आधारभूत विद्यालय समितिद्वारा माओ र स्तालिनको सम्झना
पुष १८, २०७९, सोमबार | दिउँसो ०३:०८ बजे | 30
भक्तपुर, १८ पुस। नेपाल क्रान्तिकारी शिक्षक संघ आधारभूत विद्यालय समितिको आयोजनामा विश्व सर्वहारा वर्गका महान विचारक स्तालिनको १४४आैं र माओत्से तुङको १२९ आैं जन्म दिवसको अवसरमा नवीन आधारभूत विद्यालयमा शिक्षक भेला तथा प्रवचन सम्पन्न भयो । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा भनपा ७ का वडा अध्यक्ष उकेश कवांले सर्वहारा वर्गका नेताहरूको जीवनी अध्ययनबाट अनुशासित भई नेतृत्वदायी भूमिका निर्वाह गर्न सकिने बताउँदै आफ्नो देशको रक्षाका लागि देशका शासकसँग भन्दा बाह्य हस्तक्षेपको विरुद्ध लड्नुपर्ने प्रेरणा स्तालिन र माओत्सेतुङबाट पाउने बताउनुभयो । उहाँले विचार र सिद्धान्तबाट मात्रै उपयुक्त नयाँ नेतृत्व जन्मिने बताउँदै कम्युनिस्ट देशमा भएको प्रगतिको नक्कल गर्दै पुँजीवादी देशहरूले पुँजीवादी व्यवस्था मै कम्युनिस्ट विचारलाई अंगालिरहेको बताउनुभयो । देशको परिवर्तनको लागि विद्यार्थीलाई दक्ष बनाउनु आजको आवश्यकता हो भन्दै उहाँले स्तालिन र माओत्से तुङका विचारहरू नयाँ पुस्तामा हस्तान्तरण गर्न शिक्षकहरू अध्ययनशील हुनुपर्ने बताउनुभयो । कार्यक्रममा सभापति तथा आधारभूत विद्यालय समितिका अध्यक्ष दीपक माकले आफ्नो पेशालाई देश र समाजको सेवा र परिवर्तनबाट नै देशप्रतिको माया देखाउने बताउँदै भूगोल, इतिहास र अर्थशास्त्र विषय प्रति अध्ययनशील हुनुपर्ने बताउनुभयो । नवीन आधारभूत विद्यालयका प्रअ प्रकाश गोसाइँले स्वागत गर्दै किताबमा सीमित ज्ञानले विद्यार्थीमा समाज परिवर्तनको लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय ज्ञान हासिल गर्न नसक्ने तथा परिश्रमी, मेहनती सहित देशभक्ति र स्वाधीनताको भावना विद्यार्थीमा जागृत गर्नुपर्ने भन्नुभयो ।