भक्तपुर जिल्ला समन्वय समितिको पहिलो जिल्ला सभाको बैठक सम्पन्न
जेठ २०, २०७९, शुक्रबार | विहान ०८:४२ बजे | 40
भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा जिल्ला सभाको पहिलो बैठक शुक्रबार जि.स.स. को सभाहलमा बस्यो । नेपालको संविधानको धारा २२० (२) बमोजिम बि.सं. २०७९ को स्थानीय तह निर्वाचन अन्तर्गत भक्तपुर जिल्लाको अन्तिम परिणाम प्राप्त भइसकेपछि ३० दिनभित्र उक्त बस्नुपर्ने व्यवस्था रहेको छ ।
बैठकले नेपालको संविधानको धारा २२० को उपधारा ३ बमोजिम एकजना प्रमुख, एकजना उपप्रमुख, कम्तीमा तीनजना महिला र कम्तीमा एकजना दलित वा अल्पसंख्यक सहित बढीमा नौ जना सदस्य रहेको जिल्ला समन्वय समिति गठनको व्यवस्था रहेकोमा एकजना प्रमुख, एकजना उपप्रमुख, कम्तीमा तीनजना महिला र एकजना दलित वा अल्पसंख्यकसहित जम्मा ७ जनाको जिल्ला समन्वय समिति गठनका लागि निर्वाचन प्रक्रिया अगाडि बढाई दिन मुख्य निर्वाचन अधिकृतको कार्यालय भक्तपुरलाई अनुरोध गर्ने निर्णय गर्यो ।
साथै उक्त बैठकले वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष रुपमा सम्पन्न गर्न आ–आफ्नो क्षेत्रबाट सक्रिय भूमिका निर्वाह गर्नुभएका मतदाता, राजनीतिक दल, निर्वाचन आयोग, निर्वाचनमा खटिएका सम्पूर्ण राष्ट्रसेवक कर्मचारी, सञ्चारकर्मी, पर्यवेक्षकलगायत सबैलाई धन्यवादज्ञापन गर्ने निर्णय गर्यो ।