सामूहिक प्रब्रज्या तथा उपसम्पदा बौद्ध कार्यक्रम सुसम्पन्न
असार २२, २०७९, बुधबार | विहान ०४:४८ बजे | 60
भक्तपुर । मुनि विहार (श्री धर्म्मोत्तम महाविहार) मा थाइलैंडका १९ औं राजगुरू को संरक्षणमा सामूहिक प्रब्रज्या तथा उपसम्पदा भव्यरूपमा सुसम्पन्न भयो । प्रमुख धर्मगुरु संघनायक भिक्षु बोधिसेन महास्थविर तथा उपप्रमुख भिक्षु विपस्सी महास्थिवरज्यूको समुपस्थितिमा यो कार्यक्रम संचालन भएको हो । यस कार्यक्रममा वयस्कद्वय गोबिन्द अधिकारी तथा रामानन्द अहिरलाई उपसम्पदा दीक्षा अर्थात् उहाँहरूलाई पूर्ण भिक्षु दीक्षा प्रदान गरियो। उक्त कार्यक्रममा अरू २० जना किशोरहरूलाई पनि श्रामणेर प्रब्रज्या प्रदान गरियो । जसमध्ये निकट भविष्यमा १७ जना थइलैंडमा बुद्धधर्मको उच्च शिक्षा हासिल गर्न जानमा छानिएका हुन् ।
हाल यस मुनि विहारमा ८० जना प्रब्रजितहरूलाई जीवनयापन (आवास,भोजन, वस्त्र , उपचार) निःशुल्क प्रदान गरिरहेको छ । यस विहारमा श्रद्धावतन भक्तजनहरूले स्वेच्छाले प्रायःदिनहुँ जस्तो बिभिन्न दान पुण्य गरिआएका छन्। पूजापाठ लगाउने पनि भइआएको छ । भक्तजनहरूको दीर्घायु, सुस्वासथ्य तथा उत्तरोत्तर प्रगतिको कामना गरी यहाँ पूजापाठ गरिन्छ । कसैले आफ्नो जन्मदिनमा वा दिवंगत आफन्तहरूको सद्गति तथा मोक्षको कामना गरी यस प्रकार दान पुण्य गर्ने चलन यहाँ चलिआएको छ ।
उक्त प्रब्रज्या कार्यक्रममा भक्तपुरका समाजसेवी जेष्ठ नागरिक डा. इन्दुल केसी लाई सम्मान पत्र कार्यक्रमका प्रमुख भिक्षु बोधिसेन महास्थिवरले प्रदान गर्नुभएको थियो । डा. इन्दुल केसीज्यूले बिगत ६ वर्षदेखि यस मुनि विहारका विभिन्न आध्यात्मिक, शैक्षिक, स्वास्थ्य सेवा लगायतका कार्यहरूमा सहयोग प्रदान गरिआउनुभएकोमा सम्मान गर्नपाएकोमा विहारका प्रमुख भिक्षु विपस्सी महास्थविरले खÞुशी ब्यक्त गर्नुभयो । साथै आफूलाई सम्मान प्रदान गर्नुभएकोमा सम्मानित डा. इन्दुल केसीले यस मुनि विहारका सम्पूर्ण परिवारजनलाई कृतग्यता ब्यक्त गरी धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
यस कार्यक्रममा भक्तपुर, ललितपुर, काठमाडौं, काभ्रे, सिन्धुली लगायत विभिन्न जिल्ल्हरूबाट आमन्त्रित शयौंजवान भिक्षु तथा गृहस्थीहरूको उपस्थिति थियो ।
यसै कार्यक्रममा अमेरिकानो कोलोराडो निवासी प्रायुश श्रेष्ठ जो कक्षा ६ मा अध्ययनरत हुन् पनि बिधिवत रूपमा प्रब्रजित हुनुभयो । सो प्रायुश श्रेष्ठकी आमा बिनिशा श्रेष्ठ तथा हजुरआमा सरस्वती श्रेष्ठले आफ्नो सन्तानलाई प्रब्रजित गर्न पाएकोमा खÞुशी ब्यक्त गर्नुभयो । सो कार्यक्रमका प्रमुख धर्मगुरु भिक्षु बोधिसेन महास्थविर तथा भिक्षु विपस्सी दुबैले बुद्धका वचन र शिक्षाको महत्त्व बारे प्रवचन गर्नुभएको थियो । कार्यक्रमको अन्तमा थाइलैंडबाट प्राप्त ५ फÞुट अग्लो उभेको बुद्धमूर्ति मुनि विहारको तर्फबाट संघनायक भिक्षु बोधिसेन महास्थविरले सिन्धुली जिल्लाको शिखर शान्तिवन बुद्ध विहार, दुधौली नपा., वडा नं १० मा पूजा अर्चनाको लागी स्थापनार्थ सो विहारका प्रमुख भिक्षु प्रग्यारत्न स्थविरलाई प्रदान गर्नुभयो ।