सेवा निबृत शिक्षक समाजले दियो भक्तपुर नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना


जेठ ७, २०७९, शनिबार | दिउँसो ०१:१५ बजे | 30


सेवा निबृत शिक्षक समाजले दियो भक्तपुर नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना

भक्तपुर । सेवा निबृत शिक्षक समाज भक्तपुरले भक्तपुर नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई शनिबार एक कार्यक्रम गरी बधाई तथा शुभकामना दिएका छन् । नगरपालिकामा निर्वाचित मेयर, उपमेयर, वडा अध्यक्षहरुलाई कार्यक्रम गरी बधाई तथा शुभकामना दिएको हो । कार्यक्रममा समाजका अध्यक्ष अम्बिकामान मानन्धरले सवै नवनिर्वाचित जनप्रतिनिधिहरुलाई खादाले सम्मान गरी बधाई तथा शुभकामाना दिए ।
कार्यक्रममा मेयर प्रजापतिले ख्वप विश्वविद्यालयका माग निरन्तर गरिरहँंदा पनि विश्वविद्यालय सञ्चालन गर्न अनुमति प्राप्त नभएकोमा दुःख व्यक्त गर्दै नयाँं विकल्पको रुपमा नयाँं कलेज चलाउने योजना रहेको सुनाए ।
हाल सात वटा कलेजहरु सञ्चालन गर्दै आएको भक्तपुर नगरपालिकाले ख्वप विश्वविद्यालय सञ्चालनमा माग गर्दै आएको छ । उसले विश्वविद्यालयको अनुमति दिए चिकित्सा शाश्त्र (एमवीवीएस) अध्यापन गराउने कलेज सञ्चालन गर्ने योजना उसको छ ।
सोही अवसरमा उनले सूर्यविनायकको कटुञ्जेस्थित खानेपानी ट्यांकीमार्फत जेठको दोस्रो साताबाट भक्तपुर नगरपालिकामा खानेपानी वितरण सुरु हुन लागेको जनाए । आफूसहित उपप्रमुख रजनी जोशी, वडाध्यक्षहरु रबीन्द्र ज्याख्व, हरिप्रसाद बासुकला, भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी र खानेपानी कार्यालय भक्तपुरका प्रमुख सुरेन्द्र हिमालय श्रेष्ठले शुक्रबार संयुक्त रुपमा कटुञ्जेस्थित खानेपानी ट्यांकीमा स्थलगत निरीक्षण गरेको उनले स्मरण गरे । सोही अवसरमा प्रमुख प्रजापतिले मेलम्चीको पानी छिटोभन्दा छिटो भक्तपुरमा वितरण गरेर खानेपानीको दीर्घकालिन समस्या समाधान गरिदिने बताए ।
त्यस अवसरमा आफूले केयुकेएलका प्रमुख मिलन शाक्य र काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जिव विक्रम राणासँग कुराकानी गरेको उनले बताए ।
सोही क्रममा केयुकेएलका शाक्य र सीईओ राणाले २०७९ वैशाख १९ गतेबाटै कटुञ्जेको खानेपानी ट्यांकीमा मेलम्चीको पानी खसालिसकेको र अब छिटै भक्तपुरमा उक्त पानी वितरण हुने बचनबद्धता व्यक्त गरेको प्रजापतिले सुनाए ।
कटुञ्जेमा हाल ६० लाख लिटर र १०।१० लाख लिटर गरी ८० लाख लिटर बराबर क्षमता भएको खानेपानी ट्यांकी निर्माण भइरहेको उनले अवगत गराए । खानेपानी पाइप बिछ्याउने कार्य सकिएलगत्तै भक्तपुरमा पनि मेलम्चीको पानी वितरण सुरु गर्ने उनले बताए ।
कटुञ्जे खानेपानी ट्यांकीमा खसालिएको मेलम्चीको पानीको गुणस्तर परीक्षणलगत्तै मेलम्चीको पानी २४ संै घण्टा पानी वितरण गर्न सकिने उनले बताए । कार्यक्रममा नगरपालिकाका मेयर, उपमेयरसहित १० जना नवनिर्वाचित वडा अध्यक्षहरुलाई सम्मान तथा वधाइ दिइएको थियो ।
कार्यक्रममा उपप्रमुख रजनी जोशी, वडा अध्यक्षहरुकोतर्फबाट रवीन्द्र ज्याख्व, समाजका उपाध्यक्ष रामगोपाल कर्माचार्य, कोषाध्यक्ष विश्वराम कवांलगायतले शिक्षाको विकासका लागि सहकार्य गर्न तत्परता देखाए ।

Comments