ख्वपमा शिक्षण विधिमा सूक्ष्म अनुसन्धान विषयक कार्यशाला गोष्ठी सुरु


असार ३, २०७९, शुक्रबार | विहान ०८:२० बजे | 35


ख्वपमा शिक्षण विधिमा सूक्ष्म अनुसन्धान विषयक कार्यशाला गोष्ठी सुरु

भक्तपुर । ख्वप कलेजको आयोजना र विश्वविद्यालय अनुसन्धान आयोगको सहकार्यमा ‘शिक्षण विधिमा सूक्ष्म अनुसन्धान’ विषयक तीनदिने कार्यशाला शुक्रबारदेखि सुरु भएको छ । गोष्ठी भक्तपुरको देकोचास्थित भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेजमा सुरु भएको हो ।
 भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उक्त कार्यशाला गोष्ठीको पानसमा दीप प्रज्जवलन गरी उद्घाटन गर्नुभयो ।
 कार्यक्रममा प्रमुख प्रजापतिले तीनदिने कार्यशाला गोष्ठीको पूर्ण सफलताको कामना गर्नुहुँदै कलेज र विद्यार्थीको निम्ति यस कार्यक्रम उपलब्धीमूलक हुने आशा व्यक्त गर्नुभयो ।
 शिक्षकहरूले आफूले सिकेको ज्ञान र सीप विद्यार्थीसमक्ष प्रयोग गर्न सके विद्यार्थीहरू लाभान्वित हुने बताउनुहुँदै विद्यार्थीहरूलाई किताबी ज्ञानसँगसँगै देशको समसामयिक विषय र देशभक्ति भावनाहरूबाट अभिप्रेरित गर्ने जिम्मा शिक्षकहरूको रहेको बताउनुभयो ।
 नेपालका दक्ष जनशक्ति सबै विदेशिँदा नेपालको विकासको गतिमा कमी आएको बताउनुहुँदै उहाँले विदेशबाट पढेर आफ्नै देशमा बसेर काम गर्ने नयाँ पुस्ता तयार गर्नुपर्ने आजको आवश्यकता हो भन्नुभयो ।
 देशको हित विपरीत ल्याइएका सन्धि सम्झौताको देशप्रेमी जनताले निरन्तर विरोध गर्नुपर्नेमा जोड दिनुहुँदै प्रमुख प्रजापतिले भक्तपुर नपाले ख्वप विश्वविद्यालय सञ्चालन गर्न आवश्यक भौतिक पूर्वाधार निर्माणमा जोड दिँदै आइरहेको छ भन्नुभयो ।
 ख्वप कलेजका प्राचार्य रुपक जोशीले उच्च शिक्षामा अनुसन्धानको धेरै महत्व हुने गरेको बताउनुहुँदै ख्वपले आयोजना गरेको कार्यशाला गोष्ठी औपचारिकताको लागि नभई नतिजामूलक रहने बताउनुभयो ।
 त्यस्तै गोष्ठीका प्रशिक्षक भरतसिंह थापाले नेपालमा हाल पुरानो र आधुनिक खालका शिक्षण विधिबाट अध्ययन अध्यापन गराउँदै आएकोमा यस किसिमको गोष्ठीले  नेपालको शिक्षा क्षेत्रमा विशेष योगदान पुग्ने बताउनुभयो ।
 कार्यशाला गोष्ठीको उद्घाटन सत्रमा ख्वप माविका प्राचार्य प्रकाशकुमार श्रेष्ठ, ख्वप कलेजका उपप्राचार्य राजेशकुमार श्रेष्ठ र शिक्षक सुन्दर श्रेष्ठले तीनदिने कार्यशाला गोष्ठी उपलब्धीमूलक हुने बताउनुभयो ।

फाेटाेमा हेर्नुहाेस्...

ख्वपमा शिक्षण विधिमा सूक्ष्म अनुसन्धान विषयक कार्यशाला गोष्ठी सुरु

Comments