सुकुम्बासी समस्या समाधान गर्न सकिन्छ


मंसिर १७, २०७९, शनिबार | दिउँसो ०३:११ बजे | 60


सुकुम्बासी समस्या समाधान गर्न सकिन्छ

अनन्तराज बज्राचार्य 
सबै सुकुम्बासी गरिब होइनन्, सबै गरिब सुकुम्बासी होइनन् । सुकुम्बासी बस्तिमा बसेर समय अन्तरालमा घरजग्गा जोडिसकेका परिवारलाई अब सुकुम्बासी मान्ने कि नमान्ने भन्ने नै मुल मुद्दा बनेको छ । 
नेपाल राजपत्रमा उल्लेख भए अनुसार पनि “भूमिहीन सुकुम्बासी“ भन्नाले राज्यभित्र आफ्नो वा आफ्नो परिवारको स्वामित्वमा जग्गा जमिन नभएको र आफ्नो वा आफ्नो परिवारको आय आर्जन, श्रोत वा प्रयासबाट जग्गाको प्रवन्ध गर्न असमर्थ ब्यक्ति सम्झनु पर्दछ र यो शब्दले निजप्रति आस्रित परिवारका सदस्यलाई समेत जनाउँछ भनिएको छ । यसर्थ पनि पहिलेदेखि जग्गाजमिन भएका अवसरका लागि सहर पसेर सुकुम्बासी बस्तिमा बसेका परिवारलाई त पक्कै सुकुम्बासीको सूचीमा नसमेट्नु पर्ने हो ।
सुकुम्बासीका मुद्दाहरु गहण रुपमा उठिरहेको अहिलेको अवस्थामा अनेकन तर्क बितर्कहरु हुन थालेका छन् । जस्तैः उनीहरु सुरुमा बस्न आउंदा नै सरकारले किन बस्न दिएका ? अहिले यति धेरै वर्षपछि उनीहरुले धेरै लगानी गरिसके, त्यसको भर्पाईं कसले दिने? आदि इत्यादी । यस्ता तर्क कुतर्कहरु सुन्दा र हेर्दा भोलि आएर चोर, डाँका, फटाहाहरुले संगठित भएर ’हामीलाई पहिले नै चोर्न, डकैटी गर्न सरकारले किन रोकेन?’ भन्ने कुतर्क नगर्ला भन्न सकिन्न ।
माने कि बाबू–आमा, बाजे–बज्यैको केही थिएन । सुकुम्बासीको रुपमा सहरमा आए । अब त तिनका छोरा–छोरी, नाति–नातिनाले सहरमै लाखौं करोडौंको घरजग्गा जोडिसकेका उदाहरण धेरै छन् । कतिपय सुकुम्बासी बस्तिमा हुर्किएका युवाहरुले आफ्नो मेहनत गरि काठमाडौंमा नै जग्गा किनेर घर ठड्याइसकेका छन् र सहज जीवन यापन गरिरहेका उदाहरण पनि प्रशस्तै छन् । कतिपयको काठमाडौं बाहिर आफ्नो गाउँमा घर जग्गा छ र अहिले आफ्नो कमाईले त्यता पनि नयाँ घर बनाएका छन् । तर बिडम्बना भन्नू पर्छ तीमध्ये धेरैले आफुले ओगटेको सरकारी जमिन छोडेका छैनन्, भाडामा लगाएर कमाई गरिरहेका छ्न् । आफ्नो घरजग्गा भैसकेपछी सरकारी जग्गा छोड्नु पर्छ भनेर किन नजानेका? यसरी आफ्नो घरजग्गा भैसकेपछि पनि सरकारी जग्गा अतिक्रमण गरेर बस्नु दरिद्र मानसिकता नै हो । सुकुम्बासी समुदाय भित्र बस्ने अधिकांश मानिसहरुमा हाबी यही दरिद्र मानसिकता र राजनितिक स्वार्थले सुकुम्बासी समस्यालाई जटिल बनाइदिएको छ ।
सुकुम्बासी समुदायभित्रै बसेर आर्थिक रुपमा सम्पन्न भइ घरजग्गा जोडिसकेका परिवारका अहिलेका शिक्षित पुस्ताले आफ्नो मनको लोभ लालच त्यागेर आफू आर्थिक रुपमा सबल नभएको अवस्थामा आफ्नो परिवारले प्रयोग गरिरहेको सरकारी जग्गा औपचारिक रुपमा नै सरकारलाई बुझाएर आफ्नो परिवारलाई सुरक्षित स्थानमा ब्यवस्थापन गर्ने उदार मन नगरेसम्म सुकुम्बासी समस्या हल नहुने पक्का छ । अर्कोतर्फ राज्यले पनि सुकुम्बासी ब्यवस्थापनको नाममा सरकारैपिच्छे नयाँ आयोग गठन गरेर राजनितिक भर्ती केन्द्र बनाउन छोडेर सरोकारवालाहरुको सहभागितामा कुनै राजनितिक दलको पक्ष वा विपक्षमा नलागेर वास्तविक सुकुम्बासीको पहिचान गरि उनीहरुको उचित ब्यवस्थापन गर्न हतारो भैसकेको छ । सरकार, राजनितिक दल र वास्तविक सुकुम्बासी परिवारहरुमा दरिलो इच्छाशक्ति भएमा यो जटिल सुकुम्बासी समस्या समाधान गर्न नसकिने मुद्दा होइन । 

Comments