दतात्रय पुगेर नेताले भने, हामीलाई जिताए मंगलग्रहमा धान रोप्छौं
कार्तिक २७, २०७९, आइतबार | दिउँसो १२:३६ बजे | 40
खोया पार्टीले आइतबार भक्तपुर पुगेर अवको निर्वाचनमा आफना उम्मेदबारहरुलाई विजय गराए आगामी पाँंचवर्षभित्र मंगलग्रहबाट ग्यासको पाइपलाइन ल्याएर घरघरमा जडान गरिदिने प्रतिवद्धता जनाएको छ । उसले जंगलजंगलमा भ्यु टावर बनाइदिएर जंगल नै भ्युटावरमय बनाइदिने विश्वास पनि दिलाएको छ । साथै खोलामा मात्रै होइन, खेतखेतमा पनि पुल बनाइदिने वचन दिएको छ । मंगलग्रहमा धान रोप्ने पनि बताएको छ ।
आइतबार भक्तपुरमा मञ्चन गरिएको निर्वाचन केन्द्रित नाटक चुनावदेखि चुनावसम्मका नेता खोया पार्टीले यो प्रतिवद्धता जनाएको हो । आम मतदातामाझ जनचेतना जगाउने उदेश्यले तयार परिएको यस नाटकका पात्र नेता र पार्टीले चुनाव जिताए यस्तो असम्भव सपना बाँडेका हुन् । चुनावमा राजनीतिक दलहरुले जनतालाई ठूला आश्वासन र असम्भवप्रायः सपना देखाउने तर पूरा नगर्ने विषयमा नाटक केन्द्रित छ ।
नाटक कुनै वाद र विचारबाट प्रभावित छैन । नाटकले कुनै पार्टीको पक्ष लिएकोे पनि छैन । साथै स्वतन्त्र उमेदबार पनि कसैको पक्ष विपक्षमा छैन । दलहरुले गरेका बाचा र जनताको वास्तविक अवस्था नाटकका माध्यमबाट देखाउन खोजिएको छ । कलाका माध्यमबाट मतदातालाई सचेत र जागरुक बनाउने उदेश्यले नाटक प्रदर्शन गरिएको जनाएको छ ।
नाटकले लोकतन्त्र, गणतन्त्र, संघीयताको मर्म अनुकुल नागरिक जीवनमा अपेक्षित सकारात्मक प्रभावन नदेखिएको विषयमा जोड दिइएको छ । देश संघीयतामा गएपछि पनि उखु बेचेको रकमको भुक्तानी तथा मल विउका लागि किसान काठमाडौंमा आएर संघर्ष गर्नुपर्ने बाध्यता, मिटर व्याज पीडितको आन्दोलन, बढ्दो बलात्कार, द्वन्द्व पीडितका मुद्दा, नागरिकता पीडितको संघर्ष, मौलिक हकको कार्यान्वयनमा सरकारको उदासिनता देखाइएको छ । साथै, महङ्गी तथा भष्ट्राचार, रोजगारी नपाएर विदेशिनुपर्ने विडम्बनापूर्ण अवस्था, सरकारी ढिलासुस्ती र झन्झट, भीभीआईपी सवारीका नाममा नागरिकले सामना गर्नुपरको सास्ती, निर्वाचनका बेला मतपत्र पुग्ने तर पुस्तक नपुग्ने समस्यालगायत विषय नाटकमार्फत प्रस्तुत गर्न खोजिएको छ ।
आशिष घिमिरे, कैलाशकुमार कार्की र दीपेन्द्रदेभ पौडेलद्धारा लिखित नाटक करिब २५ मिनेटको छ । नाटकको परिकल्पनाकार र सुत्राधार विष्णु बसौला हुन् । नाटकमा मुख्य सन्देशको रुप्मा हाम्रालाई होइन राम्रालाई भोट दिन आह्वान गरिएको छ । नाटकमा एसके शर्मा, माधव भुर्तेल, भुवन आचार्य, अनिश विमली, आकांक्षा क्षेत्री, मनोज घिमिरे, शिक्षा मन्याल, ज्योति खड्का, विनिता कोइराला, जस्टिन बोगटी, आशिष घिमिरे, कैलाशकुमार कार्की र दीपेन्द्रदेभ पौडेल, पूजा तिवारी, प्रदिप एडी, शुभान्त घिमिरे, एस बोगटीको अभिनय रहेको छ । यसका साथै नाटकको ब्यवस्थापनमा एलिजा तुम्बापो, बिजय साही, विश्वास मानन्धर रहेका छन् । आरोहण गुरुकुलका कुलगुरु सुनिल पोखरेलको निर्देशनमा कलाकारहरुले शशक्त भूमिका निभाएका छन् ।
आसन्न प्रतिनिधि सभा र प्रदेशस सभा निर्वाचनलाई लक्षित गरी युवा कलाकारको समूहले तयार पारेको सडक नाटक कात्तिक ३० गतेसम्म काठमाडौं उपत्यका र उपत्यका बाहिरका विभिन्न स्थानमा प्रदर्शन हुने जनाइएको छ । काठमाडौं उपत्यकाभित्र नाटक बसन्तपुर, पाटन दरबार स्वायर, भक्तपुर दरवार स्वायर, कलंकी, नयाँबसपार्क, माइतीघर मण्डला, नयाँ बानेश्वर, कोटेश्वर, रत्नपार्कलगायत स्थानमा प्रस्तुत गरिने जनाएको छ ।