बन्दीपुरका जनप्रतिनिधि भक्तपुर नगरपालिकामा


असार २८, २०७९, मङ्गलबार | विहान ११:१९ बजे | 60


बन्दीपुरका जनप्रतिनिधि भक्तपुर नगरपालिकामा

भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिकाका जनप्रतिनिधिले असार २८ गते नगरपालिकाको सभाकक्षमा भेटवार्ता गर्नुभएको छ । नगर प्रमुख प्रजापतिले बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाको नेतृत्वमा आएको उक्त टोलीलाई स्वागत गर्नुहुँदै भक्तपुर नगरपालिकाको संक्षिप्त परिचयबारे जानकारी गराउनुभयो ।
प्रमुख प्रजापतिले उत्पादनका मुख्य मुख्य साधनहरु सामाजिकीकरण, शिक्षा र स्वास्थ्य उपचारजस्ता जनताका आधारभूत आवश्यकताका विषयहरु निःशुल्क, रोजगारीको सुनिश्चितता र आार्थिक समानता हुने राजनैतिक व्यवस्था नै समाजवादी व्यवस्था भएको उल्लेख गर्नुहुँदै भक्तपुर नगरपालिकाले आफ्ना नीति, योजना र कार्यक्रमहरु समाजवादी व्यवस्थाअनुरुप बनाउने प्रयत्न गर्दै आइरहेको छ भन्नुभयो ।
उहाँले शिक्षा क्षेत्रमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित सातवटा शैक्षिक संस्थाहरूमा हाल ७२ जिल्लाका ७ हजारभन्दा धेरै विद्यार्थीहरु अध्ययनरत रहेको, नपाले रु. ५ लाखसम्म शैक्षिक ऋण प्रदान गर्नुका साथै  भूगोल, इतिहास, संस्कृति, राजनीतिशास्त्र र नेपालभाषामा उच्च शिक्षा हासिल गर्ने पी. एच. डी. सम्मका विद्यार्थीहरुलाई पूर्ण छात्रवृत्तिको व्यवस्था समेत गर्दै आइरहेको बताउनुभयो ।
जर्मन सरकार र नेपाल सरकारबीच भक्तपुरको १० वटा सम्पदा पुनः निर्माणको लागि रु. १ अर्ब २० करोड (१ करोड युरो) अनुदान सम्झौता भएकोमा सम्झौतामा उल्लेखित शर्तहरु जनताको स्वाभिमानमा आँच पुग्ने देखेर त्यो रकम भक्तपुर नगरपालिकाले अस्वीकार गरेको उहाँले बताउनुभयो भने विदेशीको सहयोग विना भक्तपुरका जनताको साथ र सहयोगबाट २०७२ सालको भूकम्पले क्षति पु¥याएका १२४ वटा सम्पदाहरु पुनःनिर्माण र जिर्णोद्धार सम्पन्न गरिसकेको र दर्जनौं सम्पदाहरु पुनः निर्माणको क्रममा रहेको अवगत गराउनुभयो ।
    सोही क्रममा बन्दीपुर गा.पा.का अध्यक्ष सुरेन्द्रबहादुर थापाले बन्दीपुर गाउँपालिका गण्डकी प्रदेश तनहुँ जिल्लामा पर्यटकीय महत्व बोकेको, १०२ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको सानो तर विविधताले सजिएको सुन्दर गाउँपालिका भएको बताउनुहुँदै भक्तपुर र बन्दीपुर एक अर्काका परिपूरक सहर भएको बताउनुभयो ।
    भक्तपुर र बन्दीपुरका कला, संस्कृति एक अर्कामा मिल्दाजुल्दा रहेको बताउनुहुँदै अध्यक्ष थापाले भक्तपुरबाट सिक्दै बन्दीपुर गा.पालाई सांस्कृतिक संरक्षित सहरको रुपमा विकास गर्ने उद्देश्य रहेको र बन्दीपुरका मुख्य मुख्य सडकहरुमा सवारीसाधन निषेध गर्दै ढुंगा छपाईको कार्यलाई जोड दिँदै आएको बताउनुभयो ।
    भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माण तथा फोहरमैला व्यवस्थापनका क्षेत्रहरुमा गरिरहेको काम देशकै लागि उदाहरणीय भएको बताउनुहुँदै उहाँले भक्तपुरको विकासबाट आफूहरुलाई निकै ऊर्जा र प्रेरणा मिलेको र बन्दीपुरलाई पनि भक्तपुरजस्तै सुन्दर सहरको रुपमा विकास गर्ने लक्ष्य रहेको बताउनुभयो ।
    भेटमा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्व, वडा नं. ७ का वडाध्यक्ष उकेश कवां, वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँ, वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकला र वडा नं. १ का वडाध्यक्ष श्यमकृष्ण खत्री तथा भक्तपुर नपाका कार्यपालिका सदस्यहरु रोशनमैंया सुवाल, छोरीमैंया सुजखू र कृष्णप्यारी भुजुको उपस्थिति रहेको थियो भने बन्दीपुर गा.पा.का उपप्रमुख पञ्चमाया गुरुङ, वैशबहादुर गुरुङ, अमिर गुरुङ र रामकृष्ण पिया, भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी र प्रशासकीय अधिकृत दामोदर सुवाललगायतको उपस्थिति रहेको थियो ।

Comments