सांस्कृतिक प्रस्तुति सहित दत्तात्रयमा चुनावी जनसभा
मंसिर १, २०७९, बिहीबार | विहान ०५:१० बजे | 55
सत्यराम कासिछ्वा भक्तपुर भक्तपुर, कार्तिक ३०। नेपाल मजदुर किसान पार्टीको आयोजनामा भक्तपुरको दत्तात्रयमा नेमकिपाका सचिव तथा प्रतिनिधिसभा भक्तपुर क्षेत्र नं.१ का उम्मेदवार प्रेम सुुवालको प्रमुख आतिथ्यतामा चेतनामूलक सांस्कृतिक प्रस्तुति सहित चुनावी जनसभा सम्पन्न भयो । सभामा सुवालले चुनावको मुखैमा क्यान्सरको आैेषधी लगायत हार्डवेयर मेसिनरी सामानमा तस्कर बढेको भन्नुहुँदै विगतमा खाद्यान्नमा आत्मनिर्भर भएको नेपाल अहिले परनिर्भरसँगै गोर्खा भर्तीको नाउँमा विदेशीएका युवाले पठाएको रेमिट्यान्समा सरकार रमाएकाे बताउनुभयो । उहाँले भाैतिक भन्दा सांस्कृतिक विकास गर्नुपर्ने आवश्यकता केलाएर कामदारवर्ग, कृषि लगायत अन्य विकासको नीति बनाउने विषयमा जनतालाई सजग गराउनुको सट्टा देेशलाई शासक दल गुमराहमा राखेको आरोप लगाउँदै २०६३मा सर्जमिनको आधारमा नागरिकता पाएकालाई वंशजको नागरिकता दिने नागरिकता विधेयकले देश सिक्किम झैं विलय हुने खतरा आैल्याउनुभयो । नयाँ प्रविधिको स्रोतसाधन प्रयोग गर्न चाहिने बिजुली बुद्ध जयन्तीका दिन ध्यान गर्न आएका भारतीय प्रम मोदीलाई अरुण तेस्रो प्रसादको रूपमा वितरण गरेको यथार्थ बताउँदै उहाँले भ्रष्टाचारी र चेलिबेटी बेचबिखन गरेका व्यक्ति उम्मेदवार रहेको रहेको भन्नुभयो । सो सभामा नेमकिपा भक्तपुर जिल्ला समितिका अध्यक्ष तथा प्रदेशसभा १(ख) का उम्मेदवार सुरेन्द्रराज गोसाइँले सिद्धान्तहिन गठबन्धनले एकले अर्कोको लागि मत माग्नु लज्जित नभएको बताउँदै नेमकिपाकाे विचार सिद्धान्तमा नयाँ पुस्ता लागेकोले विजयको सुरुवात भएको बताउनुभयो । अमानवीय नाकाबन्दीको विरुद्ध भारतीय सरकार सामु झुक्ने सरकारलाई खबरदारी नेमकिपा एक्लैले संसदमा संघर्ष गरेको भन्नुहुँदै जनता र देशलाई बचाउन पारित भएको एमसीसी कार्यान्वयन गर्ने एसपीपी र नागरिकता विधेयक पारित गर्ने सक्ने अवस्था रहेकोले सचेत भई चुनावमा ख्याल ठट्टा गर्न नहुने बताउनुभयो । उहाँले पटकपटक जितेका दलले देशलाई आर्थिक दलदलमा फसाईरहेको र राजनैतिक नैतिकता गिराएर प्रजातन्त्रको नाउँमा गाईजात्रा खेलिरहेको भन्नुभयो । उक्त सभामा नेमकिपा भक्तपुर नगर समितिका प्रतिनिधि लक्ष्मीभक्त लासिवाले गठबन्धनलाई दुईमुखे सर्पको संज्ञा दिई कृषिप्रधान देशका युवालाई देशबाट विस्थापित गरेको बताउँदै विचार र सिद्धान्त नमिलेका पार्टीहरू सत्ता र सिटको लागि गठबन्धन गर्नेलाई मत दिए भष्मासुरलाई बरदान दिए सरह हुने बताउनुभयो । सो सभामा ९ वडा नेमकिपा समितिका अध्यक्ष कृष्णभक्त लवजूले नेमकिपाका १ जना प्रतिनिधिले देशघाटी एमसीसी र नागरिकता विधेयकमा संसदीय मान्यता कायम गरेको बताउँदै स्वागत गर्नुभयो । चुनाव परिचालन समितिका अध्यक्ष तथा कार्यक्रमका सभापति ज्ञानसागर प्रजापतिले अहिलेको चुनाव देशभक्त र देशद्रोही बीचको लडाइँ भएको भन्नुहुँदै अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादमा लम्पसार हुनेलाई जनताले मत दिन नहुने बताउनुभयो । उहाँले सामाजिक विकृति फैलाउने नागरिकता विधेयक ल्याउन गठबन्धन लागिपरेकाे बताउँदै स्थानीय सरकारले स्थानीय शिक्षाविद् कुलपति उपकुलपति नियुुक्ति गर्ने ख्वप विश्वविद्यालय विधेयक १० वर्ष अघि देखि नै संसदमा रोकेको जानकारी दिनुभयो । सो जनसभामा बालाखु सांस्कृतिक समूह, राजु पाँटी समूह, नित्यनाथ भजन पासापुच समूह र ९ वडा चुनाव परिचालन समितिको तर्फबाट चेतनामूलक सांस्कृतिक प्रस्तुति समेत भएको थियौ । सोही सभामा मंसिर १ गते भक्तपुरको टाैमढीमा अन्तिम चुनावी सभा समेत हुने जानकारी दिएको छ ।