सत्यराम कासिछ्वा भक्तपुर, मंसिर १० । मंसिर ४ को चुनावमा नेपाल मजदुर किसान पार्टीले चुनाव चिन्ह मादलमा मत दिने जनतालाई शनिबार विजयोत्सवको बृहत र्याली सहित धन्यवाद दिइरहेको छ । भक्तपुर नगरपालिका वडा नं. ७ पार्टी कार्यालय गोल्मढीबाट सुरु भएको धन्यवाद र्यालीमा नेमकिपाका केन्द्रिय अध्यक्ष नारायणमान बिजुक्छेले मादल चिन्हमा छाप लगाई मत दिने जनतालाई धन्यवाद दिँदै नेमकिपामा जनताको सेवा निस्वार्थ रुपले गर्ने भावना रहेको कारण भक्तपुरका जनताले पक्षपातरहित मतदान गर्दा अत्यधिक बहुमत ल्याएको बताउनुभयो । नेमकिपाको तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित प्रेम सुवालले गोल्मढी, सुकुलढोका, साकोठा, टौमढी, नासमना, सिद्धपोखरीमा उपस्थित जनतालाई सम्बोधन गर्नुहुँदै जितको लागि भोजभतेर तथा पैसा बाँडेर जनताको मत किन्ने प्रवृति भक्तपुरमा नरहेको हुँदा जनताले दिएको विश्वासको मत अनुसार देश नै संकटमा पर्ने नागरिकता विधेयक खारेज गराउन संसद र सडकमा जनतासँग बरोबर छलफल गरी संघर्ष गर्ने भन्नुभयो । संसदमा नीतिनियम तथा कार्यक्रम, विभिन्न किसिमका विधेयक तथा अन्तराष्ट्रिय सन्धी सम्झौता माथि छलफल गर्नुपर्ने बताउँदै निर्वाचित सुवालले कृषिमा आत्मनिर्भरको लागि रासायनिक मल कारखाना स्थापना, भारतीय अतिक्रमित भूभाग फिर्ता, भारतीय सेना फिर्ता तथा असमान सन्धी सम्झौता खारेज गराउन संसदमा संघर्ष जारी राख्ने बताउनुभयो । नेमकिपाको प्रतिनिधिसभा भक्तपुर क्षेत्र नं २ का उम्मेदवार अनुराधा थापामगरले भ्रष्टाचारी, चेलीबेटी बेचबिखन तथा मानव तस्कर गर्नेहरुलाई मृत्युदण्ड दिन संविधान संशोधनको लागि अझै संघर्ष गर्नुपर्ने बताउँदै मादल चिन्हमा मत दिने जनतालाई धन्यवादसहित सम्बोधन गर्नुभयो । बागमती प्रदेशसभामा निर्वाचित नेमकिपाका सुरेन्द्रराज गोसाईले जनताको भावना अनुरुप निस्वार्थठ रुपले देश र प्रदेशको लागि आवश्यक नीति निर्माणमा मन बचन कर्मले लाग्ने बाचा व्यक्त गर्नुभयो । उक्त धन्यवाद र्यालीमा विभिन्न टोलका धिमेबाजा, बाँसुरी बाजा, गीतसंगीत तथा नाचगानको झाँकीले थप आकर्षण दिइरहेको छ । भक्तपुर क्षेत्र नं १ (क) का उम्मेदवार मीनबहादुर बाटा, प्रदेश २ (क) र (ख) का उम्मेदवारहरु क्रमश रमेश वैद्य र सरोजराज गोसाई लगायतका उम्मेदवारहरु सहभागी रहेको सो र्यालीमा दसौं हजारको जनताले सगुन र आशिष दिइरहेको छ । उक्त र्यालीले भक्तपुर नगर परिक्रमा गर्ने क्रममा दरबार स्क्वायर, चोछैँ, भोलाछेँ, महालक्ष्मी, कमलबिनायक, च्याम्हासिंह, सूर्यमढी र दत्तात्रय हुँदै पार्टी कार्यालय गोल्मढीमा सम्पन्न हुने आयोजक नेमकिपाले जनाएको छ । साथै यही मंसिर ११ र १२ गते पनि चाँगुनारायण नगरपालिकाको विभिन्न वडामा विजयोत्सवको धन्यवाद र्याली हुने जानकारी गराएको छ ।...

All Comments.......


Please Login/Register To Comments