कोरोनाको नाममा ब्यापार !
भदौ ९, २०७७, मङ्गलबार | विहान ११:३३ बजे | 15
केशर मल्ल
केही महिना अगाडि लगभग विदेशमा रहेका नेपाली नागरिकको रेमिट्यान्सका आधारमा देश चलिरहेको थियो, अहिले तिनै नागरिकहरु बेसहारा भएका छन् । उनिहरु अहिले दोस्रो दर्जाका नागरिक सरह हुन पुगेका छन् । नेपाली हुनुमा हिनताबोध महसुस भएको छ । उनीहरूको चिन्ता र चित्कारलाई कसैले पनि सुनिदिएको छैन । हिजो आफू नेपाली हुनुमा गर्व गर्ने लाखौ नेपालीहरु आज भने आफ्नो देश र आफ ैमाथि घृणा गर्दैछन । आफ्नै नागरिकप्रति नेपाल सरकारले भेदभाव गरिरहेको कुरा भने नौलो होइन तर यस्तो विषम परिस्थितिमा चिन्ता र चासो नदिनु भनेको आम नागरिकहरू आशा विहिन र अभिभावकविहीन बन्नु र बनाउनु हो ।
नेपाल सरकारले कोरोनाको नाममा आम नागरिकसँग ब्यापार गरी रहेको छ तर ब्यवस्था भने गर्न सकेको छैन । सबैभन्दा बढी पिडा, दुःख विदेशमा रहेका लाखौंलाख नेपालीहरुले पाइरहेका छन् । पैसा नभएर गरिब हुनुमा हिनताबोध गराइदिएको छ । त्यो पनि व्यक्ति विशेषले नभएर स्वयं नेपाल सरकारले नै । सरकार के गर्दैछ ,कस्को लागि हो दुई तिहाईको सरकार ?
विश्व आक्रान्त बनेको महिनौं हुँदा, विभिन्न देशहरूले विदेशमा रहेका आफ्नो राज्यको नागरिकका लागि सहायता प्याकेज गरेका छन् ,स्वदेश नआउनेलाई उतै व्यवस्था पनि गरेका छन्, देशको अर्थतन्त्रलाई चलायमान बनाईरहेका छन्, अझ धेरै प्रयत्नहरु गरिरहेका छन् । हाम्रो सरकार कोरोना नियन्त्रणमा ठूलो धनराशि खर्च भएको गित गाउनमै मख्ख छ । सरकारलाई दैनिक पि.सि.आर टेस्ट यति भयो, यति मानिस संक्रमित भए यति निको भए, यति मरे, यसरी निषेधाज्ञा लगाइयो भन्नेबाहेक अरु कुरामा ध्यान दिनै छोडेको छ । न आफुले बुझ्न सक्छ न अरुले देखाएको बाटो ,विकल्प सही ठान्छ । आफ्नो कुर्सी बचाउन लागि पर्दा लाखौंलाख नेपालीहरुलाई मारमा पारिरहेका छन् ।
बिहान उठ्दा, दिउँसो या राति आइपुग्ने देशमा, आज विदेशमा रहेका नेपालीहरुका लागि अर्को ग्रहमा जाने जस्तै असम्भव भएको छ । आज पैसा हुने नागरिक, तर पैसा नहुने अनागरिक बन्न पुगेका छन् पैसा नहुने नेपालीको श्रमिकको दर्जा मात्र खोसिएको छैन, उद्वारमा योग्य पनि ठानिएको छैन । हिजो रेमिटेन्सले चलेको देश, विदेशमा रहेका नेपालीको सहायताले चलेको सरकार आज भने उनीहरुलाई नै बेवास्ता गर्दैछ । आज उनीहरू रित्तो हुँदा नागरिकलाई राज्यले पहिचान गर्न सकेको छैन ।
अहिले न नागरिक महत्वपूर्ण भए न उनीहरूको स्वास्थ्य जीवन नै, न त जोखिममा परेका नागरिकहरु प्राथमिकतामा परे न त पिडा नै सुनियो ।
यतिबेला, नेपाल सरकारलाई पनि नागरिक भन्दा सबैभन्दा ठूलो रुपैया भएको छ । उद्धारको नाममा ठूलो व्यापार भएको छ । उद्धारको नाममा हेर्ने हो भने नेपाल सरकार सबैभन्दा ठूलो व्यापारी बन्न पुगेको छ । पैसा हुनेलाई नागरिक ठान्दै छ, केही नहुनेलाई मारमा पारेको छ । वास्तवमा जनता गरिब होलान् भन्ठानेको सरकारको मन पनि गरिब नै रहेछ ।
जसरि आज पैसा नहुनेहरु स्वदेश आउन पाएका छैनन् त्यसरी नै हिजो पैसा नहुनेहरु विदेश गएका थिए । देशका लागि रगत पसिना बगाएका थिए । गगनचुम्बीमा चढेर होस् या कोइला खानीमा च्यापिएर होस् ती सबै नेपाली नै थिए, जसले दुख मात्र गरे , एक सपना बोकेर जीवन भरि दुःखको भारी बोकी रहे । बदलामा देशलाई अरबौ अरब रुपैयाँ रेमिट्यान्स दिए, सरकारले केही दिन सकेको छैन । उल्टै सर्वोच्च अदालतको नियम नै नमानेर नागरिकका मौलिक अधिकार नै लुटिएको छ ।
आज ति नेपालीहरु विदेशमा अलपत्र छन् तर आफ्नै देशमा आउन पाएका छैनन् । विदेशमा श्रम गरि पसिना बगाउन पाएका छैनन् दुखमा रमाउने र दुखैको संसारमा सपना देख्न सक्ने ठूलो छाती भएका नेपालीहरूको छाती आज नीकै दुखिरहेको छ । ४२–५० डिग्री ले पोल्न नसकेको मन आज नेपाल सरकारको कारण भतभती पोलिरहेको छ । सधै पसिनाका तलाउमा मै रहेका नेपालीहरुको आज आँसुले डुबेका छन् ।
सरकार हरेक कुराको मुल्य तोकिरहेको छ । सरकार, के पैसा नहुन बित्तिकै जीवनको मूल्य नहुने हो त? ती नागरिक बन्ने अधिकार पैसाले निर्धारण गर्ने हो त? राज्य वा सरकार पैसाले मात्र चल्ने हो त ? यदि हो भने सबै नागरिकलाई बेचेर ,चलाउँ देश ।
जति पीडा विदेशमा रहेका नेपालीको सुन्दा लाग्छ त्योभन्दा बढी कहालीलाग्दो पीडा नेपाल सरकारका निर्णय, गतिविधि, व्यवस्थाले दिइरहेको छ । वास्तविक पीडितलाई पहिलो उद्धार गर्नुपर्नेमा जोसँग पैसा छ, जसले नियम कार्यान्वयन गर्न सक्छ ,जो होटेलमा बस्दा पैसा बुझाउँछन् उनीहरुलाई उद्धार गर्ने निर्णय सुनाउँछ । नेपाल सरकार नागरिक प्रति उत्तरदायी हुनसकेन तर झन कठोर भएको छ , झन निर्दयी भएको छ । लागेको घाउमा मलम लगाउनुपर्नेमा उल्टो घाऊ बनाएर घाइते बनाइएको छ । सरकार भने धेरै गरेँ भनेर विज्ञापन फैलाइरहेको छ ।
केही साता अघिमात्र दुबई एयरपोर्टमा रहेका २६० नेपाली यात्रुलाई अलपत्र छोडेर हवाइजहाज रित्तै फर्काइया । कारण बताइयो क्वारेन्टाइन नभएर । एक हप्ताभित्रमा स्टारवाला होटेलहरू सूचीकृत गरियो, दर रेट तयार गरियो , पैसाको मुठो दिनसक्नेलाई मात्र उद्वारका लागि तयार भयो । उता भने सामान्य नागरिकलाई गहिरो चोट पर्यो । शर्त नमानौं देश फर्कन नपाइने, मानौं पैसाको जोहो गर्न नसकिने । सरकारको यो रवैयाले कसरी हुन्छ उद्वार, यस्तो किसिमको चरित्रले कसरी भयो भन्ने नेपाल सरकार उदार ? पैसाको तराजुमा नागरिकलाई राखेर, कारण हलुका हुँदा आफसेआफ पराइ हुनु पर्ने किन ,कहिलेसम्म ? बरु सरकार भ्रष्टाचार गर्नेलाई अङ्गाल्दै छ । तर गरिब नागरिकले कहाँबाट ल्याउन सक्छनर यो बेला पैसा ? किन बुझ्दैनन् कोहि सरकारका बुद्धिजीवीहरू ? विभिन्न शर्तहरू प्रतिबद्धताका साथ लिखितरुपमा आत्मसात नगरे तिनीहरू उतै मर्नुपर्ने ? के ति नागरिक होइनन् ? कि सरकारले भन्न सक्नुपर्छ पैसा हुनेमात्र नेपाली नागरिक हुन् ,पैसा नहुने नेपाली नागरिक होइनन् । यसरी शर्त माथि शर्तका उर्दी जारी गरेर नेपालीहरूको श्वास रोकिदैछ ।
यसरी हजार रुपैयाँ संग नेपाल सरकारमा बार्गेनिङ किन गर्दैछ उद्दारका नाममा व्यापार किन गर्दैछ ? महिनौं बस्न खान नपाएका नेपालीहरुलाई शर्त माथि शर्त किन थप्दैछ ? टिकटभन्दा अगाडि नोटको गड्डि किन ? आज स्वदेशमै भएका नेपालीहरु अस्पताल चाहार्दा चाहर्दै बाटैमा प्राण त्याग्दै छन् भने विदेशबाट आएका भन्नासाथ महंगो होटलमा किन ? विदेशमा के बन्दीमा पनि पैसाको ओइरो लाग्छ र ?
यहाँ सरकार पैसा हुने को लागि मात्र भएको छ, आम नागरिकका लागि भएको छ शत्रु भएको छ साँच्चै नेपाल सरकार उद्धारको नाममा व्यापार गरिरहेको छ, जिम्मेवारी होइन गैरजिम्मेवार भएको छ । भावुक नभएर कठोर र निर्दयी भएको छ । यस्ता गतिविधि भने सरकारले रोक्नुपर्छ । अब नेपाल सरकारले कुनैपनि निर्णय लिन ढिलासुस्ती गर्नुहुँदैन । हरेक नागरिकलाई देशको, अभिभावक भएको आवास गराउनुपछ । अहिले पैसा नहुने तर ठूलो मर्कामा परेका नेपाली नागरिकलाई उद्वार गर्न भोलिका दिनमा लागेको खर्च व्यहोर्ने गरि लिखित प्रतिबद्धताका साथ ऋणमा भएपनि विदेशमा रहेका नेपालीलाई फर्काउनुपर्छ । यहिँ विकल्प नै सरकारलाई व्यापार गर्ने उत्तम उपाय हुनसक्छ र विदेशमा रहेका नागरिकका लागि फर्कन राहत हुनसक्छ–ऋण अर्थात पछि पैसा दिने र लिने प्रतिबद्धता ।