मतदानको दिन हरेक केन्द्रमा नियमित अनुगमन भइरहने
मंसिर २, २०७९, शुक्रबार | दिउँसो ०२:१८ बजे | 45
भक्तपुर । भक्तपुरमा निर्वाचन तयारीको सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ । भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्लाका सम्पूर्ण मतदान केन्द्रमा निर्वाचन कर्मचारी तथा सुरक्षाकर्मी पुगिसकेको बताउँदै निर्वाचन पूर्वका सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएकी हुन् ।
त्यस्तै ८८६ जना म्यादी प्रहरीसहित २ हजार २१८ जना सुरक्षाकर्मी परिचालन भएको प्रजिअ शर्माले बताइन् । निर्वाचन कर्मचारीसँगै प्रतिमतदान केन्द्र ३ देखि ५ जनासम्म स्वयंसेवक खटिनेछन् ।
‘कर्मचारीको कारण मतदान कार्य प्रभावित नहोस् भनेर १० प्रतिशत बढी कर्मचारीलाई तालिम दिएका छौं’, उनले भनिन्, ‘मतदानका बेला तोकिएको कर्मचारी खट्न नसक्ने अवस्था आए त्यहीं जगेडा कर्मचारीबाट परिचालन गर्छौं ।’
प्रजिअ शर्माले मतदानको दिन हरेक केन्द्रमा नियमित अनुगमन भइरहने र कुनै पनि केन्द्रमा उच्छृंखल तथा निर्वाचन आचारसंहिता विपरीतका कार्य भए तत्काल सुरक्षाकर्मी परिचालन हुने व्यवस्था मिलाइएको बताइन् ।
‘अहिलेसम्म निर्वाचन आचारसंहिता उल्लंघनका गम्भीर घटना भएका छैनन् । हामी शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न तयारी अवस्थामा छौं’, उनले भनिन्, ‘मतदानको दिन पनि कुनै घटना हुन नदिनेतर्फ सतर्क छौं । त्यसैअनुसार राजनीतिक दल तथा उम्मेदवारहरुलाई समन्वय र सहकार्य गर्न आह्वान गरेका छौं ।’
भक्तपुरमा प्रतिनिधिसभातर्फ २ र प्रदेशसभातर्फ ४ वटा निर्वाचन क्षेत्र रहेका छन् । जसअन्तर्गत २२२ वटा मतदान केन्द्रमा कूल एकलाख ९४ हजार ४३९ जना मतदाताले मतदान गर्नेछन् । भक्तपुरका कूल मतदातामध्ये महिला ९९ हजार ७५१, पुरुष ९४ हजार ६८३ र अन्य पाँच जना रहेका छन् ।
प्रजिअ शर्माले कर्मचारीहरुको लागि भक्तपुरमा एउटा छुट्टै अस्थायी मतदान केन्द्र निर्धारण गरिएको जानकारी दिए । उक्त मतदान केन्द्रमा समानुपातिकतर्फको मात्रै मतदान हुनेछ ।
१० वटा अपांगमैत्री मतदान केन्द्र
भक्तपुरका कूल २२२ मतदान केन्द्रमध्ये १० वटालाई अपांगता मैत्री बनाइएको छ । जसअन्तर्गत भक्तपुर नपामा ५, सूर्यविनायकमा ३ र मध्यपुर थिमि तथा चाँगुनारायण नपामा एकएक वटा केन्द्रलाई अपांग मैत्री बनाइएको छ ।
भक्तपुर नपाका ५ मतदान केन्द्रमध्ये वडा नं ३ स्थित मेधा माध्यमिक विद्यालयमा अपांगता भएकाहरुको सुविधाको लागि र्यामसमेत बनाइएको प्रजिअ शर्माले बताइन् । उनका अनुसार मतदानको दिन बिहान ४ देखि बेलुका ७ बजेसम्म अत्यावश्यक र पास भएकाबाहेकको सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
त्यस्तै मंसिर १ गतेदेखि नै जिल्लाभित्र मदिरा तथा मादकपदार्थ बिक्री वितरणमा रोक लगाइएको उनले बताइन् ।