भोलि विहानैदेखि भक्तपुरको दरवार स्क्वायरबाट साइकलिङ च्यालेन्ज सुरु हुने
असार ३१, २०७९, शुक्रबार | विहान ०८:०४ बजे | 25
भक्तपुर । भक्तपुरमा भोलि शनिबार कोरा भक्तपुर साइकलिङ च्यालेन्ज हुने भएको छ । शुक्रबार यहाँं पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराइएको हो । भक्तपुरका साइकलप्रेमीहरूको टीम साइकल कनेक्ट भक्तपुरको आयोजनामा साइकलिङ च्यालेन्ज गर्ने भएको हो ।
भक्तपुरलाई साइकलिङ गन्तव्य बनाउन र कोभिडको कारण ज्यान गुमाएका साइकलिष्ट यमलाल रसाइलीको परिवारलाई सहयोग रकम संकलन गरी कोष स्थापना गर्नका लागि कार्यक्रम गरिन लागेको आयोजकले सम्मेलनमा जनायो ।
च्यालेन्जलाई आयोजकले भक्तपुर कोरा २०२२ नाम दिएको छ । त्यस निमित्त आयोजकले ५०, ७५ र १०० किलोमिटरका तीनवटा रूट तयार गरेको छ । च्यालेन्ज अन्तरगत हुने ५० किलोमिटरको च्यालेन्जमा पुरूष १ सय २०, महिला ८ गरी १ सय ३८, ७५ किलोमिटरको च्यालेन्जमा ४५ पुरूष र २ महिला गरी ४७ र १ सय किलोमिटरको च्यालेन्जमा पुरूषतर्फ १ सय ४ र ३ महिला गरी १ सय ७ जनाको सहभागिता रहने आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनमा कूल २ सय ८२ जना साइकलयात्रीको सहभागिता रहेको कार्यक्रम संयोजक सुनिल ख्याजूले बताए । साइकल यात्रा भक्तपुरको दरबार क्षेत्रबाट सुरू हुनेछ । यात्रा अन्तरगत दरबार क्षेत्रबाट सिद्धपोखरी, निकोशेरा, बहाखा बजार, बोडे, निलबाराही, वेशीगाउँ, दुवाकोट, चाँगुनारायण, त्रिशूल डाँडा, तेलकोट, नगरकोट, थाकलमाथ, खावा, नाला गुम्बा, भंगाल, लटरम्बेश्वर, साँगा, खाल्चोक, आशापुरी, रानीकोट, गुण्डुफ गाम्चा, बालकोट, लोकन्थली, कौशलटार, सानोथिमि हुँदै पुनः भक्तपुर दरबार क्षेत्रमा समापन हुने कार्यक्रम तय गरिएको छ ।
च्यालेन्जमा भक्तपुर, काठमाडौं, ललितपुर, बनेपा, पनौति, पोखरा, तनहुँ, धरानलगायतका शहरहरूबाट साइकलयात्री सहभागी रहेको आयोजकले जनाएको छ ।
च्यालेन्जलाई भक्तपुरको भिलेज हाईल्यान्ड रिसोर्ट, नेपाल इको प्यानललगायतले आर्थिक सहयोग गरेका छन् ।