मध्यपुर थिमि उद्योग बाणिज्य संघद्धारा नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना कार्यक्रम
असार ३, २०७९, शुक्रबार | दिउँसो ०३:५० बजे | 40
मध्यपुर थिमि उद्योग बाणिज्य संघले मध्यपुर थिमिको उद्योग बाणिज्य क्षेत्रमा नवनिर्वाचित पदाधिकारीहरूको भुमिका एवं बधाई तथा शुभकामना कार्यक्रम आज असार ३ गते शुक्रबार आयोजना गरेको छ ।
नव निर्वाचित जनप्रतिनिधिहरूलाई नेवारी परम्परा अनुसार अण्डा, माछा, दही सगुन, रक्सी, सिन्दुर, दोसल्ला, टोपी र फुलमालाले सम्मान गरेको सो अवसरमा मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले सम्मानले जिम्मेवारी वोध गराएको भन्दै पाँच बर्षे कार्यकालमा बिवादरहित विकास निर्माण कार्य र जनभावना अनुसार अघि बढ्ने बताउनुभयो ।
नगरसभाको तयारीमा रहेको भन्दै उहाँले विगतमा भएका राम्रा कार्यलाई निरन्तरता र नयाँ योजनाको तयारी गरिरहेको बताउनुभयो ।
संघका अध्यक्ष बिजय श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा उहाँले मध्यपुर थिमिको उद्योग र बाणिज्यको क्षेत्रमा सुब्यवस्था कायम गरि स्थानीय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा ब्यापारको बिकास गरि देशको आर्थिक ब्यवस्था दरिलो बनाई उद्योग र ब्यवसायको हक हितको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले संघको स्थापना भएको बताउनुभयो ।
कार्यक्रममा संघका सल्लाहकार एवं भक्तपुर उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष प्रदिप श्रेष्ठले नगरभित्र बिगतमा भएको विकास भन्दा दोब्बर बिकास गर्न सकोस् भन्दै हरेक वडामा उचित ढल, खानेपानी र जनताको समस्या समाधान गर्ने तर्फ अग्रसर हुनु पर्नेमा जोड दिनुभएको थियो । उहाँले नगरभित्रको घरेलु तथा साना र ठुलो उद्योग ब्यवसायहरूको संरक्षण गर्नेतर्फ नगरपालिकाले विशेष ध्यान दिन आग्रह समेत गर्नु भएको थियो ।
कार्यक्रममा संघका उपाध्यक्ष जगनाथ थापा श्रेष्ठ, सचिव जीवन श्रेष्ठ, लगायतका ब्यक्तिले कार्यक्रमको महत्वका बिषयमा बोल्नु भएको थियो ।