भक्तपुरका विद्यालयमा स्काउट कक्षा संचालन गर्न प्रधानाध्यापकहरू बीच गोष्ठी
कार्तिक १८, २०७९, शुक्रबार | दिउँसो ०३:२१ बजे | 15
सत्यराम कासिछ्वा भक्तपुर ९ भक्तपुर, कार्तिक १८ । भक्तपुर नगरपालिकाका प्रमुख एवं स्थानीय स्काउट संरक्षक सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा स्थानीय स्काउट भक्तपुरको आयोजनामा नगरभित्रका संस्थागत तथा सामुदायिक विद्यालयका प्रधानाध्यापक गोष्ठी कार्यक्रम भनपाको सभाकक्षमा शुक्रबार सम्पन्न भयो । गोष्ठीमा सुनिल प्रजापतिले अनुशासित समाज सहित सबै नागरिकलाई समान रूपले शिक्षा दिन स्काउट शिक्षाले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै भक्तपुरका सबै विद्यालयहरुमा स्काउट शिक्षा संचालन गर्न कृयाशील रहेको बताउनुभयो। “स्काउटले विनम्रता, देशभक्ति, अनुशासन र इमानदारिता सहित साहसिक नागरिक भएर स्वयंसेवी भएर बाँच्न सिकाउँछ” भन्नुहुँदै उहाँले सभ्य र सुसंस्कृति नागरिक तयार गर्ने भनपाको उद्देश्य रहेको स्पष्ट पार्नुभयो । उहाँले जनताको समय अनुसारको माग बमोजिम भनपाले शिशु स्याहारदेखि कलेजहरुमा विविध विषय र अस्पताल समेत संचालन गरिरहेको बताउँदै अंगीकृत नागरिकलाई वंशजको नागरिकता दिएमा नेपालीको स्वाभिमान र हक खोसिने बताउनुभयो । सोही कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख एवं स्थानीय स्काउट प्रमुख रजनी जोशीले ख्वप मोडेल सहित भक्तपुर नगरलाई सभ्य, सुसंस्कृत र सुरक्षित बनाउने प्रयत्न गर्दै नगरभित्रका ९२ वटै विद्यालयहरुमा स्काउट शिक्षा लागू गर्न तत्पर रहेको बताउनुभयो । उक्त कार्यक्रममा भनपा वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान विजुक्छेंले स्काउट शिक्षाबाट जीवनोपयोगी सीपहरुको विकाससँगै जीवनशैलीमानै परिवर्नत गर्ने भएकोले यसको महत्व दिनानुदिन बढेको बताउनुभयो । भक्तपुर नगरपालिका शिक्षा शाखाका प्रमुख एवं स्थानीय स्काउट सचिव कृष्ण प्रसाद कर्माचार्यले विद्यालयहरुमा स्काउट शिक्षाबाट व्यवहारिक शिक्षा सहित समाजलाई रुपान्तरण गर्न सकिने बताउनुभयो । कार्यक्रमका सभापति एवं स्थानीय स्काउटका संयोजक कृष्णसुन्दर प्रजापतिले स्वागत मन्तव्य राख्नुभएको सो कार्यक्रममा नेपाल स्काउटका पूर्व राष्ट्रिय तालिम आयुक्त एवं बागमती प्रदेश स्काउट सल्लाहकार भक्त राजभण्डारीले स्काउटको महत्वबारे बताएको थियोे भने उक्त कार्यक्रमको सञ्चालन स्काउटका रेन्जर बालकृष्ण बनमालाले गर्नुभएको थियो ।