सकियो अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य शिविर तथा प्रतिभा प्रस्तुतीकरण कार्यक्रम
मंसिर १७, २०७९, शनिबार | विहान १०:१८ बजे | 30
भक्तपुर । ३१ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको उपलक्ष्यमा ख्वप कलेजस्थित देकोचामा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य शिविर तथा प्रतिभा प्रस्तुतीकरण कार्यक्रम शनिबार ख्वप कलेज प्रांगणमा सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले व्यक्तिगत रुपमा फरक फरक क्षमता हुनेभएकोले जो व्यक्तिसँग सीप हुदैन उसले परनिर्भर भएर बाँच्नुपर्ने अवस्था रहेकोले अपाङ्गता भएका व्यक्तिले पनि सीप सिक्न आवश्यक रहेको बताउनुभयो । भक्तपुर नगरपालिकाले अपाङ्गता भएका व्यक्तिका परिवारको लागि हस्तकला सामग्री बनाउने तालिम सञ्चालन गरिएको बताउँदै उहाँले अपाङ्गता भएका व्यक्तिलाई सीप दिएर आत्मनिर्भर बनाउनेतर्फ लागेको पनि बताउनुभयो ।
कार्यक्रमका सभापति एवं अपाङ्गता समितिका संयोजक भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले संसारको कूल जनसंख्यामध्ये १५ प्रतिशत जनसंख्यालाई कुनै न कुनै रूपको अपाङ्गता रहेको तर उनीहरूको हरेक ठाउँमा समान पहुँच नभएको र उनीहरुलाई हेर्ने दृष्टिकोण अझै पनि सकारात्मक बन्न नसकेको बताउनुभयो ।
उहाँले नगरपालिकाले निर्माण गर्ने संरचनाहरुमा पनि अपाङ्गमैत्री बनाउन पहल भइरहेको जानकारी समेत दिनुभयो । उहाँले अपाङ्गता समितिले हालसम्म सम्पन्न गरेका विविध गतिविधिहरुको संक्षिप्त जानकारी समेत प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा अतिथि भक्तपुर नगरपालिका ९ नं वडा अध्यक्ष रविन्द्र ज्याख्वले जन्मजात, रोग तथा विविध दुर्घटनाको कारणले अपाङ्ग हुन सक्ने भएकोले बढी सतर्क रहनुपर्ने कुरामा जोड दिनुभयो । साथै उहाँले नियमित रुपमा आ आफ्नो स्वास्थ्यको परीक्षण गर्नुपर्ने समेत आग्रह गर्नुभयो ।
कार्यक्रममा अपाङ्गता समितिका सदस्य एवं भक्तपुर नगरपालिका १ नं वडा अध्यक्ष श्यामकृष्ण खत्रीले नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुको लागि विविध गतिविधिहरु गरिदै आएको बताउनुभयो । समितिले अपाङ्गता भएका व्यक्तिको समस्या पहिचान गरी माग अनुसार सहायक सामग्री वितरण कार्य पनि निरन्तर रुपमा गरिदैं आएको र खेलकुदलाई पनि प्राथमिकता दिनै आएको बताउनुभयो ।
ख्वप अस्पतालका चिकित्सक डा. रत्नसुन्दर लासिवाले नगरपालिकाबाट अपाङ्गता परिचयपत्र वितरण दिदैं आएको चर्चा गर्नुहुदैं समाजमा लुप्त रहेका अपाङ्ग व्यक्तिको जानकारी दिन समेत उहाँले आग्रह गर्नुभयो । भौतिक संरचना निर्माण कार्य गर्दा अपाङ्गमैत्री बनाउनुपर्ने कुरामा पनि उहाँले बताउनुभयो ।
कार्यक्रममा कार्यपालिका सदस्य रोशनमैया सुवालले पनि बोल्नुभएको थियो ।
कार्यक्रमको दोस्रो चरण अन्तर्गत प्रतिभा प्रस्तुतीकरण कार्यक्रममा अपाङ्गता क्षेत्रसँग सम्बन्धित विद्यालय तथा संघसंस्थाका विद्यार्थी भाइबहिनीहरुबाट
कविता वाचन, गायन, चित्रकला तथा नृत्य प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा सम्पूर्ण उपस्थित अपाङ्गता भएका व्यक्तिहरुलाई भक्तपुर नगरपालिकाको तर्फबाट जाडोमा लगाउने ऊलन टोपी र मफ्लर वितरणका साथै कविता वाचन, गायन, चित्रकला तथा नृत्यमा सहभागीहरु सबैलाई पदक तथा प्रशंसापत्र संयोजक तथा उप प्रमुखबाट वितरण गर्नुभएको थियो ।