भक्तपुर नगरपालिका वडा नं ९ का वडाबासीहरु मात्र २६ जना उम्मेदवार
जेठ ९, २०७९, सोमबार | विहान १०:५५ बजे | 100
भक्तपुर । नेपाल मजदुर किसान पार्टी भनपा ९ दत्तात्रय चुनाव परिचालन समितिको आयोजनामा समीक्षा कार्यक्रम एक समारोहबीच सकोलानमा आईतवार सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् भनपा वडा नं ९ का निर्वाचित वडाध्यक्ष रबिन्द्र ज्याख्वले मत आएको तरिका हेर्दा पार्टीको भोट धेरै आएको देखिएको र व्यक्तिगत मत कमै माात्र आएको देखिएको बताउँदै सबैको मेहनतको परिणाम हो भन्नुभयो । उहाँले मतदाताहरु र निर्वाचितहरु विर्गन नदिन समेय मै सचेत गर्नुपर्ने बताउँदै हरेक निर्णय सरसल्लाहले मात्र गर्ने बताउनुभयो । उहाँले नयाँ पुस्ता मतदाताहरुलाई समेत्न गतिविधिहरु गरिरहनुपर्ने बताउनुभयो ।
उहाँले वडा नं ९ का वडाबासीहरुमात्र २६ जना उम्मेदवार भएको त्यसमा प्रमुखका उम्मेदवारमात्रै ६ जना रहेकोले निर्विरोध नभई निकै प्रतिस्पर्धा पूर्ण हो भन्नुभयो । उहाँले विपक्ष उम्मेदवारहरु एउटा वर्गका प्रतिनिधि भएको बताउँदै निर्वाचित भई सकेपछि सबैको उम्मेदवार भएकोले कसैलाई विभेद नगर्ने बताउनुभयो । उहाँले कमजोरी हुन नदिन समयमै सचेत गर्नुपर्ने बताउँदै खानेपानी समस्या समाधनका बाटोहरु, ढल निकास सुधार र आवास योजना बारे बताउनुभयो ।
कार्यक्रममा नेमकिपा भक्तपुर नगर समितिका प्रतिनिधि कृष्णगोबिन्द लाखाले विपक्षले नेमकिपा प्रति नकारात्मक मन्तव्यले मतदाताहरुले विपक्षलाई मतदान नगरी नेमकिपालाई मत दिएको बताउनुभयो । उहाँले युवा चाहना समेटेर परिचालन गर्नुपर्ने बताउनुभयो । उहाँले विपक्षले किन मत दियो ? त्यसको कारण पार्टीको योगदान वा व्यक्तिगत प्रभावले मत बढेको हो समीक्षा गर्नुपर्ने बताउनुभयो । उहाँले विपक्षको गतिविधि, कमीकमजोरी, युवा विद्यार्थी परिचालन बारे समीक्षा आवश्यक छ भन्नुभयो ।
कार्यक्रममा नेमकिपा भनपा ९ समितिका अध्यक्ष कृष्णभक्त लवजुले पार्टीको कार्यमा व्यक्ति गौण हुने बताउँदै मतदाता शिक्षाको अभाबको कारण केही मत बदर भएको भन्नुभयो । उहाँले युवा पुस्ता लडाकु हुने भएकोले युवा परिचालन गर्नुपर्नेमा निर्विकल्प भएपनि युवाहरु अनुशासनको बन्धनमा बाँधिन नचाहने हुनाले समेत्न गा¥हो भएकोले युवा परिचालन गरि संगठित गर्नुपर्ने बताउनुभयो । उहाँले सत्रुलाई कमजोर कहिल्यै ठान्न नहुने भन्दै निर्वाचन वर्ग संघर्ष भएको बताउनुभयो ।
कार्यक्रममा पूर्व वडाध्यक्ष विष्णुबहादुर मानन्धरले समन्वय गर्ने कार्यमा अभाव भएको बताउँदै पुराना कार्यकर्ताहरुलाई समेत्नु बताउनुभयो । उहाँले संकटको समयमा सहयोग गर्ने मात्र पार्टी कार्यकर्ता हुने बताउनुभयो ।
कार्यक्रममा समीक्षा बारे बोल्दै निरज लवजूले ५ बर्षे जनप्रतिनिधिको गतिविधि सञ्चार माध्यममा छाएकोले र नयाँ पुस्तामा भक्तपुर राष्ट्रवाद र अधिवक्ता तारा बरालले नेमकिपा जिताउनुपर्ने अभिव्यक्ति र विपक्षको मन्तव्यले नयाँ पुस्ता चिढिएकोले अत्यधिक मत बढेको बताउँदै अब नयाँ पुस्ता युवा भावनालाई कसरी संस्थागत गर्ने भन्ने विषयमा समिक्षा र परिचालन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रम नेमकिपा भनपा ९ दत्तात्रय चुनाव परिचालन समितिका संयोजक सञ्जय मानन्धरको सभापतित्वमा भएको कार्यक्रममा इन्द्र बहादुर प्याथ, ज्ञानबहादुर मानन्धर, कृष्ण बहादुर प्रजापति, रामकृष्ण प्रजापति, श्यामकृष्ण लवजु, लक्ष्मी प्रसाद गाईजू, सुनिल जंगम, पशुपति भक्त थकु, रत्न चवाल, विशेश्वर मानन्धर समीक्षात्मक मन्तव्य राख्नु भएको थियो ।