विपद कार्ययोजना बनाउन मेयरको निर्देशन
जेठ १६, २०७९, सोमबार | विहान ०८:१३ बजे | 60
भक्तपुर । वर्षायाम सुरू भएसँगै हुनसक्ने सम्भावित जोखिम न्यूनीकरणका लागि चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले विपद् व्यवस्थापन कार्ययोजना बजाउन निर्देशन दिनुभएको छ । जोखिम न्यूनीकरणका लागि नगर प्रमुख खत्रीले नगरस्तरीय विपद् व्यवस्थापन कार्ययोजना बनाउन निर्देशन दिनुभएको हो ।
सोमबार चाँगुनारायण नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको अन्तरक्रियामा नगर प्रमुख खत्रीले चाँगुनारायण नगरपालिका विभिन्न प्राकृतिक प्रकोपको जोखिममा रहेकाले विपद्बाट हुने क्षति कम गर्न र विपद् प्रभावितको तत्काल उद्दार र राहत पुग्ने कार्यक्रम समावेश गरि कार्ययोजना बनाउन भन्नुभयो ।
विभिन्न महामारी जन्य रोगहरू र प्राकृतिक प्रकोपहरूको रोकथाम नियन्त्रणका लागि सरोकारवालाहरूसँग अन्तरक्रिया तथा आरआरटी स्वास्थ्यकर्मी परिचालन कार्यक्रममा उहाँले चाँगुनारायणवासीलाई स्वस्थ बनाउनका लागि स्वास्थ्यकर्मीहरूको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो ।
उहाँले नागरिकको स्वास्थ्यका सन्दर्भमा कुनै कसर बाँकी नराख्ने उल्लेख गर्दै नगरपालिकाबाट प्रदान गरिने कामहरूलाई जनमैत्री बनाइने समेत बताउनुभयो ।
कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाको स्वास्थ्य शाखा अधिकृत कुमारप्रसाद दाहालले समयमै योजना बनाएर काम गर्दा विपद्बाट हुने क्षतिलाई कम गर्न सकिने बताउनुभयो ।
सोही कार्यक्रममा चाँगुनारायण नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख सत्यकुमार दुवालले नगरपालिकाले महामारी नियन्त्रणका लागि काम गरिरहेको बताउनुभयो ।
उहाँले आगामी दिनमा थप योजना बनाएर काम गरिने समेत बताउनुभयो । कार्यक्रममा विभिन्न वडाका जनप्रतिनीिध, स्वास्थ्यकर्मीलगायतको सहभागीता रहेको थियो ।