शोभा प्रधानको योगदान र उहाँले गरेको राम्रो कामको जानकारी लिन श्रध्दाञ्जली सभा
असार २२, २०७९, बुधबार | विहान ०८:१० बजे | 50
भक्तपुर । नेपाल मजदुर किसान पार्टी भनपा ९ दत्तात्रय समितिको आयोजनामा नेपाल मजदुर किसान पार्टीका श्रध्देय अध्यक्ष नारायणमान विजुक्छें (रोहित) का जीवन संगिनी, नेपाल क्रान्तिकारी महिला संघका केन्द्रीय कोषाध्यक्ष एवम् नेपाल क्रान्तिकारी शिक्षक संघका केन्द्रीय सदस्य शोभा प्रधानको श्रध्दाञ्जली कार्यक्रम उहाँको तस्बिरमा माल्यार्पण र फुलको गुच्छा अर्पण गरी सकोलान थाथुसःसकोलन एक समारोहबीच मंगलबार सम्पन्न भयो ।
कार्यक्रममा भनपा ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले शोभा प्रधानको योगदान र उहाँले गरेको राम्रो कामको जानकारी लिन श्रध्दाञ्जली सभा सार्थक हुने बताउनुभयो । उहाँले शोभा भाउजुले भोगेका दुःख र अनुभब सुनेर उर्जा र शक्ति प्रदान हुने बताउनुभयो । उहाँले क्यान्सर रोगले मृत्युवरण गर्नुपरेकोले हरेकले बर्षको एकचोटी स्वास्थ्य परिक्षण गराउन र स्वास्थ्य प्रति सचेत हुन अनुरोध गर्नुभयो ।
उहाँले क्यान्सर भित्रि रोग भएकोले सचेत हुनुपर्ने र रोग लाग्दैमा डराउनु नपर्ने बरु समयमा नै उपचार गरे निको हुने बताउनुभयो । उहाँले नेवाल लगायत मतवाली जातका मानिसहरुसंग घाटीमा, निहुँरिएर काम गर्नेसंग पेटमा, खानपानले ठूलो आन्द्रामा क्यान्सर हुने बताउनुभयो । उहाँले मनोबल कमजोर भएछि रोगले झन च्याप्ने भएकोले मनोबल बढाउन परिवारले साथ सहयोग गर्नुपर्ने, कोठा भित्र सिमित नराखी खुल्ला क्षेत्रमा हिड्डुल गराउन बाहिर ल्याउनुपर्ने बताउनुभयो । उहाँले शोभा भाउजु विरामी अवस्थामा समेत आन्दोलनमा सरिक भई जेलनेल समेत भोगेका साहशीक व्यक्ति भएको बताउनुभयो । उहाँले आफ्नो शिक्षक पेशाबाट अवकाश हुँदा विद्यालयमा आर्थिक कमजोर लगायतलाई उपचार गराउन र उपचारबाट कोहिपनि बञ्चित हुन नपरोस् भनि उपचार कोष खडा गरी दुई लाख रुपैंया सहयोग गरेका थिए भन्नुभयो । उहाँले हामीसबै एकजुत भई शोभा भाउजुको अधुरा सपना पुरा गर्न संघर्ष गर्नु बताउनुभयो । उहाँले नयाँ पुस्ता विकृति विसंगति तर्फ दोहरिरहेकोले त्यसबाट टाढा राखी असल नागरिक तयार गर्न सबै अभिभावकहरुले आफ्नो बालबालिकालाई संगठनमा राख्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा नेमकिपा भनस प्रतिनिधि जितेन्द्र मुनांकर्मीले २०४० सालमा विवाह भएदेखि नजिक रहेर काम गर्दा उहाँ असल गृहणी, २०४५ सालको भक्तपुर काण्डमा तानाशाही पंचायती व्यवस्थाले दमन गर्दा पनि अविचलित भई कानुन व्यवसायी र मानव अधिकारीवादीहरुको सहयोगमा त्यतिवेला नै पंचायत विरुद्ध पत्रासम्मेलन गर्ने निडर महिला भएको बताउनभुयो । उहाँले शोभा भाउजुलाई क्यान्सर लागेदेखि उपचारको अन्तिम अवस्थासम्म भए गरेका संघर्षका कुराहरु बताउनुभयो ।
कार्यक्रममा नेमकिपा भनपा ९ समन्वय समितिका संयोजक कृष्णभक्त लवजूले पार्टी अध्यक्षको श्रीमति भएर मात्र होइन नेमकिपाको उदेश्य पुरा गर्न काम र योगदान गरेकोले आज शोभा भाउजुको श्रद्धाञ्जली गरिरहेको बताउनुभयो । उहाँले रोगसंग जुझ्न सक्ने व्यक्ति, भक्तपुर काण्डमा दृढ अडानका साथ निडर भई गरेका कार्यहरु, राजनीतिक कार्यकर्ताहरुलाई गर्ने मिजासिला स्वभाव र सहयोग, अतिथि सत्कार र गृहणीको रुपमा गरेका कामबाट हामीले धेरै कुरा सिक्नुपर्छ भन्नुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी महिला संघका प्रतिनिधि रत्ना चवालले पार्टी अध्यक्षले श्रीमति भएर पदको लाभ कहिले नलिएको बताउँदै मुस्कान सहितको गृहणी, सरल स्वभाव र सरल खानपान, कम खर्चालु र स्वास्थ्य प्रति सचेतनाले गर्दा जनताको निम्ति स्वास्थ्य शिविर र क्यान्सर उपचार बारे बताउनुभयो ।
कार्यक्रम नेमकिपा भनपा ९ दत्तात्रय समितिका अध्यक्ष संजय मानन्धरको सभापतित्वमा भएको कार्यक्रममा सचिव रामकृष्ण प्रजापति, पूर्व वडाध्यक्ष विष्णु बहादुर मानन्धर, नेक्रामहिलासंघ भनपा ९ दत्तात्रय समितिका सचिव कृष्णश्वरी दुवालले पनि बोल्नु भएको थियो । उक्त कार्यक्रममा नेमकिपा भनपा ९ दत्तात्रय समितिका सचिव रामकृष्ण प्रजातिले श्रद्धाञ्जली शोभा भाउजु ! कविता प्रस्तुत गरेको थियो । उक्त कविता यहाँ प्रस्तुत छ ।