नेकमा निर्माण क्षेत्र विषयमा संयुक्त अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न
असार ४, २०७९, शनिबार | विहान १०:२५ बजे | 20
भक्तपुर । जिल्ला प्रशासन कार्यालय भक्तपुरमा २०६० सालमा गैरनाफामुलक संस्थाकोरूपमा दर्ता भई सोही जिल्लाको चाँगुनारायण नगरपालिकामा सञ्चालित देशकै प्रतिष्ठित शैक्षिक संस्था नेपाल इन्जिनियरिङ कलेज(नेक)मा आज दक्षिण एसियाको निर्माण क्षेत्रको समसामयीक प्राविधिक विषयहरूमा नेक र भारतको आईआईटी बम्बईको आयोजनामा संयुक्त अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न भएको छ । गोष्ठीमा नेक, भारतको आईआईटी बम्बई र भुटानको विश्वविद्यालयका शोधकर्ता, शिक्षक र स्नातकोत्तर स्तरका विद्यार्थीहरू सहभागी भएका थिए ।
गोष्ठीमा पोखरा विश्वविद्यालयको प्रतिनिधिकोरूपमा नेकको सञ्चालक समितिका सदस्य उपप्राध्यापक इन्जिनियर अर्जुन गौतम, आईआईटी बम्बईका प्राध्यापक वेङ्कट सन्तोष कुमार, रोयल युनिभर्सिति अफ् भुटानका प्राध्यापक हेमलाल भट्टराई र नेकका प्राचार्य प्राडा हरिकृष्ण श्रेष्ठले गोष्ठीको महत्वबारेमा प्रकाश पार्नुभएको थियो ।
उक्त अन्तर्राष्ट्रिय गोष्ठीको दुईवटा मूल विषयहरू “निर्माण क्षेत्रमा सुरक्षा र मजदुर थकान व्यवस्थापन“ तथा “सामग्री आपूर्ति साङ्ग्लो व्यवस्थापन“मा केन्द्रित रहेर नेक तथा आईआईटी बम्बईका स्नातकोत्तर कार्यक्रममा विद्यार्थीले स्थलगत अनुसन्धानको क्रममा आफुहरूले देखेको भोगेको तथ्याङ्कहरू विष्लेशण गरी शोधको परिणाम प्रस्तुत गरेका थिए । आईआईटी बम्बईका शोधकर्ताहरू किशोर भगत र अभिशेक राज सिंहले शोध भ्रमणको नेतृत्व गर्नुभएको थियो ।
शोध भ्रमणको क्रममा दुवै शैक्षिक संस्थाका विद्यार्थीहरूले दुई हप्तासम्म नेपालका ६ वटा ठूला निर्माणस्थलहरू भ्रमण गरी प्राविधिक तथा मजदुरहरूसँग अन्तरकृया पनि गरेका थिए । निर्माण स्थलहरूमा अपनाउनुपर्ने सुरक्षाका न्यूनतम उपायहरू, थकित मजदुरहरूको उचित व्यवस्थापन, निर्माण सामग्री आपूर्तिकर्ता चयनमा अपनाउनुपर्ने बैज्ञानिक विधि जस्ता विषयहरूमा सामग्री प्रस्तुतकर्ताहरू र सहभागीहरूबीच प्राविधिक तथा कानूनी पक्षमा छलफल भएको थियो । नेपाल, भारत र भुटानका विद्यार्थीहरूले दुई हप्तासँगै काम गर्दा आफुहरूले भोगेका गैरप्राविधिक विषयहरूमा आपसी अनुभवहरू र पाएको शिक्षा आदानप्रदान गरेका थिए । समुहमा मलेर काम गर्ने सीप, भिन्न भाषा तथा संस्कृतिको कारण आउनसक्ने असमझदारी तथा वाधा जस्ता समस्याहरू कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा पनि गोष्ठीमा छलफल भएको थियो ।
अन्तर्राष्ट्रिय गोष्ठीको उपजकोरूपमा आएका सिफारिसहरू कार्यान्वयनमा लान सकिए दक्षिण एसिकाकै निर्माण व्यवस्थापनमा सुधार आउनसक्ने प्राचार्य प्राडा हरिकृष्ण श्रेष्ठले धारणा राख्नुभयो । नेकका सहायक प्राचार्य सहप्राध्यापक दुर्गाप्रसाद भण्डारीले गोष्ठी आयोजनामा प्रमुख भूमिका निभाउनुभएको थियो । शोध भ्रमणको संयोजन आईआईटी बम्बईका पूर्व विद्यार्थी सलिलराज अर्यालले गर्नुभएको थियो । उक्त गोष्ठी संचालनको लागि युरोपको इरास्मस प्लस कार्यक्रम अन्तर्गत समस्यामा आधारित सिकाई (पिबिएल साउठ एसिया) आयोजनाबाट वित्तीय सहयोग प्राप्त भएको जनाइएको छ ।
फाेटाेमा हेर्नुहाेस्...