भक्तपुरमा जेठको दोस्रो हप्ताबाट मेलम्चीको पानी वितरण हुने
जेठ ६, २०७९, शुक्रबार | दिउँसो ०३:४६ बजे | 35
भक्तपुर । भक्तपुर नगरपालिकामा जेठको दोस्रो हप्ताबाट मेलम्चीको पानी वितरण सुरु हुने भएको छ । सूर्यविनायकको कटुञ्जेस्थित खानेपानी ट्यांकीमार्फत जेठको दोस्रो साताबाट भक्तपुर नगरपालिकामा खानेपानी वितरण सुरु हुन लागेको हो ।
भक्तपुर नगरपालिकाका नवनिर्वाचित प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी, वडाध्यक्षहरु रबिन्द्र ज्याख्व, हरिप्रसाद बासुकला, भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी र खानेपानी कार्यालय भक्तपुरका प्रमुख सुरेन्द्र हिमालय श्रेष्ठले शुक्रबार संयुक्त रुपमा कटुञ्जेस्थित खानेपानी ट्यांकीमा स्थलगत निरीक्षण गर्नुभएको थियो ।
सोही अवसरमा प्रमुख प्रजापतिले मेलम्चीको पानी छिटोभन्दा छिटो भक्तपुरमा वितरण गर्न सके खानेपानीको समस्या समाधान हुने बताउनुभयो । प्रमुख प्रजापतिले केयुकेएलका प्रमुख मिलन शाक्य र काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जिव विक्रम राणासँग कुराकानी गर्नुहुँदै भक्तपुरमा खानेपानी समस्या समाधानको लागि मेलम्चीको पानी वितरणमा ढिलाइ गर्न नहुनेमा जोड दिनुभयो ।
सोही क्रममा केयुकेएलका शाक्य र सीईओ राणाले २०७९ वैशाख १९ गतेबाटै कटुञ्जेको खानेपानी ट्यांकीमा मेलम्चीको पानी खसालिसकेको र अब छिटै भक्तपुरमा उक्त पानी वितरण हुने बचनबद्धता व्यक्त गर्नुभयो ।
निरीक्षणकै क्रममा खानेपानी कार्यालय भक्तपुरका प्रमुख सुरेन्द्र हिमालय श्रेष्ठले कटुञ्जेमा हाल ६० लाख लिटर र १०।१० लाख लिटर गरी ८० लाख लिटर बराबर क्षमता भएको खानेपानी ट्यांकी निर्माण भइरहेको अवगत गराउनुहुँदै खानेपानी पाइप बिछ्याउने कार्य सकिएलगत्तै भक्तपुरमा पनि मेलम्चीको पानी वितरण सुरु गर्ने बताउनुभयो ।
कटुञ्जे खानेपानी ट्यांकीमा खसालिएको मेलम्चीको पानीको गुणस्तर परीक्षणलगत्तै मेलम्चीको पानी २४ संै घण्टा पानी वितरण गर्न सकिने उहाँले बताउनुभयो ।