भक्तपुरमा नेमकिपाको क्लिन स्विप दोहरिने निश्चित
जेठ १, २०७९, आइतबार | विहान ०२:०६ बजे | 25
भक्तपुर । पछिल्लो स्थानीय निकायको निर्वाचनमा क्विल स्विप (मेयर,उपमेयर, वडा अध्यक्षहरु, सदस्यहरु सवैजना जितेको) गरेको नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले यो पटक पनि भक्तपुर नगरपालिकामा यही सफलता दोहयाउने निश्चित जस्तै देखिएको छ । नेमकिपालाई सबैभन्दा खतरा देखिएको भक्तपुर नगरपालिका १ र भक्तपुर नगरपालिका ३ मै फराकिलो अन्तरले प्यानलसहित विजयी भएपछि यो दावी गर्न सकिने अवस्था आएको हो ।
भक्तपुरमा १० वटा वडाहरु रहेका छन् । यीमध्ये वडा नं १ र ३ नेमकिपाका लागि सवैभन्दा खतरामा थियो । त्यहाँं नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा एकीकृत माओवादी, नेकपा एकीकृत समाजवादीलगायतका सम्पूर्ण दलहरु एक भई नेमकिपालाई हराउन भनी संयुक्त गठबन्धन भएको थियो । तर परिणाम अनुसार नेमकिपा सवै राष्टिय पार्टीहरुको संयुक्त गठबन्धनलाई फराकिलो मत अन्तरले पराजित गरी यी दुवै वडामा प्यानलसहित विजयी हासिल गरिसकेको छ । यो हिसावले बाँंकी सवै वडामा नेमकिपाले सहजै अत्याधिक बहुमतले जित्ने निश्चित जस्तै छ ।
आइतबार विहानसम्म भक्तपुर नगरपालिका वडा नं १,२ र ३ को मत परिणाम आइरहेको छ । नेमकिपाको मेयर र उपमेयरले पाएको मत पनि निकै फराकिलो अन्तर छ । यस हिसावले आकलन गर्दा यस पटक पनि क्लिन स्विप नै हुने निश्चित गरिएको हो ।
भक्तपुर नगरपालिकामा ७५ दशमलब ७१ प्रतिशत मत खसेको थियो । यहाँं ५७ हजार दुई सय ७० मतदाता रहेकोमा ४३ हजार तीन सय ५९ मत खसेको थियो ।
यसअघिको निर्वाचनमा कुल ५२ हजार नौ सय ३० मतदातामध्ये नेमकिपाबाट उम्मेदवार बनेका सुनिल प्रजापतिले २५ हजार सात सय ३० मत र उपमेयरमा रजनी जोशीले २५ हजार सात सय ११ मत ल्याएर विजयी भएका थिए । यो पटक पनि नेमकिपाबाट दुवै दोहरिएका छन् ।
उक्त निर्वाचनमा काँग्रेसका मेयर रामप्रसाद कासुलाले ६ हजार पाँंच सय ६० र उपमेयर गंगालक्ष्मी अवालले ६ हजार पाँंच सय ६० मत ल्याएर दोस्रो भएका थिए । यस्तै एमालेबाट मेयरमा उम्मेदवार भएका विष्णुप्रसाद सुवालले ४ हजार दुई सय १८ मत र उपमेयर कृष्णमाया त्वायनाबासुले ४ हजार ६ सय ३१ मत ल्याएर तेस्रो भएका थिए । माओवादी केन्द्रबाट मेयरका उम्मेदवार सत्यलाल मुल २ हजार तीन सय १३ मत र उपमेयरका उम्मेदवार इन्द्रमाया सुवाल २ हजार एक सय ७० ल्याएका थिए ।