शिक्षाले समाज परिवर्तन गर्ने हुँदा शिक्षा क्षेत्रमा लगानी गर्न कन्जुस्याई गर्न नहुने


जेठ २७, २०७९, शुक्रबार | दिउँसो ०२:११ बजे | 30


शिक्षाले समाज परिवर्तन गर्ने हुँदा शिक्षा क्षेत्रमा लगानी गर्न कन्जुस्याई गर्न नहुने

भक्तपुर । भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भनपाको आ.व. २०७९।८० को बजेट तर्जुमाको सन्दर्भमा नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरुबाट राय सुझाव संकलनसम्बन्धी कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि प्रजापतिले नेपाल मजदुर किसान पार्टीले घोषणापत्रमा जाहेर गरेको प्रतिबद्धता अनुसार शिक्षा, स्वास्थ्य, खानेपानी र सरसफाइका कार्यहरुलाई विशेष प्राथमिकतामा राख्दै कार्य गरिरहेको जानकारी दिनुहुँदै विगतमा झैं जनताको राय सुझाव संकलन गरी प्राथमिकताको आधारमा बजेट विनियोजन गर्दै जाने बताउनुभयो ।
उहाँले नेपाल सरकारले स्थानीय तह निर्वाचनमा मतपत्र छपाई गरेको कारण कागज अभाव भई पाठ्यपुस्तक छपाई गर्न नसकिएको भनी विद्यार्थीको भविष्यमाथि खेलवाड गरिरहेको भन्नुहुँदै भृकुटी कागज कारखानालाई कवाडीको भाउमा विक्री गरी विदेशबाट कागज निर्यात गर्नु विडम्बना हो भन्नुभयो ।
शिक्षाले समाज परिवर्तन गर्ने हुँदा शिक्षा क्षेत्रमा लगानी गर्न कन्जुस्याई गर्न नहुने भन्नुहुँदै उहाँले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ७ वटै शैक्षिक संस्थाहरुका देशका ७२ जिल्लाबाट ७ हजारभन्दा बढी विद्यार्थीहरुले सस्तो र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको तथा भनपाभित्र सञ्चालित सामुदायिक विद्यालयहरु तुलनात्मक रुपमा राम्रो भएतापनि अझ गुणस्तरीय बनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा उपप्रमुख रजनी जोशीले भक्तपुर नपाको शिक्षा, स्वास्थ्य, सरसफाई र सम्पदा संरक्षणसम्बन्धी कार्यलाई “ख्वप मोडेल”को रुपमा देशैभरी चर्चा परिचर्चा हुनुमा जनप्रतिनिधिहरु तथा कर्मचारीहरु मात्र नभई सम्पूर्ण शिक्षण संस्थाहरु र नगरबासीहरुको योगदान अतुलनीय रहेको बताउनुहुँदै अन्य स्थानीय तहहरुले शिक्षाबारे भक्तपुरबाट सिक्न खोजिरहेको र यो उपलब्धीलाई निरन्तरता दिंदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी शिक्षा प्रदान गर्न सबै शिक्षण संस्थाको साथ र सहयोगको अपेक्षा गर्नुभयो ।
उहाँले सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशालाको व्यवस्था गर्दै “एक घर एक स्नातक” लाई निरन्तरता दिंदै भक्तपुरलाई ज्ञान विज्ञान र प्रविधिको केन्द्र बनाउन भनपाले “ख्वप विश्वविद्यालय” स्थापना गर्ने लक्ष्य राखेको बताउनुभयो ।
कार्यक्रममा भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले भक्तपुर नपाले सीमित श्रोत साधनका बाबजुद जनताको असीमित आवश्यकतालाई सम्बोधन खोजिरहेको जानकारी दिनुहुँदै स्थानीय तह सदस्य निर्वाचनमा नेपमकिपाले घोषणापत्रमा उल्लेख गरेका शिक्षासम्बन्धी बुँदाहरुलाई पूरा गर्न नपाको वार्षिक बजेट, नीति तथा कार्यक्रममा सम्बोधन गर्दै जानकारी दिनुभयो ।
भनपा–९ वडाका वडाध्यक्ष रबिन्द्र ज्याख्वले भनपाले विगतदेखिनै जनभावना अनुसार शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्दै नगरलाई सफा, सुन्दर र शैक्षिक गन्तब्य बनाई जीवनोपयोगी शिक्षालाई जोड दिने बताउनुहुँदै जनतालाई सकारात्मक प्रभाव पार्ने कार्यलाई महत्व दिंदै नीति तथा कार्यक्रम बनाउँदा प्राथमिकीकरण गरिने बताउनुभयो ।
कार्यक्रममा राय सुझाव संकलनको क्रममा प्याब्सन भक्तपुरका अध्यक्ष रमेशचन्द्र श्रेष्ठ, प्रधानाध्यापकहरु महेन्द्रगोपाल कर्माचार्य, राम हाडा, पुरुषोत्तम ग्वाछा, सर्जनी जोशी, कृष्णप्रसाद धन्छा, अनिल कसपाल, जयराम गोर्खाली, कृष्णराम त्वानाबासु, पुण्यराम कवां र गंगाधर हाडाले नगरको शैक्षिक स्तर उकास्न नपाको आगामी वार्षिक बजेटमा सामुदायिक र संस्थागत विद्यालयहरुबीच विभेद नराखी तालिम कार्यक्रमहरु सञ्चालन गरिनुपर्ने, विद्यार्थीहरुलाई दिइने छात्रवृत्तिलाई सामुदायिक र संस्थागतमा अध्ययनरत विद्यार्थीहरुबीच न्यायोचित रुपमा वितरण गर्नुपर्ने, स्थानीय पाठ्यक्रमको पाठ्यपुस्तक तयार गर्नुपर्ने, पाठ्यक्रम प्रबोधिकरण कार्यक्रम, प्रयोगशाला, लाइब्रेरी, श्रब्य दृष्य सामग्री, इन्टरनेट, सूचना प्रविधि तथा आधुनिक शैक्षिक सामग्रीहरुको व्यवस्थाका लागि बजेट विनियोजन गर्नुपर्ने लगायतका सुझाव दिनुभयो ।

Comments