भक्तपुर जिल्लाभर तीन बजेसम्म करिब ६५ प्रतिशत मत खस्यो
बैशाख ३०, २०७९, शुक्रबार | विहान ११:१२ बजे | 45
भक्तपुरमा स्थानीय तह निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र सौहार्दपूर्ण वातावरणमा मतदान भइरहेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ।
दिउँसो ३ बजेसम्म भक्तपुर जिल्लाभर करिब ६५ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बाँस्तोलाले जानकारी दिनुभयो। बेलुका ५ बजेसम्म मतदान समय निर्धारण गरिएको छ।
जिल्लामा कूल एक लाख ८९ हजार ५८४ मतदाता छन्। जसमध्ये भक्तपुर नगरपालिकामा ५७ हजार २७०, चाँगुनारायण नगरमा ४३ हजार १०४, सूर्यविनायक नगरमा ४७ हजार ३६७ र मध्यपुर थिमी नगरमा ४१ हजार ८४३ जना छन्।
यस्तै, ललितपुर महानगरपालिकामा दिउँसो २ः१५ बजे सम्ममा ५० प्रतिशतभन्दा बढी मत खसेको छ। कतिपय वडामा ५५ देखि ६० प्रतिशतसम्म मत खसेको मुख्य निर्वाचन अधिकृत किरणप्रसाद सिवाकोटीले जानकारी दिए।
उनका अनुसार निर्धारित समयसम्ममा ६५ देखि ७० प्रतिशत मत खस्ने अनुमान गरिएको छ। मतदानस्थलमा बिहान भीडभाड देखिएपनि दिउँसो कम भएको सिवाकोटीले जानकारी दिए। अपराह्नपछि पुनः मतदान केन्द्रमा मतदाता बढ्ने अनुमान गरिएको छ।