निर्वाचनमा उत्श्रृखल कार्य गरे तत्काल कारबाही


मंसिर २, २०७९, शुक्रबार | दिउँसो १२:४६ बजे | 25


निर्वाचनमा उत्श्रृखल कार्य गरे तत्काल कारबाही

भक्तपुर । विगतका निर्वाचनहरुमा मतदानको दिन मतदाताहरुलाई प्रभावित पार्न मतदानमा आउँंदा खानाखाजाको कुपन दिने गरेको भन्दै यस्तो गरेको भेटिए कडा कारबाही गर्ने चेतावनी दिइएको छ । जिल्ला प्रशाशन कार्यालय भक्तपुरमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले निर्वाचन आचारसंहिताविपरित गर्ने जोसुकैमाथि कडा कारबाही हुने चेतावनी दिइन् ।  
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको तयारीबारे जानकारी दिन आयोजित सम्मेलनमा शर्माले जिल्लामा सम्पूर्ण तयारी पूरा भएको पनि जनाइन् । दुई प्रतिनिधिसभा तथा चार प्रदेशसभा रहेको जिल्लामा कर्मचारी व्यवस्थापन, निर्वाचन सामग्री प्याकिङ, सवारी साधनको व्यवस्था लगायतका काम पूरा भएको उनले जनाइन् । 
निर्वाचनमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मी आवश्यक निर्वाचन सामग्रीसहित सम्बन्धित मतदानस्थल पठाइएको  शर्माले बताइन् । 
चार नगरपालिका रहेको भक्तपुरमा दुई सय २२ मतदान केन्द्रहरु छन् । निर्वाचनमा नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान कर्माचारी, नेपाल र म्यादी गरी दुई हजार भन्दा वढी  सुरक्षाकर्मी परिचालन गरिने जनाइयो । जिल्लामा एक लाख ९४ हजार चार सय ३९ जना मतदाता रहेका छन् । यीमध्ये महिलाको संख्या वढी छ । 

Comments