लोकतान्त्रिक बामगठबन्धनको बिजय सुनिश्चित ः दुर्लभ थापा


कार्तिक २९, २०७९, मङ्गलबार | दिउँसो ०२:३१ बजे | 30


लोकतान्त्रिक बामगठबन्धनको बिजय सुनिश्चित ः दुर्लभ थापा

भक्तपुर । नेपाली कांग्रेस भक्तपुरका जिल्ला सभापति तथा सत्ता गठबन्धनको तर्फबाट भक्तपुर क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्यका साझा उम्मेदवार दुर्लभ थापाले लोकतान्त्रिक बामगठबन्धनको बिजय सुनिश्चित रहेको बताउनुभएको छ ।
नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. २ र नेपाल प्रेस युनियन जिल्ला शाखा भक्तपुरले आज आयोजना गरेको उम्मेदवार र पत्रकारबीचको भेटघाट कार्यक्रममा उम्मेदवार थापाले निर्वाचन हार्ने निश्चित भएपछि विपक्षी दल र उम्मेदवार विभिन्न व्यक्ति तथा समुदायलाई आर्थिक प्रलोभनमा पारेर निर्वाचन जित्ने दाउमा लागि परेको आरोप लगाउनुभयो । थापाले आगामी निर्वाचनमा प्रतिगामी शक्तिहरुको हार निश्चित भएको बताउँदै जनता लोकतन्त्रको पक्षमा रहेकोले प्रतिगामी शक्तिहरु आगामी निर्वाचनमा परास्त हुने बताउनुभएको हो ।
संविधानको रक्षा गर्दै लोकतन्त्रको संस्थागत गर्नु नै लोकतान्त्रिक वाम गठबन्धनको प्रमुख उद्देश्य भएको बताउनुभयो  ।
उहाँले शिक्षा, स्वास्थ्य, रोजगारी, उद्यमशिलता, सडक, खानेपानी, सरसफाई जस्ता जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषय नै आफुहरुको मुल एजेण्डा भएको बताउनुभयो ।झुठा आश्वासन बाँड्ने र ठूला ठूला योजना सुनाएर जनतालाई भ्रमित पार्न चाहन्न भन्दै उहाँले उहाँले २०७४ को प्रतिबद्धता कति पुरा भयो भनी विगतका जनप्रतिनिधिलाई प्रश्न सोध्न आग्रह समेत गर्नुभयो ।
उम्मेदवार थापाले विगतका जनप्रतिनिधिहरुले जग्गा व्यवसायीहरुसँग मिलेर सार्वजनिक जग्गा र खोला समेत मासेको आरोप समेत लगाउनुभयो । 
कार्यक्रममा सत्ता गठबन्धनका तर्फका २ (२) प्रदेशसभाका उम्मेदवार डा.राजेन्द्रमान श्रेष्ठले  आर्थिक,सामाजिक रुपान्तरण र समृद्धिका लागि आफ्नो उम्मेदवार भएको बताउँदै मंसिर ४ मा लोकतान्त्रिक शक्तिहरु पराजित भए मुलुकको लोकतन्त्र र संविधान थप संकटमा पर्ने जिकिर गर्नुभयो ।
सत्ता गठबन्धनका तर्फका २ (१) प्रदेशसभा सदस्यका उम्मेदवार विष्णुराज कार्कीले युवा अवस्थादेखि राजनीतिलाई समाज सेवाको रुपमा आफूले आत्मसाथ गर्दै आएको र पार्टिभन्दा माथि उठेर यस क्षेत्रका जनताको सुख दुःखको साथमा रहेकाले समेत आफूले यस पटक विजय हासिल गर्ने दावी गर्नुभयो ।
कार्यक्रममा भक्तपुर क्षेत्र नं. २ का सभापति भेषबहादुर कार्कीले उम्मेदवार र पत्रकारबीच साक्षात्कार गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको बताउँदै लोकतान्त्रिक बामगठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो ।

Comments