सहित प्रदर्शनी आयोजना गरिएको जनाइएको छ ।
बुक फेयरमा स्कुल उमेर समूहका लागि उपयुक्त पाठ्य सामग्री सहुलियत दरमा बिक्री वितरण हुने बताइएको छ । पुस्तक मेलाको क्रममा विभिन्न कार्यक्रम पनि हुने जनाइएको छ । मेलाको उदघाटन पाँंच जना पञ्चकन्याहरुले संयुक्त रुपमा गरेका थिए ।
प्रदर्शनीको पहिलो दिन रंगकर्मी सुनिल पोखरेल, शिक्षक योगेन्द्रमान बिजुक्छें र साहित्यकार बिना थिङले नयाँ पुस्ताबीच पठन संस्कृतिको प्रबद्र्धनबारे प्रवचन दिएका थिए । माघ ७ गते पोषणविज्ञ डा. अरुणा उप्रेतीले किशोरकिशोरीको स्वास्थ्य र पोषणबारे व्याख्यान दिने बताइएको छ । सो क्रममा किशोरकिशोरीबीच पुस्तक अध्ययनबारे अन्तरक्रिया, कथा र कविता वाचन तथा सांगीतिक कार्यक्रम हुने जनाइएको छ । त्यस्तै प्रदर्शनमा भक्तपुरको मौलिक खानाका परिकार समेत पाइनेछ । मेलामा चलचित्र प्रदर्शनी, मृतिका कला, कला कार्यशाला, लिपि कार्यशाला, कार्टुन कार्यशाला आदि कार्यक्रम पनि भएको आयोजकले जनाएको छ । मेलामा प्रवेश निःशुल्क छ ।
नयाँ पुस्ताबीच पठन संस्कृतिको प्रबद्र्धन गर्ने असल उद्देश्यका साथ कार्यक्रम भएकोले सामाजिक उतरदायित्व अन्तर्गत आफूहरुले सहयोग गरेको इको प्यानल नेपालका जनरल म्यानेजर विक्रम गोसाईले बताए । इको प्यानल नेपाल अस्थायी तथा स्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने निर्माण सामाग्री हो ।