चाँगुनारायणमा शैक्षिक सत्रको तयारी कार्यशाला


जेठ १२, २०७९, बिहीबार | दिउँसो ०१:०१ बजे | 20


चाँगुनारायणमा शैक्षिक सत्रको तयारी कार्यशाला

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाले शैक्षिक सत्रको तयारी कार्यशाला गरेको छ । नगर क्षेत्रभित्र रहेका विद्यालयहरुका प्रधानाध्याक तथा प्रिन्सिपलहरुका लागि सो कार्यशाला गरेको हो । कार्यशालाको उद्घाटन चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले गरेका थिए ।
‘शैक्षिक सुशासन, गुणस्तरीय शिक्षाको छ रहर ः शिक्षाको ज्योतिले जगमागाउँ चाँगु नगर’ भन्ने नारा तय गरी शिक्षामा अघि बढिरहेको चाँगुनारायणलाई शैक्षिक क्षेत्रको नमूना नगरपालिका बनाउनका लागि शिक्षकहरुको भूमिका महत्वपूर्ण हुने नगर प्रमुख खत्रीको भनाइ छ । त्यसका लािग शिक्षण कार्यमा शिक्षकहरुले इमान्दारिता प्रस्तुत गर्नुपर्नेमा उनले जोड दिए ।
उनले शिक्षक नै समाजमा आदर्श व्यक्ति भएकाले आदर्श व्यक्तिले मात्र आर्दश समाज निर्माण गर्न सक्ने बताउँदै विद्यालयको स्तरोन्नति गरी गुणस्तरीय शिक्षाका लागि शिक्षकले मिहिनेत गर्नुपर्नेमा जोड दिए ।
उनले शिक्षकको हितका लागि, शिक्षकको पेशागत क्षमता र दक्षता वृद्धिका लागि नगरपालिकाले शिक्षक प्रोत्साहनका कार्यक्रम ल्याउने बताए ।
कार्यक्रममा उनले नगर क्षेत्रका विद्यालयहरुको स्तरोन्नतिको आवश्यकता औंल्याउँदै अभिभावकको मन जित्ने वातावरण बनाएर अघि बढ्न जरुरी रहेको उल्लेख गरे ।
सोही कार्यक्रममा उप नगरप्रमुख रमेश बुढाथोकीले शिक्षालाई गुणस्तरीय बनाएर मात्र समृद्ध समाजको परिकल्पना गर्न सकिने भएकाले शिक्षकहरुलाई सोही अनुसार तयार रहन र तयारी साथ पठनपाठन गर्न सुझाव दिए ।
शिक्षकहरुको क्षमता अभिृवृद्धि गर्न तथा शैक्षिक सत्रको तयारी अन्तर्गत विद्यालयले गर्नुपर्ने कामहरुबारे जानकारी दिन एकदिने कार्यशाला गरिएको नगरपालिकाको शिक्षा शाखा प्रमुख वीरबहादुर खड्काले बताए ।
उनले नगरपालिकामा शतप्रतिशत बालबालिका विद्यालयको पहुँचभित्र रहेको उल्लेख गर्दै सो कार्यलाई निरन्तर अघि बढाउनुपर्ने बताए ।
शिक्षा शाखा प्रमुख खड्काले चाँगुनारायण नगरपालिकामा रहेका विद्यालयहरुले गुणस्तर कायम गर्नका लागि महत्वपूर्ण भूमिका खेलिरहेको बताए ।
कार्यक्रममा नगर शिक्षा समितिका पदाधिकारीहरुले नवनिर्वाचित मेयर र उपमेयरलाई स्वागत गरेका थिए ।
चार वटा समूह विभाजन गरी आयोजना गरिएको कार्यशालामा सहभागी शिक्षक तथा प्रधानाध्यापकहरुले अनुभव सहित विभिन्न योजनाहरु पेश गरेका थिए ।

Comments