चाँगुनारायणबासीलाई निःशुल्क रगत ः प्रवक्तामा खत्री नियुक्त
जेठ १९, २०७९, बिहीबार | विहान ०५:०३ बजे | 50
भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाको पहिलो कार्यपालिका बैठकले नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउने निर्णय गरेको छ । नगर प्रमुख जीवज खत्रीको अध्यक्षतामा कार्यपालिकाको बुधवार बसेको बैठकले नगरपालिका क्षेत्रभित्र स्थायी बसोबास गर्ने नागरिकहरुलाई आगामी आर्थिक वर्षबाट लागू हुने गरी स्वास्थ्य उपचारको क्रममा रगतको आवश्यकता परेमा नेपाल रेडक्रस सोसाइटी भक्तपुरबाट निःशुल्क रुपमा उपलब्ध गराउने निर्णय गरेको हो ।
बैठकले निःशुल्क रगत उपल्बध गराउन कार्यविधि निर्माण गरी कार्यान्वयनमा ल्याउने निर्णय गरेको नगरपालिकाका प्रमुख जीवन खत्रीले बताउनुभयो । उहाँले रक्तदातालाई प्रोत्साहित गर्नका लागि रक्तदाता प्रोत्साहन खर्चलाई बढाउने समेत निर्णय गरेको जानकारी दिनुभयो । यसअघि प्रति रक्तदाता ५० रुपैयाँ दिइरहेकोमा त्यसलाई बढाएर एकसय रुपैयाँ दिने निर्णय भएको छ ।
बैठकले चाँगुनारायण नगरपालिकालाई भ्रष्टाचारमुक्त नगरपालिका बनाउने निर्णय समेत गरेको छ । ‘हामीले २०७४ सालको निर्वाचनपछि नै नगरपालिकालाई भ्रष्टाचारमुक्त बनाउनुपर्छ भनेर आवाज उठाउँदै आएका थियौं, अहिले सो बारेमा निर्णय भएको छ,’ बैठकमा सहभागी वडा नं. ९ का वडाअध्यक्ष गणेश त्यातले भन्नुभयो ।
त्यस्तै बैठकले राजस्व परामर्श समिति, योजना अनुगमन समिति र स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति समेत गठन गरेको छ । बैठकले नगरपालिकाको प्रवक्तामा वडा नं. ८ का वडाअध्यक्ष जनक खत्रीलाई चयन गरेको छ ।