भक्तपुरमा किन हारे महेश वस्नेत ?


मंसिर ९, २०७९, शुक्रबार | विहान ०८:४८ बजे | 65


भक्तपुरमा किन हारे महेश वस्नेत ?

भक्तपुर । २०७४ सालको आमनिर्वाचनमा भक्तपुर–२ बाट एमालेका महेश बस्नेतले निकटम प्रतिस्पर्धी भन्दा दोव्वर वढी अर्थात् ३६ हजार चार सय १२ मत ल्याएर सानदार जित हासिल गरेका थिए । कांग्रेसका दमननाथ ढुंगानाले १८ हजार ६ सय ७५ मत ल्याउँंदा वस्नेत भारी अन्तरका साथ विजयी हासिल गर्न सफल भएका थिए । तर २०७९ को निर्वाचनमा वस्नेतको मत मात्रै घटेन, बरु पराजयसमेत व्यहोर्न बाध्य भए । भक्तपुर–२ मा खसेको कुल ६५ हजार सात ७५ मतमध्ये कांग्रेसका दुर्लभ थापाले २४ हजार दुई ३९ मत ल्याउँदा बस्नेतले २३ हजार दुई ८२ मत मात्र पाए र पराजित भए । मतगणणाको प्रारम्भदेखि नै अग्रस्थान ल्याएका थापाले प्रारम्भदेखि नै लिएको अग्रता बस्नेतले चिर्न सकेनन् । 
वस्नेतले अघिल्लो निर्वाचनको तुलनामा झन्डै १३ हजार मत गुमाए । यद्यपि, २०७४ सालको निर्वाचनमा वाम गठबन्धन हुँदा बस्नेतलाई माओवादी केन्द्रको साथ थियो । यसपटक माओवादीले कांग्रेसलाई साथ दिएको थियो भने एमाले टुक्रिएर बनेको एकीकृत समाजवादीको मत पनि थापालाई नै गयो । तर, बस्नेतले गुमाएको १३ हजार मत यो क्षेत्रमा माओवादी केन्द्र र एकीकृत समाजवादीसँग थिएन । 
गएको स्थानीय तह निर्वाचनमा सूर्यविनायक नगरपालिकामा एक्लै प्रतिस्पर्धा गरेको माओवादी केन्द्रका उम्मेदवारले प्रमुखतर्फ एक हजार मत पनि पु¥याउन सकेका थिएनन् । मध्यपुर थिमि नगरपालिकामा उपप्रमुखमा कांग्रेसको सहयोगमा माओवादी विजयी भए । एकीकृत समाजवादीले भने दुवै नगरपालिकामा वडाध्यक्षतर्फ एक हजार भन्दा केही बढी मत मात्र पाएको थियो । बस्नेतले २०७४ सालमा पाएको मत किन यसपटक गुमाए ? जबकि, यो क्षेत्रलाई एमालेले नै ‘जित्न सक्ने’ सूचिमा राखेको थियो ।
महेश वस्नेतकै क्षेत्र भक्तपुर गुण्डुका पुराना पत्रकार विजय विस्फोटको विश्लेषण छ, वस्नेतका हारका धेरै कारणहरुमध्ये सार्वजनिक रुखो बोली, धाक–धम्की  र बालकोटको बलमा गर्दै आएको भ्रष्टाचार हो । यही कारण कांग्रेसका थापाको जीतमा खुशी हुनेहरु भन्दा बस्नेतको हारमा रमाउनेहरुको सन्ख्या केवल भक्तपुर मात्र नभई देशैभर देखिएको उनको विश्लेषण रहेको छ ।
२०७४ सालमामा महेश बस्नेतको प्रतिद्वन्द्वी कांग्रेसका दमननाथ ढुंगाना स्थानीय थिएनन् । काठमाडौँको बत्तिसपुतली निवासी थिए । तर यो पटकका उम्मेदबार थापा भने भक्तपुरकै स्थानीय हुन् । थापा कांग्रेस भक्तपुर जिल्ला सभापति हुन् । २०७४ मा कांग्रेसले टुरिष्ट उम्मेदबार उठाउनुले पनि महेशको भोट वढी आएको विश्लेषण एकथरीको छ । 
२०७४ सालमा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनका साझा उम्मेदवार थिए बस्नेत । एमाले पनि एक थियो । २०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्र एक भएर नेकपा बनेको थियो । तर, पार्टी एकता प्रक्रिया नटुङ्गिँदै २०७७ पुस १५ गते दुई पार्टी पूर्ववत् अवस्थामा पुगे । २०७८ भदौ ९ गते माधवकुमार नेपालको नेतृत्वमा निर्वाचन आयोगमा नेकपा एकीकृत समाजवादी दर्ता भयो । कम्युनिष्ट पार्टीहरूमा आएको फुटको प्रभाव बस्नेतको मतमा समेत परेको देखिन्छ ।
वस्नेतको वडा सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डुका स्थानीय राजनीतिक विश्लेषक अधिवक्ता यज्ञबहादुर कार्की पहिलापहिला स्थानीय निकायको निर्वाचनमा मतदाताहरुले व्यक्ति हेर्ने गरेकोमा अहिले संसदको निर्वाचनमा पनि व्यक्तित्व हेर्न थालेकोले वस्नेत पराजय भएको विश्लेषण गर्छन् । विकासको नाममा वस्नेतले गरेको पक्षपातपूर्ण व्यवहार पनि हारको कारक रहेको उनको बुझाई छ । आफनो क्षेत्र अझ गुण्डुलाई मात्रै प्राथमिकता दिनु, विकासका नाममा आफ्नो नजिकका मान्छेलाई काखा र अरूलाई पाखा गर्ने गर्नु वस्नेतको हारको कारक बनेको उनको ठम्माई छ । 
भाषण गर्दा भक्तपुरमा ६० अर्बभन्दा बढी बजेट ल्याएर विकास गरेको सुनियो, तर त्यो पैसा कहाँ गयो थाहा छैन, मध्यपुर थिमिका एकजना मतदाता भन्छन्, मध्यपुरमा त कुनै काम उनले गरेका छैनन् । एक त उनको रवैयाको कारण पनि अलोकप्रिय भए । बौद्धिक वर्गमा उनको छवि राम्रो भएन । सांसद अपहरणकारीको ट्यागदेखि उनको छुद्र बोलीलाई धेरैले मन पराएनन्, उनी भन्छिन् ।
यसका अलावा उनले दिएका विवादित काम र अभिव्यक्तिहरु वस्नेतको हारका कारकहरु रहेको स्थानीयको बुझाई छ । बस्नेतले दिएका अभिव्यक्ति र भाषणहरू पाँच वर्षमा धेरैपटक विवादित बने । त्यस्तै, कोभिड–१९ महामारीका बेला सांसद अपहरण गरेको आरोपसमेत बस्नेतलाई लागेको थियो । हनुमन्ते खोला सार्ने विषयमा विवादमा पनि बस्नेत आलोचित बने । त्यस्तै, सूर्यविनायकको जंगल मासेर काठमाडौं वल्र्ड स्कुललाई जग्गा दिएको, बाटोको लागि डाँडा काट्दा निस्केको माटो बेचेको जस्ता आरोपसमेत उनलाई लागेको थियो । काठमाडौँ महानगर प्रमुख बालेन्द्र शाहको विरुद्धमा बोलेका कारण पनि बस्नेतको छवि बिग्रिएको यहाँंका स्थानीयको बुझाई छ । यस्तै देशभरि नै ब्राण्ड बनेको भक्तपुर नगरपालिकाद्धारा सञ्चालित ख्वप कलेजको सर्टिफिकेट नक्कली भएको र त्यहाँंका शिक्षकहरु अयोग्य भएको भनी लापरबाही बोल्नुले पनि काम गरेको यहाँंका स्थानीयहरुको बुझाई छ ।
तस्वीर 
हारपछि विजयी भएका आफना प्रतिद्धन्द्धी कांग्रेसका दुलर्भ थापालाई सल्लाघारीस्थित दुलर्भ निवासमा बधाई दिदैं बस्नेत । 

Comments