विश्व वातावरण दिवसको अवसरमा भाज्या पुखु परिसरमा सरसफाई
जेठ २२, २०७९, आइतबार | विहान ०४:२४ बजे | 35
भक्तपुर । ५ जुन अर्थात विश्व वतावरण दिवसको अवसरमा भक्तपुर नगरपालिकाको आयोजनामा आइतबार भक्तपुर नपा वडा नं. १ दुधपाटीस्थित भाज्या पुखुमा सरसफाई कार्यक्रम भयो ।
कार्यक्रममा बोल्नुहुँदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मानव समाज र प्रकृतिबीचको सम्बन्ध अन्योन्याश्रित भएको बताउनुहुँदै यिनीहरुको संरक्षण गर्दै वातावरणीय सन्तुलयन कायम गर्नु हाम्रो साझा कर्तव्य भएको बताउनुभयो ।
काठमाडौं उपत्यकाका नेवार समुदायले इनार, ढुंगाधारा, कुवालगायत खानेपानीको स्रोत सरसफाई गरी मनाउने सिथि नखः चाड आफै पनि वैज्ञानिक पर्वको रुपमा रहेको बताउनुहुँदै उहाँले नयाँ पुस्तालाई यहाँको सम्पदाप्रतिको माया र अपनत्व कायम राख्न यस किसिमको सरसफाई कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाले विगतका दिनहरुमा सञ्चालन गर्दै आइरहेको पाक्षिक सरसफाई कार्यक्रममा स्थानीय जनताको समेत उल्लेखनीय सहभागिता रहने गरेको बताउनुहुँदै नपाको हरेक गतिविधिलाई
जनताकै सहयोग र सहभागितामा गर्न सके फाइदाजनक हुने बताउनुभयो ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले नेवार समुदायले मनाउँदै आएको सिथि नखः पर्व आफैमा पानीको मुहान सरसफाई गर्ने पर्वको रुपमा रहेको बताउनुहुँदै सामूहिक प्रयासबाट हुने कामबाट व्यापक
जनताकै हित हुने बताउनुभयो ।
भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीका अनुसार सरसफाई कार्यक्रममा भक्तपुर नगरपालिकाका कर्मचारी, ख्वप कलेज वातावरण संकायका विद्यार्थी, बासु कलेज कृषि विषयका विद्यार्थी,
स्थानीय युवा, विद्यार्थी, किसानलगायतको उपस्थिति रहेका थिए ।