टाईम पास जुवा बारे
कार्तिक ९, २०७९, बुधबार | विहान ०६:५३ बजे | 30
सुनील सापकोटा
हाम्रो देशमा दशैं तिहारमा रमाईलोका लागि तास , पासा , कौडिलाई आधार बनाएर जुवा खेल्ने चलन छ । दिपावली पर्वमा त झन जुवाको परम्परा सदियौं पुरानो छ । दिपावलीमा जुवा खेल्नु सगुन मानिन्छ । पहिले महाभारतकालमा जुवालाई ( द्युत क्रीडा ) भनिन्थ्यो । अहिले पनि भारतमा दिपावलीमा जुवा खेल्ने चलन देखिन्छ। नेपालमा अहिले जुवा गैर कानुनी छ । जुवा खेल्नु दण्डनिय छ । तर राणा शासनकालमा तिहारमा मात्र केही दिनको लागि जुवा खेल्नु सरकार द्वारा नै छुट थियो। तिहारकोबेला त्यो कालमा घरघरमा , चौक - चौकमा मानिसहरु भेला भएर कौडा खेल्थे।
जुवा एउटा मनोरञ्जन हो। एउटा हाम्रो संस्कृतिक परम्पराको प्रचलन हो। हाम्रो संस्कृतिको एउटा मनोरञ्जनको रुप हो। धार्मिक पुस्तकहरु पढ्दा द्वापर युगमा जुवा श्रीकृष्णले अनि पाण्डव र कौरवले जुवा खेलेको देखिन्छ। अझ सत्य युगमा त शिव र पार्वतीले पनि जुवा खेलेको प्रसङ्ग पाइन्छ । त्यो जुवामा पार्वतिले शिवलाई हराएको प्रसङ्ग छ । त्यस्तै पश्चिमी देशहरुमा जुवा खेल्ने परम्परा ईसा भन्दा पनि पुरानो देखिन्छ । त्यस्तै प्राचिन मिश्र र चिनमा पनि जुवा खेलको इतिहास देखिन्छ ।
ऋग्वेदको १० औं मण्डलमा जुवाको चर्चा छ । त्यहाँ एउटा जुवाडीको प्रलाप छ । उक्त वेदको सूक्त ३४ मा " म जुवा जहिले न खेलु भन्ने चाहन्छु, जुवाडीको संगत न गरुँ भन्छु तर पासाको आकर्षणले त्यस तर्फ मलाई तान्छ। "
यो दुनियाँको प्राचीन इतिहास लाई सिंहावलोकन गर्दा जुवा खेलको भारत बर्षमा मात्र होइन कि अरु देशहरुमा पनि जुवाको प्रचलन पाइन्छ । मलाई लाग्छ जुवा अपराध होइन । नैतिक पतन हुने खेल पनि होइन। यो मानवजातिको प्राचिनतम एउटा मनोरंजनको खेल हो। हिजोआजको आधुनिक दुनियाँमा त झन सरकारले नै तारे होटलहरुमा मनोरञ्जनको लागि राजश्व बटुल्न त्यहाँ खुलेआम जुवा खेलाउने लाइसेन्स नै दिएको छ ।
हिजोआज जुवाको रुपमा तास खेल्ने प्रचलन बढेको छ। तासको पत्ताले जुवाको दुनियाँमा नयाँ क्रान्ति नै ल्याएको छ । आज घर - धरमा जताततै बिशेषगरि तासको खेल फलास, ब्रीज , पप्लु , रमी , कलब्रेक आदि जुवाको रुपमा खेल्ने गरेको पाइन्छ । जहिले पनि जुवा खेल्नु राम्रो होइन। यो राम्रो लत होइन। पैसा कमाउने मोहमा जुवाको नशा हुनु राम्रो होइन। मैले जुवाको प्रसंशा गरेको पनि होईन। जुवाको ईतिहास र वर्तमान मात्र केलाएको हुँ । अन्यथा न मान्नु होला। धन्यवाद !