ख्वपमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
कार्तिक ६, २०७९, आइतबार | दिउँसो ०१:५० बजे | 45
भक्तपुर । भक्तपुरको ख्व्प मावि, ख्वप कलेज, शारदा क्याम्पस मावि र ख्वप कलेज अफ लले शुभ दीपावली तथा नयाँंवर्ष नेपाल सम्वत ११४३ को अवसरमा आइतबार शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले मन्त्री, सांसद पद अपराधीहरुलाई छुटाउने लाइसेन्स हुन थालेको भन्दै दुःख व्यक्त गरेका छन् । अध्यक्ष विजुक्छेंले भोटका लागि जे पनि गरिदिन्छु भनी नेताहरुले गलत काम पनि गर्दा देश नै संकटमा परेको बताए ।
पैसा नदिइ भोट नदिने बानी जनतामा वसेको भन्दै उनले ठूला राजनीतिक दल र तिनका नेताहरुले जनतालाई विगारेको आरोप लगाए । निर्वाचनमा खर्च गरेर चुनाव जित्ने र अनि पछि त्यो खर्च उठाउन भ्रष्टाचार गर्नुपर्ने अवस्था आएको उनको भनाई थियो । त्यसकारण निर्वाचनमा पैसा दिनेलाई बहिष्कार गर्नुपर्ने खाँंचो उनले औंल्याए ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख एवं ख्वप सर्कल सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापति, उपमेयर एवं कलेज सञ्चालक समितिका उपाध्यक्ष रजनी जोशी, ख्वप पोलिटेक्निक्सका प्रमुख डा रत्नसुन्दर लासिवा, ख्वप इन्जिनियरिंग कलेजका प्राचार्य सुजन माक, ख्वप कलेजका प्रिन्सिपल रुपक जोशी, ख्वप माविका प्रिन्सिपल प्रकाशकुमार श्रेष्ठलगायले चुनाव निष्पक्ष र स्वच्छ हुनुपर्नेमा जोड दए ।