नगर प्रमुख प्रजापतिसँग केयुकेएलका प्रमुख शाक्यको भेट
जेठ ९, २०७९, सोमबार | दिउँसो ०२:२५ बजे | 40
भक्तपुर । अबको २–३ दिनभित्रै मेलम्चीको पानी भक्तपुरमा वितरण हुने भएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रमुख मिलनकुमार शाक्यले सोमबार भेट गर्नुहुँदै मेलम्चीको पानी अबको २–३ दिनभित्रै वितरण गरिने गराउनुभयो ।
भेटमा नगर प्रमुख प्रजापतिले भक्तपुरमा पानीको सहज वितरणलाई प्राथमिकतामा राख्दै आएको बताउनुहुँदै खानेपानीको समस्या समाधान छिटै गर्नु आवश्यक भएको बताउनुभयो । उहाँले खानेपानीको समस्या हाल भक्तपुरको महत्वपूर्ण समस्याको रुपमा रहेको बताउनुहुँदै जनतालाई छिटोभन्दा छिटो सहज तरिकाले मेलम्चीको पानी वितरणमा जोड दिनुपर्छ भन्नुभयो ।
भेटमा केयुकेएलका प्रमुख मिलनकुमार शाक्यले जनप्रतिनिधिहरूले खानेपानी व्यवस्थापनमा चासो लिएकोप्रति धन्यवाद दिनुहुँदै अबको २–३ दिनभित्रै कटुञ्जे पानी ट्याड्ढीबाट मेलम्चीको पानी भक्तपुरमा वितरण हुने तयारी भइरहेको बताउनुभयो । उहाँले पानीको स्रोत बढाउने प्रत्यत्न पनि भइरहेको र सुन्दरीजलमा थप १० करोड लिटर थप्ने योजना अघि बढाइरहेको बताउनुभयो ।
उहाँले महादेव खोलामा बाँध बाँधेर भक्तपुरमा पानी वितरण गर्ने योजनालाई अघि बढाउने पहल भइरहेको बताउनुहुँदै प्रमुख शाक्यले भक्तपुरबासीलाई सहज पानी उपलब्ध गराउन केयुकेएलले निरन्तर प्रयास जारी राखेको बताउनुभयो । भेटमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, नपाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, केयुकेएल भक्तपुरका प्रमुख सुरेन्द्र हिमालय श्रेष्ठ, ई. चेतबहादुर ऐरलगायतको उपस्थिति थियो ।