मूल्यवृद्धिको कारण चुनावमा राजनीतिक दलहरुले गरेको खर्च असुल्न त होइन?
जेठ १२, २०७९, बिहीबार | विहान ०४:२५ बजे | 30
सन्तोषी सन्जेल
वैशाख ३० गतेको स्थानीय निर्वाचन सम्पन्न भएको भोलिपल्ट नै तेल, पेट्रोल इत्यादिको मूल्यवृद्धि हुन्छ । चुनावपछि आजका दिनसम्म लगभग दुई पटक मूल्यवृद्धिका समाचारहरु हामी जनताले पाइसकेका छौँ । के हो त मूल्यवृद्धिको वास्तविक कारण ? कतै चुनावमा राजनीतिक दलहरुले गरेको खर्च असुल गर्न त होइन?
सत्ता र भोटको लागि गरिएको कुपन प्रणालीको वास्तविकता सायद अब भने कयौंले बुझ्नुभयो होला ?दुईदिनको क्षणिक स्वार्थमा लोभिएर पछि लाग्नुको परिणाम आज प्रष्ट देख्न सकिन्छ ।
देश कतातिर गइरहेको छ भन्नेतिर सरकारको ध्यान छैन । सोझासाझा नेपाली जनताहरुबाट कसरी असुल गर्ने भन्ने मात्र पिर छ पदमा पुगेका पदाधिकारीहरुलाई । दैनिक लाखौं नेपाली जनताहरु विदेशतिर लम्किदै छन् । के यसको कारण सरकारले बुझ्न चाहयो ? अह ! कहिल्यै चाहेन । वास्तवमा जब देशमा रोजगारको अवसर छैन ,खटिए अनुसार प्रर्याप्त तलबको व्यवस्था छैन । तर पनि दैनिक प्रयोग हुने वस्तुको मूल्यवृद्धि भइरहदा, जनताले कसरी जिविकोपार्जन गर्ने त ? त्यसैले रहरले होइन, बाध्यताले विदेशिएका छन् नेपाली जनताहरु । अनुसन्धान गर्ने हो भने आज प्रत्येक घरको एक न एक व्यक्ति विदेशमा छन, खाडी मुलुकमा छन् । कारण देश अनि आफ्नाको दरिद्र अवस्था ।
कति घटिया हुदो रहेछ राजनीतिको खेल । देश अनि जनताको भलाई गर्छु भन्दै पदमा पुगेकाहरु नै हुन् अहिले मूल्यवृद्धि गर्नेहरु । वर्तमान समयमा चुनावको नतिजा नआउदै जनतालाई अनेक प्रकारको बोझ बोक्नु परिरहेको छ । सोच्दै छु, राजनीतिको दलदलमा अझै कति फस्नु पर्ने हो नेपाली जनता ? थोरै तलबले घर खर्च, बालबालिकाका शिक्षा, स्वास्थ्य, परिवारको जिम्मेवारी सबै धानेर पनि सन्तुष्ट भए झै गर्ने नेपाली जनतालाई अझै कति आर्थिक बोझ दिने सोच छ र सरकार ? मासिक दस÷बीस हजर तलब खानेलाई होइन, दैनिक लाखौं खाएर आफ्नो ढुकुटी भर्नेहरुका लागि मूल्यवृद्धि गर । उनीहरुलाई बोझ देउ । उनीहरुलाई दोष देउ ।
आज हरेक सामानको मूल्यवृद्धि भइरहेको छ । मनलाग्दी भइरहेको छ । कतिसम्म चलखेल गर्ने बिचार छ र अझै ? नेपाली जनता सोझा छन् तर राजनीतिको गतिविधिबारे अन्जान छन् भन्ने गलतफेमी चाहिँ नपाल्नु नि स्वार्थी सरकार । स्पस्टीकरण बिना मूल्यवृद्धि गर्दा नेपाली जनता चुप लागेर बस्ने छैनन्,। जवाफ र परिवर्तनका लागि हरपल लड्ने छन् ।
अन्त्यमा आफ्नो होइन, देशको विकास गर सरकार ।