भनपा ४ स्थित श्री जनसेवा माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन


जेठ २४, २०७९, मङ्गलबार | विहान ०९:४१ बजे | 20


भनपा ४ स्थित श्री जनसेवा माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपा वडा नं. ४ स्थित श्री जनसेवा माध्यमिक विद्यालयको नवनिर्मित भवनको एक समारोहबीच रिबन काटेर मंगलबार उद्घाटन गर्नुभयो ।
कार्यक्रममा बोल्नुहुँदै उहाँले योग्य शिक्षकले असल विद्यार्थी जन्माउने बताउनुहुँदै भक्तपुर नपाभित्र सञ्चालित सामुदायिक विद्यालयहरुको शैक्षिक स्तर उकास्न र विद्यालयको भौतिक सुधार गर्दै लाने बताउनुभयो ।
उहाँले ती विद्यालयहरुलाई आवश्यक सहयोग गर्न नगरपालिका सँधै तत्पर रहेको बताउनुहुँदै सामुदायिक विद्यालयको शिक्षा निजी विद्यालयभन्दा कुनै पनि हिसाबले कम हुन नहुने बताउनुभयो ।
शिक्षाको जग राम्रो भए देशको लागि आवश्यक दक्ष जनशक्ति उत्पादनमा समेत मद्दत पुग्ने बताउनुहुँदै प्रतिस्पर्धामा टिक्न नसकेकाहरुको अस्तित्व हराउँदै जाने खतरा बढ्ने बताउनुभयो ।
विद्यालयहरुले युगसुहाउँदो प्रविधिमैत्री शिक्षामा जाड दिनुपर्ने बताउनुहुँदै नगर प्रमुख प्रजापतिले विद्यार्थीहरुले उच्च शिक्षा हासिल गरी आफ्नै देशको सेवा गर्ने भावनाले अध्ययन गर्नुपर्ने बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ४ का वडाध्यक्ष उपेन्द्र सुवालले सामुदारियक विद्यालयहरुको शैक्षिक गुणस्तर राम्रो भए गरिबका छोराछोरी लाभान्वित हुने बताउनुहुँदै विद्यालयको भवन निर्माणमा सहयोगी भूमिका खेल्ने सबैमा धन्यवादज्ञापन गर्नुभयो ।
विद्यालयका प्रअ कृष्णश्वरी दुवालले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयको भावी योजनाहरुबारे अवगत गराउनुभयो ।
श्री जनसेवा मावि व्यवस्थापन समितिका अध्यक्ष एवम् पूर्व वडाध्यक्ष कुमार चवालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विद्यालयका संस्थापक सदस्य राजाराम सुवाल, शिक्षिका कमलशोभा कायस्थ र पूर्व वडा सदस्य राजेन्द्र माकले पनि बोल्नुभएको थियो ।
समारोहमा नगर प्रमुख प्रजापतिले संस्थापक सदस्य राजाराम सुवालमार्फत भवन पुनःनिर्माणको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो ।
सोही क्रममा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई विद्यालयको तर्फबाट बधाईज्ञापन कार्यक्रम समेत आयोजना गरेको थियो भने भवन निर्माणमा आर्थिक तथा भौतिक सहयोग गर्ने सबैलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।

फाेटाेमा हेर्नुहाेस्...

भनपा ४ स्थित श्री जनसेवा माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन

Comments