सूर्यविनायक नगरपालिकको मेयरमा बासुदेव थापा दोहरिए
जेठ ५, २०७९, बिहीबार | विहान ०५:१५ बजे | 35
भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिकाको प्रमुखमा नेकपा एमाले उम्मेदवार वासुदेव थापा विजयी भएका छन् । गठबन्धनकातर्फबाट नेपाली काँग्रेसका उमेदवार निशान ढुंगेललाई १५२६ मतले पराजित गर्दै थापा निर्वाचित भएका हुन् । थापाले १४ हजार ७ सय ५८ मत ल्याए भने ढुंगेलले १३ हजार २ सय ३२ मत पाए ।
निर्वाचित मेयर थापा सो नगरपालिकाका निवर्तमान मेयरसमेत हुन् । भक्तपुरका ४ नगरपालिकामध्ये मेयर दोहोरिएर निर्वाचित हुन सफल भएका २ मेयरमध्ये थापा समेत एक बनेका छन् । भक्तपुर नगरपालिकामा नेपाल मजदूर किसान पार्टीका सुनिल प्रजापति समेत मेयरमा दोहारिइसकेका छन् ।
बाँकी रहेका नगरपालिकामध्ये चाँगुनारायणमा निवर्तमान मेयरले उम्मेदवारी नै दिएनन् भने मध्यपुर थिमिमा टिकट पाएर पनि पराजीत भए । यसअघि भक्तपुरका ४ नगरपालिकामध्ये एमालेले ३ वटाको मेयर जित्न सफल थियो । यसपटक सूर्यविनायक थापा मात्रै निर्वाचित हुन सफल भएका हुन् ।
त्यसैगरी उपप्रमुखमा एमालेकै सरिता भट्टराई विजयी भएकी छिन् । उनले भट्टराई १३ हजार ४ सय ९० मत पाएर विजयी भएकी हुन् । उनले गठबन्धनकातर्फबाट उमेदवार बनेका नेकपा एसका श्यामसुन्दर बस्नेतलाई ७ हजार ८ सय २९ मत अन्तरले पराजित गरेकी हुन । बस्नेतले ६ हजार ६ सय ६१ मत मात्र पाएका छन् ।
सूर्यविनायक नगरका १० मध्ये पाँच वडामा एमाले र पाँच वडा अध्यक्ष नेपाली काँग्रेसले जितेको छ । काँग्रेसले २, ३, ४, ६ र ९ नं मा जित हात पार्न सफल हुँदा एमालेले वडा नम्बर १, ५, ७, ८ र १० मा जित निकालेको छ ।